मध्यपूर्वको द्वन्द्व, बेलैमा नेपाल सतर्क हुनुपर्ने

मध्यपूर्वको द्वन्द्व, बेलैमा नेपाल सतर्क हुनुपर्ने

दुबइ  : मध्यपूर्वमा हाल भीषण लडाइँ भइरहेको छ। इजरायलले प्यालेस्टिनी समूह हमासविरुद्ध एक वर्षअघि सुरु गरेको आक्रमण अझै जारी छ। हमासबाट सुरु भएको युद्ध लेबनानको हिजबुल्लाह हुँदै इरान र अन्य छिमेकी देशमा पनि सरेको छ। इजरायलले एकतर्फी जस्तो हमला गरिरहेको छ र दैनिक कैयौंको ज्यान गइरहेको छ।

२०२३ अक्टोबर ७ मा हमासले उत्तरी इजरायलमा गरेको आक्रमणमा १२ सयले ज्यान गुमाएका थिए। त्यसका साथै हमासले २ सय ५१ जनालाई बन्धन बनाएर लगेको थियो। त्यसको प्रतिक्रियामा इजरायलले गाजामा सुरु गरेको हवाई आक्रमण केही सातायता लेबनानसम्म फैलिएको छ।

यसरी सुरुवात भयो द्वन्द्व 

मध्यपूर्व द्वन्द्वको पछिल्लो ‘इपिसोड’ मानिएको प्यालिस्टाइनी भूमि गाजाबाट बिद्रोही समूह हमासले २०२३ अक्टोबर ७ मा उत्तरी इजरायलमा आक्रमण गर्‍यो। त्यसपछि इजरायलले गरेको जवाफी हमला अब गाजामा मात्र सीमित रहेन। र, अब यसलाई जवाफी प्रतिकार मात्र भन्न सकिन्न। गत अक्टोबर १ को राति इरानले इजरायलमा आक्रमण गरेपछि अब यो दुई देशीय युद्ध मात्र रहेन। क्षेत्रीय युद्धमा परिणत भएको छ। इजरायलले पनि अक्टोबर २६ मा इरानमाथि जवाफी आक्रमण गर्‍यो। इजरायलले प्रतिशोधात्मक हमलाको उद्देश्य इरानको ब्यालिस्टिक क्षेप्यास्त्रको उत्पादनमा बाधा पुर्‍याउने उद्देश्य थियो, जुन नीति तेहरानले आफ्नो आक्रमणमा प्रयोग गरेको थियो ।

इजरायलले लेबनान र गाजामा आक्रमण जारी राखेको छ भने इरानमाथि गरेको एकदिने जवाफी आक्रमणपछि आपसमा घमासान युद्धको साइत कुरेर बसेका छन्।

१३ महिना लामो युद्धका क्रममा गाजामा मात्रै ४३ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमध्ये १९ हजारभन्दा बढी बालबालिका छन्। मारिनेमध्ये ११ हजार महिला छन्। तीमध्ये कतिपय स्वास्थ्यकर्मी र पत्रकार छन्। युद्धका कारण एकैदिनमा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। अहिलेसम्म १७५ जनाभन्दा बढी पत्रकार गाजामा मारिएका छन्। मारिएका ४३ हजारमध्ये ८० प्रतिशत घरमाथि बम बिस्फोट भएर मारिए। कतिजना अझै पनि भवनको भग्नावशेषमा पुरिएका छन्, एकिन छैन। अर्थात् गाजामा नरसंहार भइरहेको छ र संसार मुकदर्शक भएर बसेको छ। युद्धका तस्बिर र भिडियोहरू यति हृदयबिदारक छन् कि दोस्रो विश्वयुद्धताका हिटलरले गरेको मानवसंहारलाई पनि बिर्साउने खालका छन्। आक्रमणमा करिब १ लाखभन्दा बढी घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २३ लाख प्यालेस्टिनी युद्धका कारण विस्थापित भएका छन्।

पछिल्लो समय इजरायली सेना आईडीएफले हमाससँगै लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको छ। लेबनानका लडाकु समूह हिजबुल्लाहमाथि स्थलगत आक्रमण गर्न इजरायली सेना लेबनान प्रवेश गरेसँगै पश्चिम एसियामा तनाव झन उत्कर्षमा पुगेको हो। इजरायली सेना लेबनान प्रवेश गरेलगत्तै इरानले इजरायलमा १ सय ८० वटा क्षेप्यास्त्र प्रहार गर्यो। इजरायलले इरानमाथि चेतावनी स्वरूप जवाफी कारबाही गरेको छ।

पछिल्लो स्थिति हेर्दा इरानले रूसको साथ खोजेको छ। त्यसैले अब हुने युद्ध इरान र इजरायलबीच मात्र सीमित रहने देखिन्न, अमेरिका र रूसबीचको शीतयुद्धलाई तेस्रो विश्वयुद्धमा परिणत गर्ने बलियो कारण बनेको छ। इरानमाथि इजरायलले गर्ने व्यवहारले यसलाई निर्धारण गर्ने छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास र हिजबुल्लाह जस्ता समूहलाई हतियार र गोलाबारुद आपूर्ति गर्न मुस्लिम राष्ट्रहरूको समर्थन चाहन्छन्। मध्यपूर्वका साउदी अरेबिया, कतार र यूएईलगायत धेरै मुस्लिम देशहरूले पहिलेदेखि नै हमासबाट आफूलाई टाढा राखेका छन्। कतारले कुनै पनि समूहलाई आतंकवादी संगठनको लेबल लगाएर सहयोग गर्न नसक्ने घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूसँगको छलफलपछि कतारले हमासलाई सैन्य सहयोग गर्नुको सट्टा कूटनीतिक माध्यमबाट बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने लक्ष्य राखेको स्पष्ट पारेको छ।

अरू देश चाहन्छन् युद्ध अन्त्य

इरानका विदेशमन्त्री अब्बास अराक्चीले युद्धका बारेमा छलफल गर्न तथा गाजा र लेबनानमा इजरायलको आक्रमण रोक्ने काम गर्न साउदी अरेबिया र यस क्षेत्रका अन्य देशहरूको भ्रमण गरे। अराक्चीले भ्रमणको क्रममा इरानले इजरायल वा अमेरिकासँग युद्ध भएमा यस क्षेत्रका जल, स्थल र आकाशको प्रयोग गर्न नदिन अनुरोध मात्र गरेनन्, आफूले प्रतिरोध गर्नुपरेमा भइपरी आउने कुनै पनि क्षतिको जिम्मेवार नबन्ने भनेर घुमाउरो कूटनीतिक धम्की दिए। अन्ततः मध्यपूर्वका इस्लामिक देशहरूले अमेरिकालाई युद्धमा आफ्नो भूमि र आकाश प्रयोग नगर्न दबाब दिन बाध्य भए। मध्यपूर्वका अन्य देशहरू विकास र प्रगतिको अनुपम लयमा बाधा पुर्‍याउने युद्ध कुनै पनि हालतमा रोकियोस भन्ने चाहन्छन्। यसले पनि युद्धको सम्भावनालाई केही हदसम्म पर सारेको अनुमान गरिन्छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायोगका प्रमुख भोल्कर टर्कले इजरायलको आलोचना गर्दै एक विज्ञप्तिमा भनेका छन्, ‘यस अभूतपूर्व स्तरको हत्या र सर्वसाधारणको चोटपटक अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तहरूको पालना गर्न असफल भएको प्रत्यक्ष परिणाम हो।’ उनले युद्धरत पक्षहरूलाई लडाकु र नागरिकहरू बीचको भिन्नता छुट्ट्याउन भनेका छन्। सर्वसाधारणमाथि हुने आक्रमणलाई बन्द गर्न र सावधानीहरू अपनाउन कानुनका बुँदा–बुँदा उल्लेख गरेरै भनेका छन्। टर्कले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघनको आरोपको सन्दर्भमा उचित हिसाबकिताबको लागि समेत आह्वान गरेका छन्। यद्यपि इजरायलले पछिल्ला दिनहरूमा संयुक्त राष्ट्र संघकै आदेशलाई उल्लंघन गरिरहेको छ। राष्ट्रसंघले प्यालेस्टिनी सशस्त्र समूहहरूले घनाबस्ती जनसंख्या भएको क्षेत्रबाट युद्ध छेडेको र अन्धाधुन्ध रूपमा प्रक्षेपण गरेको कारण मृत्युको संख्या अत्यधिक बढेको बताएको छ। इजरायली सेना आईडीएफले नागरिकका आवास र अन्य पूर्वाधार ध्वस्त पारेकोले धेरैलाई घाइते बनाएको, विस्थापित गरेको, भोकमरीमा पारेको र स्वास्थ्य सेवाबाट बञ्चित गरेको बताएको छ।

–    इजरायल हमास युद्धका क्रममा गाजामा मात्रै ४३ हजार ३ सयभन्दा बढीको मृत्यु,
–    १९ हजारभन्दा बढी बालबालिका, ११ हजार महिला मारिए
–    १७५ जनाभन्दा बढी पत्रकार गाजामा मारिए
–    इजरायली सेना आईडीएफद्वारा हमाससँगै लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण 
–    इजरायली सेना लेबनान प्रवेश गरेलगत्तै इरानद्वारा इजरायलमा १ सय ८० वटा क्षेप्यास्त्र प्रहार 
–    इरानले खोजिरहेको छ, रूसको साथ 
–    साउदी अरेबिया, कतार र यूएईलगायत धेरै मुस्लिम देश पहिलेदेखि नै हमासबाट आफूलाई टाढा राखेको 
–    कतारद्वारा कुनै पनि समूहलाई सहयोग गर्न नसक्ने घोषणा 
–    इजरायल वा अमेरिकासँग युद्ध भएमा यस क्षेत्रका जल, स्थल र आकाशको प्रयोग गर्न नदिन इरानको अनुरोध 
–    २० औं शताब्दीको मध्यदेखि मध्यपूर्व अस्थिरताको केन्द्रविन्दु।

मध्यपूर्व युद्धको कारण

मध्यपूर्व विभिन्न राष्ट्रहरू मिलेर बनेको जातीय र सांस्कृतिक रूपमा विविध क्षेत्र हो। अरबी सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो र इस्लाम मध्यपूर्वमा सबैभन्दा व्यापक रूपमा अभ्यास गरिएको धर्म हो।

मध्यपूर्व तीन धर्महरूको जन्मस्थान थियो। यहुदी, ईसाइ र इस्लाम। यस क्षेत्रमा प्रचलित सबैभन्दा ठूलो धर्म इस्लाम हो। इस्लामका दुई प्रमुख धारहरू छन्, सुन्नी र सिया। यस क्षेत्रमा ८५ प्रतिशत जनसंख्या सहित सुन्नीहरूको ठूलो बहुमत छ। इरानमा सिया जनसंख्या छ। शिया इस्लाम सिरिया, लेबनान, यमन र इराकमा प्रभावशाली तर अल्पसंख्यक। धर्मको प्रारम्भिक विकासदेखि नै यी देश र छिमेकीहरूबीच अन्तर–इस्लामिक प्रतिद्वन्द्वी र द्वन्द्व विद्यमान छन्। यहाँ जातीय र ऐतिहासिक जनजाति भिन्नताहरू छन् जसले गर्दा सांस्कृतिक तनावले युद्धको स्थितिलाई बढाउँछ। कतिपय देशहरूमा सरिया कानुनको प्रयोग हुने गरेको छ।

मध्यपूर्व शब्द दोस्रो विश्वयुद्धपछि सामान्य प्रयोगमा आयो। यो पहिले पश्चिम एसिया र उत्तर अफ्रिकाका अरब राज्यहरू भनेर चिनिन्थ्यो। जसमा अरबलीगका सदस्यहरू र इरान, इजरायल, इजिप्टका गैर–अरब राज्यहरू र टर्की थिए। अरब लिगले सदस्य राष्ट्रहरूको बारेमा निर्णय गर्छ। धेरैजसो आधुनिक मध्यपूर्व पहिले ओटोमन साम्राज्यको हिस्सा थियो। फलस्वरूप अरब राष्ट्रवादको प्रतिक्रियामा यी राष्ट्रहरू आफैंले युद्ध निम्त्याएका थिए। आदिवासी र धार्मिक पहिचानहरूले यस क्षेत्रमा द्वन्द्व सिर्जना गर्न मलजल गर्छन। 

पश्चिमाहरूले मध्यपूर्वको युद्ध इस्लामिक विचारधाराको परिणामको रूपमा मध्यपूर्वलाई ‘आतंककारीहरूको क्षेत्रको’ रूपमा पनि व्याख्या गर्छन्। तर, यो सत्य होइन। यस क्षेत्रमा सक्रिय चरमपन्थीहरूको साना समूहहरू भए तापनि यसले जनसंख्याको एक सानो समूहलाई मात्र प्रतिनिधित्व गर्छ। त्यहाँ राजनीतिक इस्लामको बढ्दो संख्या भएको छ। तर, यो केवल परम्परागत सोच र धेरैले यसलाई इन्कार गरेका छन्। यो प्रायः व्यक्तिगत र राजनीतिक दुवै तहमा अपमानको (इगो) स्तरसँग सम्बन्धित छ। किनभने त्यहाँको शासनहरूमा प्रत्यक्ष विदेशी हस्तक्षेप देखिन्छ।

सशस्त्र समूहको बिगबिगी 

२० औं शताब्दीको मध्यदेखि मध्यपूर्व अस्थिरताको केन्द्रविन्दु भयो। त्यस यता इजरायलले युद्धमा संलग्न भएको हमास र हिजबुल्लाह जस्ता सशस्त्र समूहहरूको सामना गरिरहेको छ।

इजरायलले १९४८ र १९७३ को बीचमा इजिप्ट, सिरिया र जोर्डन लगायत अरब छिमेकीहरूसँग चारवटा ठूला युद्धहरू लडेको छ। तर, १९६० मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको स्थापना भएदेखि यसले शसस्त्र समूहहरूबाट बढ्दो चुनौतीहरूको सामना गरिरहेको छ। लेबनानमा हिजबुल्लाह, प्यालेस्टाइन क्षेत्रहरूमा हमास र हुथीहरू पनि समावेश छन्। ती समूहहरू १९८० को दशकमा प्रमुख सैन्य शक्ति बने। त्यसपछि १९९० र २००० को दशकमा प्रभावशाली राजनीतिक दलहरूमा विकसित भए। अहिले २१ औं शताब्दीमा तिनीहरू इजरायलको लागि सबैभन्दा खतरा भएका छन्।

इजरायल प्यालिस्टाइन भूमिलाई पूर्णत आफ्नो नियन्त्रणमा लिन चाहन्छ भने युद्ध लडिरहेका समूहहरू अरब भूमिबाट इजरायल बिलिन भएको हेर्न चाहन्छन। जुन प्रायःअब असम्भब जस्तै हो।

सन् १९८२ मा इजरायलले लेबनानमा आक्रमण गरेर गाजा र वेस्ट बैंकको कब्जामा लिएको इलाकामा प्यालेस्टिनी र इजरायलबीचको तनाव झन् गहिरिँदै गयो। गाजामा इजरायली सैन्य ट्रकले चार प्यालेस्टाइनीको हत्या गरेपछि पहिलो युद्ध १९८७ मा सुरु भयो र १९९३ सम्म चल्यो। यही झगडाले हमासलाई जन्म दियो र एक इस्लामवादी आन्दोलन जसले प्यालेस्टाइन आन्दोलनको लक्ष्यहरू परिवर्तन गर्‍यो। यसले आफ्नो उद्देश्य स्पस्ट पारेको छ कि प्यालेस्टिनी प्रश्नको उत्तर जिहाद (धार्मिक युद्ध) बाहेक कुनै समाधान छैन। अन्य पहलहरू, प्रस्तावहरू र अन्तर्राष्ट्रिय सम्मेलनहरू सबै समयको बर्बादी र व्यर्थ प्रयासहरू हुन्। तर, इजरायल र पीएलओ बीचको १९९३ शान्ति सम्झौताको साथ पहिलो युद्द रोकियो। युद्ध त रोकियो तर यसले यस क्षेत्रलाई दीर्घकालीन समाधान दिएन। बरु यसले मध्यपूर्व मात्र नभएर संसारलाई ध्रुवीकृत गर्‍यो।

मध्यपूर्वमा कहाँ कति नेपाली श्रमिक 
इजरायल : १५ हजार
लेबनान : १ हजार ५ सय
यूएई : ६ लाख
साउदी : ४ लाख
कतार : ४ लाख
कुवेत : १ लाख
ओमन : १ लाख
बहराइन : २५ हजार
(भिजिट भिसा र लुकिछिपी आउनेको संख्या अझै धेरै रहेको अनुमान)
 

तेल उत्पादन र विश्व अर्थतन्त्र 

बिगतका मध्यपूर्वी द्वन्द्वहरू मुख्यतयः आन्तरिक गृहयुद्धहरू नै हुन्। मध्यपूर्वी द्वन्द्वको अवस्था हेर्दा जातीय प्रभुत्व र शासनको प्रकार महत्वपूर्ण भएको बुझ्न सकिन्छ। अमेरिका र पश्चिमा अन्य राष्ट्रहरूसँग यस क्षेत्रको अत्यावश्यक ऊर्जा स्रोतको आपूर्तिसँगै जटिल भूराजनीतिक सम्बन्ध छ। यसले विश्व राजनीतिमा मुख्य खेलाडीहरूलाई क्षेत्रभरि तनाव र द्वन्द्वहरूमा हस्तक्षेप गर्न आकर्षित गर्दछ। मध्यपूर्वको तेल पूर्वाधारमा भएको क्षतिले विश्वको तेल उत्पादन र विस्तारमा विश्वव्यापी अर्थतन्त्रमा ठूलो विश्वव्यापी प्रभाव पार्नेछ। त्यतिबेलाको स्थानीय द्वन्द्वलाई कम गर्ने प्रयासमा अमेरिका र बेलायतले सन् २००३ मा इराकमा आक्रमण गरे। देशहरूले आर्थिक र सैन्य क्षमताहरूमा उतार–चढाव र मन्दीको अनुभव गर्छन् जसले द्वन्द्वमा उनीहरूको स्थितिलाई फाइदा वा कमजोर बनाउँछ। १९८० मा इरानमा बगदादको आक्रमणले इराकी शक्ति बढायो। तर, इरानी र साउदी शक्तिलाई घटायो। जसले १९९० मा इराकले कुवेतमाथि आक्रमण गर्‍यो।

सन् २०११ मा उर्लिएको अरब क्रान्तिको उभारलाई पश्चिमाहरूले ‘आफ्नो र बिरानो’ छुट्ट्याउने क्रान्तिका रूपमा उपयोग गरेको देखिन्छ। इजरायलले अरब क्षेत्रमा प्रभाव कायम राख्न अमेरिकालाई सहयोग गर्छ। यसैलाई विवादको प्रमुख कारकाका रूपमा हेरिन्छ। जसको मारमा प्यालिस्टाइनी जनता परेका छन्। कालखण्डमा उनीहरूले आफ्नो भूमि गुमाए। परिवार गुमाए। देश र संस्कृति गुमाए। पहिचान गुमाउँदै छन्।

ताजा पानीमा पहुँचको लडाइँ

ग्लोबल वार्मिङको खतरा बढ्दै गएपछि धेरैले ताजा पानीमा पहुँच र पहुँचको अभावमा मध्यपूर्वमा अर्को द्वन्द्व उत्पन्न हुने विश्वास गर्छन्। मध्यपूर्वमा ताजा पानी प्रायः नदीहरूबाट आउँछ। २०२१ को गर्मीमा तापक्रम ५० डिग्रीभन्दा माथि पुग्दा यस क्षेत्रका धेरै नदीले आफ्नो वार्षिक प्रवाहको आधा मात्रा गुमाए। क्षतिको एक कारण बेसिनहरूमा बाँधहरू निर्माण गर्नु हो। जसले वाष्पीकरण दर बढाउँछ। बाँधहरूको निर्माणले पानीमा पहुँच घटाउने मात्र होइन, यसले भू–राजनीतिक तनाव बढाउने क्षमता पनि राख्छ। किनभने तिनीहरूलाई एक देशले अर्को देशबाट पानीको पहुँचमा अवरोध गर्ने र तिनीहरूको सही आपूर्ति प्रयोग गर्ने सक्रिय तरिकाको रूपमा हेर्न सकिन्छ। एक भारी विवादित क्षेत्र टाइग्रिस र युफ्रेटिस नदीहरू हुन्। विश्वका कमैले बुझेका अर्को उदाहरण इजरायल–प्यालेस्टाइन द्वन्द्व हो, जहाँ गाजाको जोर्डन नदीको नियन्त्रणलाई मुख्य रूपमा हेरिएको छ।

ट्रम्पको उदय र युद्धमा पर्ने प्रभाव

मध्यपूर्वमा मानबसंहार युद्ध चलिरहेको बेला अमेरिकामा ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। ट्रम्पको उदयपछि मध्यपूर्वको युद्ध कुन दिशामा जान्छ भनेर चासोको साथ हेरिएको छ। चुनावी भाषणहरूमा ट्रम्पले आफूले मध्यपूर्वमा शान्ति ल्याउने वाचा गरेका थिए। विभिन्न मञ्चहरूमा ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने तथा गाजामा इजरायल–हमास युद्ध र लेबनानमा इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। उनले बारम्बार भनेका छन्, ‘यदि म वर्तमान राष्ट्रपति जो बाइडेनको सट्टा सत्तामा भएको भए हमास समूहलाई आर्थिक सहयोग गर्ने इरानले इजरायलमा आक्रमण गर्ने थिएन। यसलाई समाप्त गरौं र शान्तिमा फर्कौं। मानिसहरूको हत्या रोकौं।’ ट्रम्पले अप्रिलमा रूढीवादी रेडियो होस्ट ह्यू हेविटसँगको अन्तर्वार्तामा गाजाको द्वन्द्वको बारेमा भनेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई इजरायलको सबैभन्दा राम्रो मित्र भनेका छन्। ह्वाइट हाउसमा ट्रम्पले इजरायलको राजधानीको रूपमा जेरुसेलमलाई नामाकरण गर्दै अमेरिकी दूतावासलाई तेल अवीवबाट त्यहाँ सार्ने निर्णय गरेका थिए। साथै, इजरायल समर्थक नीतिहरू लागू गरेर ट्रम्पले इजराइलको मन जितेका थिए।

ट्रम्पले चुनावी अभियानका क्रममा गाजा युद्ध अन्त्य होस् भन्ने आफूले चाहेको बताएका थिए। उनको हमाससँग सम्पर्क भएका प्रमुख अरब देशका नेताहरूसँग राम्रो सम्बन्ध रहेको इतिहास पनि छ। तर, यो स्पष्ट छैन कि, इजरायली नेतृत्वको लागि बलियो समर्थन देखाउने गरेका ट्रम्पले कसरी आफूलाई सक्षम साबित गर्नेछन् र युद्धलाई अन्त्य गर्न कोसिस गर्ने छन् ? हेर्न बाँकी छ। ट्रम्पका सहयोगीहरूले संकटको बीचमा कसरी मध्यपूर्वको कूटनीतिक सन्तुलन कायम गर्छन् र कस्तो भूमिका खेल्छन् भन्ने स्पष्ट पारेका छैनन्। 

मध्यपूर्वमा नेपाली

मध्यपूर्वमा २० लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन्। प्रत्यक्ष युद्धमा होमिएको इजरायलमा १५ हजार र लेबनानमा १५ सय नेपाली कार्यरत रहेको अनुमान छ। प्यालिस्टाइनी क्षेत्रमा नेपालीहरू छैनन्। यही क्षेत्रमा युद्धले बिकराल रूप लिइहाले पनि उनीहरूको उद्धार गर्न नेपाल सरकारलाई हम्मे–हम्मे नै पर्ने छ। द्वन्द्वग्रस्त क्षेत्रबाट केही सय नेपालीहरूलाई उद्धार गर्न छिमेकी देश भारतको मुख ताक्नु परेको अवस्थामा यूद्दको स्वरुप फेरिएर पूरै मध्यपूर्वमा अशान्ति मच्चिएको अवस्थामा २० लाख नेपालीको उद्धार प्रायः असम्भव छ। सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। 

त्यस क्षेत्रका नेपालीहरूका प्रतिनिधि र सरोकारवालाहरूसँग छलफल र संवाद पनि गरेको छैन। गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष तथा एनआरएन अभियन्ता डिबी क्षेत्रीले आफू र आफ्नो संस्थाले नेपाल सरकारलाई यसबारे सजग गराएको दाबी गरे। क्षेत्रीले अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको र तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.