पर्यटन प्रवर्द्धन गर्न भोजपुरमा चिया खेती विस्तार
![पर्यटन प्रवर्द्धन गर्न भोजपुरमा चिया खेती विस्तार](https://annapurnapost.prixacdn.net/media/albums/chiya-kheti_GlAIe3VIpM_DHmP4bdtAJ.jpg)
भोजपुर : पर्यटन प्रवर्द्धन र स्थानीय आयस्तरमा सुधार गर्ने उद्देश्यले आमचोक गाउँपालिकाले पर्यटकीय क्षेत्रमा चिया खेतीको विस्तार थालेको छ।
पर्यटकीय प्रचुर सम्भावना बोकेका १४ रोपनीबराबरको क्षेत्रलाई हरियाली बनाउँदै आयस्तरमा जोड्न गाउँपालिकाले चिया खेती विस्तार थालेको हो।
खाली खुला खर्क क्षेत्रहरूको जमिन सदुपयोग गर्दै पर्यटकीय प्रबद्र्धन गर्न गाउँपालिकाले २०७४÷७५ बाटै योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ। हालसम्म चिया खेती विस्तारको लागि गाउँपालिकाले ४ करोड ५० लाखबराबरको लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। चियाखेतीका लागि उपयुक्त हावापानी रहेको गाउँपालिका क्षेत्रभित्रका वडा नं १, २, ३ र ६ मा खेती विस्तार गरिएको अध्यक्ष राईले सुनाए। उक्त क्षेत्रहरूमा प्रशस्त खाली जमिनसँगै पर्यटनको राम्रो सम्भावना रहेकाले गाउँपालिकाले दीर्घकालीन योजनाका साथ चियाखेती विस्तारमा जोड दिएको उनले बताए।
‘गाउँपालिकाले ६ वर्षअघिदेखि नै सम्भावित खाली क्षेत्रहरूमा योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ’, अध्यक्ष राईले भने, ‘यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौं। हालसम्म करिब १ हजार ४ सय रोपनी खालीखर्क क्षेत्रमा चियाखेती विस्तार भइसकेको अवस्था छ।’ गाउँपालिकाको उच्च भेगहरूमा धेरै खाली चौर, खर्क क्षेत्रहरू रहेकाले यहाँ चियाखेतीका लागि राम्रो सम्भावना रहेको उनको ठम्याइँ छ। गाउँपालिकासँगै स्थानीयलाई पनि आफ्ना निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए।
‘चियाखेतीको दृष्टिकोणले हाम्रो गाउँपालिकाका उच्च भेगहरू उत्तम छ, यहाँको हावापानी र भौगोलिक बनावट चियाखेतीका लागि प्रशस्त सम्भावना रहेका छन्’, बालंखाका स्थानीय कृषक राजिनकुमार राईले भने, ‘चियालाई पर्यटन र आयस्रोतको रूपमा स्थापित गराउन गाउँपालिकाले चियाखेती विस्तारमा जोड दिएको छ। यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा हामी स्थानीयवासीलाई उत्प्रेरित गराउन प्रोत्साहनका कार्यक्रमहरू पनि गाउँपालिकाले सञ्चालन गरेको छ।’
स्थानीयको जनसहभागितामा सामूहिक रूपमै व्यवस्थित र प्रणालीगत रूपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको छ। गाउँपालिकाले स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई सेयरको व्यवस्थासमेत गरेको छ। वर्गीकरणमध्ये ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले ९ हजार र स्वयं व्यक्तिले एक हजार गरी १० हजार बराबरको सेयर वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। गाउँपालिकाको तथ्यांकअनुसार प्रभावित क्षेत्रका अति विपन्न एक हजार एक सय ६३ परिवारलाई सेयर वितरण गरिएको छ। आमचोक गाउँपालिकाले ऐन निर्माण गरेरै चिया विकास संस्था सञ्चालन गर्ने उनले बताए। सो संस्थाले गाउँपालिकाको मातहातमा रहेर आगामी दिनहरूमा चिया र कफीको क्षेत्रको बृहत्तर रूपमा थप काम गर्ने उनको भनाइ छ।
उत्पादित चियाको प्रशोधन गर्न वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताए। गाउँपालिकाको ४५ लाख र कोशी प्रदेश सरकारको १ करोड लागतमा निर्माणाधीन प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ। ‘गाउँपालिका क्षेत्रको चिया खेतीको सम्भावनालाई मूर्तरूप दिन बृहत् रूपमा चिया खेती विस्तारको काम भइरहेको छ’, प्रशासकीय अधिकृत राईले भने, ‘उत्पादित चियाको प्रशोधनको लागि कारखाना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। पछिल्लो समयमा गाउँपालिकाले आफ्नै चिया नर्सरी स्थापना गरेर खेती विस्तार गरिरहेको छ। यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ।’
दीर्घकालीन सोचका साथ चियाखेती विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ। चिया नर्सरीमा आउँदो सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको प्रशासकीय अधिकृत राईले जानकारी दिए। चियासँगै कफी खेती विस्तारको लागि समेत काम भइरहेको उनले बताए। कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)