एकचोटी आइजाया घुम्‍न हाम्रा कर्णाली

समृद्ध कर्णाली, पर्यटनमा ओझेल कर्णाली

समृद्ध कर्णाली, पर्यटनमा ओझेल कर्णाली

वीरेन्द्रनगर : रारा, स्वर्गकी अप्सरा। राराको सुन्दरताले जो कोही लट्ठ हुन्छन्। चारैतिर हरियाली जंगलले घेरिएको रारातालको सुन्दरताको शब्दमा वर्णन गर्नै कठिन हुन्छ। प्रकृतिले यति सुन्दर ताल कर्णालीलाई दिएको छ। तर, पर्यटकीय रूपमा यसको जति विकास हुनुपर्ने हो, भएकै छैन।

न रारा पुग्न गतिलो सडक छ, न त खान बस्न सुविधा नै। असुविधाका कारण एकपटक पुग्ने जो कोही सितिमिति दोहोर्‍याएर रारा जान मनै गर्दैनन्। यस्तै, दुरवस्था छ, शे–फोक्सुण्डो तालको। शे–फोक्सुण्डो त सडक सञ्जालसंग जोडिएको पनि छैन। खान र बस्नको असुविधा उस्तै। अनि, कसरी आउन त यहाँ पर्यटक ? त्यसैकारण, कर्णालीले माल पाएर पनि चाल नपाएको अवस्था छ। 

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटन दूत तथा सामाजिक अभियन्ता भरतबन्धु थापाले भन्छन्, ‘कर्णाली पर्यटकीय गन्तव्य बन्न नसक्नुमा पहुँचकै कमी भयो। कर्णाली लक्षित नीति निर्माण गर्ने राजनीतिक पहुँच भएन। कर्णालीमा पुग्न सुविधायुक्त यातायात र हवाई सेवाकै अभाव छ।’ बाह्य पर्यटकका लागि काठमाडौंबाट कर्णाली जान राज्यले अत्यधिक दस्तुर लिने गरेको थापाको गुनासो छ। ‘कर्णाली पुग्नुभन्दा हिमाल पुग्नु सहज छ,’ थापा भन्छन्, ‘कर्णाली जान सडक यात्रा निकै कष्टकर छ। हवाई टिकट पाउनै मुस्किल पर्छ।’ 

पर्यटकलाई खान बस्न र रमाउन सुविधा नभएपछि पर्यटकीय हिसाबले कर्णालीको भर्जिन ल्यान्ड घुम्नबाट पर्यटकहरू वञ्चित रहेको उनको भनाइ छ। ‘यति मात्र होइन, कर्णालीबारे प्रचार पनि कमी भयो, प्रवर्द्धन पनि कम भयो। स्थानीय सरकारले पनि खासै चासो दिएका छैनन्। जसले जे गर्नुपर्ने हो त्यो भएन’, उनले भने। 

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत निरज श्रेष्ठले कर्णालीमा रहेको बहुआयामिक गरिबीले प्रत्यक्ष र परोक्ष रूपमा पर्यटन विकासलाई नकारात्मक असर परेको बताउँछन्। ‘पर्यटकीय संशाधनहरूको कमजोर अभिलेखीकरण छ’, उनले भने, ‘प्रदेशका पर्यटकीय उत्पादनहरूको महत्त्वको बारेमा सरोकारवाला, समुदाय र उद्यमीहरू माझ सचेतनाको कमी छ।

null

यस्तै पर्यटन विकासका लागि एकीकृत र समन्वयात्मक प्रयासहरूको अभाव, क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थलहरूको अभाव, विदेशी पर्यटकहरूका लागि फरक र महँगो हवाई भाडादर, उडानको अनिश्चितता, प्रदेशभित्र आन्तरिक र अन्तर प्रादेशीय उडानहरू नहुनु, कमजोर र सीमित सडकको सञ्जाल, भएका सडकहरूको दुरवस्था, भरपर्दो र आरामदायी सार्वजनिक यातायातको अभाव छ।’ 

यस्तै कम गुणस्तरका पर्यटन सेवा र सुविधा, आतिथ्यता क्षेत्रमा दक्ष जनशक्तिको अभाव, कम गुणस्तरका स्वास्थ्य र सुरक्षासम्बन्धी सेवासुविधा, सही सूचना र सूचना सम्प्रेषणको अभाव, स्थानीय सरकारको लापरबाही, गन्तव्यस्थलका समुदायहरू, पर्यटकहरूको आगमन र आवतजावतलाई निरुत्साही गर्ने पदयात्रा अनुमतिका लागि लामो प्रक्रिया र उच्च पदयात्रा शुल्कले पनि कर्णालीको पर्यटनले गति लिन नसकेको उनले बताए। 

उनका अनुसार अव्यवस्थित पर्यटन पूर्वाधारहरूको निर्माण, प्रदेशको पर्यटनको बजार व्यवस्थापन र प्रवर्द्धनका लागि सरकारी र निजी क्षेत्रबीच समन्वयको अभाव, पर्यटकहरूको बारेमा तथ्यांक, विवरण र पृष्ठपोषणको अभाव, पर्यटनबाट सिर्जित रोजगारी, सेवा प्रदायकको विवरणको अभाव, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिको अभावलगायतले पनि कर्णालीको पर्यटन क्षेत्र ओझेलमा परेको हो। 

मोबाइल फोन र इन्टरनेट सुविधाको सीमित पहँुच, पर्यटकीय उत्पादनहरू तथा सेवाहरूको उचित बजार व्यवस्थापन, प्याकेजिङ र प्रवर्द्धनको अभाव, चीन र भारतका सीमावर्ती सहरबाट पर्यटकहरू ल्याउन र अन्तरदेशीय पर्यटन प्रवर्द्धनमा पर्याप्त समन्वय र सहकार्यको अभावले पनि कर्णालीमा पर्यटन भिœयाउन गाह्रो परेको उनको भनाइ छ। 

पर्यटक नै आउँदैनन् कर्णालीमा 

कर्णालीका पर्यटकीय क्षेत्रमा अपेक्षाकृत पर्यटक आउन सकेका छैनन्। रारा र शे–फोक्सुण्डो तालबाहेक अन्य कैयौं पर्यटकीय स्थलमा कति पर्यटक घुम्न आए भन्ने विषयमा तथ्यांक नै छैन। कर्णालीमा कति पर्यटक आउँछन् भन्ने विषयमा कुनै पनि निकायले तथ्यांक राख्ने गरेका छैनन्। पर्यटन व्यवसायी मनराज सिम्खडाले भने, ‘विदेशी पर्यटकलाई काठमाडौंबाट कर्णाली आउने प्लेन टिकटले मनाङ मुस्ताङ घुमेर फर्किन सक्छन् ? विदेशी पर्यटकलाई कर्णाली आउन हवाई टिकट नै महँगो बनाइयो। यसले कर्णालीमा विदेशी पर्यटक ल्याउन निकै समस्या भइरहेको छ।’ 

सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्य जारी गर्दा कर्णालीका २१ वटा पर्यटकीय क्षेत्र समावेश भएका थिए। मुलुककै पर्यटकीय गन्तव्यमा समावेश भएका पर्यटकीय स्थलमा समेत पूर्वाधार विकास हुन सकेका छैनन। जसका कारण यहाँसम्म सहजै पर्यटक पुग्न सक्दैनन्। यस्तै कर्णालीमा पर्यटक प्रहरीको पनि व्यवस्था राज्यले गर्न सकेको छैन। यसका कारण पर्यटकले सुरक्षा महसुस गर्दैनन्। जसले गर्दा कर्णालीमा पर्यटकको आकर्षण बढ्न सकेको छैन। 

कर्णालीलाई दुर्गमको संज्ञा दिइन्छ। कर्णालीबाट काठमाडौंं पनि दुर्गम हो। तर राज्यले नै कर्णालीलाई सधैं दुर्गम बनाउने गरेको छ। कतिपयले कर्णालीमा मान्छे बस्छन् र ? भनेर पनि प्रश्न गरेको पाइन्छ। यी प्रश्नको उत्तर पाउन हरेकले एक पटक कर्णाली घुम्न आउनै पर्छ। कर्णालीका सामाजिक अभियन्ता नवीन शाही भन्छन्, ‘काठमाडौंमा कर्णाली सुनेका आधारमा होइन, कर्णाली घुमेर धारणा बनाउनुपर्छ। कर्णाली सबै खाले पर्यटकीय गन्तव्य हो। पर्यटकीय मनोरञ्जन लिन र कर्णाली बुझ्न कर्णाली आउनै पर्छ। कर्णालीको वास्तविक धरातलीय यथार्थलाई गहिराइबाट नियाल्न र त्यसलाई वस्तुनिष्ठ ढंगले व्याख्या गर्न कर्णाली घुम्नैपर्छ।’

कर्णाली नयाँ खोज तथा अनुसन्धान गर्नेहरूका लागि प्रचुर सम्भाव्य स्रोत रहेको बताउँदै उनले भने, ‘सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य पनि हो कर्णाली।’

कर्णालीमा राज्यको न्यून लगानी

कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरूले संसारलाई आकर्षित गर्न सक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किरा बनेको छ। राज्यको लगानी नपुग्दा तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैं भएको छ। 

कर्णालीको मुख्यद्वारका रूपमा रहेको कर्णाली राजमार्गको २०६३ चैत ३० गते नेपाली सेनाले ट्र्याक खोल्यो। जीर्ण राजमार्गमा यातायात सञ्चालन गरियो। तर अहिलेसम्म पनि उक्त राजमार्ग दुई लेनको बनेको छैन। हरेक वर्ष सरकारले ल्याउने बजेटमा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भनिन्छ तर सामान्य मर्मतबाहेक अन्य काम हुँदैन।

कर्णाली प्रदेशसभा सदस्य दक्षिणा शाहीले भनिन्, ‘कर्णालीमा पर्यटकीय पूर्वाधारमा राज्यको लगानी निकै कम भयो। त्यसैले कर्णाली अथाहा पर्यटकीय सम्भावना बोकेर पनि अहिले लथालिंग अवस्थामा छ।’ 

null

छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको अवस्था नाजुक छ। रारा जाने सडक पनि कालोपत्रे भएको छैन। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘भारतको रुपैडियादेखि चीनको नाका हिल्सासम्म सुविधायुक्त कालोपत्रे सडक बनाउनु जरुरी छ। अर्को, कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट कर्णालीका १० वटै जिल्लामा आन्तरिक हवाई उडान नियमित गर्नुपर्छ। यसमा राज्यको ध्यान पुग्न सकिरहेको अवस्था छैन। यसले कर्णाली अझै समस्याबाट गुज्रिरहेको छ।’ 

कर्णालीको पर्यटन विकासका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन्। निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले भने, ‘कर्णालीमा निर्माण सम्पन्न गरेका योजनाहरूमा पनि व्यवसायीले समयमै भुक्तानी पाउँदैनन्। यहाँको पर्यटन विकासका लागि पहिलो आधार नै पूर्वाधार निर्माण हो। त्यसका लागि राज्यको ध्यान पुगेको छैन। कर्णालीलाई विकट मात्र भनेर नारा लगाएर हुँदैन। यहाँको विकटतालाई सहजता बनाउन राज्यले पर्याप्त लगानी गर्नुपर्छ। कर्णालीमा राज्यले लगानी गर्दा त्यसको सयौं गुणालाभ पनि लिन सकिने अवस्था छ। यस विषयमा राज्यका सबै निकायहरू जिम्मेवार भएर काम गर्नु आवश्यक छ। 

के छन् त कर्णालीमा ?

कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रदेशका १० जिल्लामा अवस्थित पर्यटकीय क्षेत्र प्रस्थान गर्ने प्रवेशद्वार हो। सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक अध्ययन तथा अनुसन्धानका हिसाबले सिञ्जा उपत्यका र प्रकृतिको अनुपम उपहारका दृष्टिले रारा नेपालकै उत्तम गन्तव्य हुन्। शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर उत्तिकै घुम्नलायक ठाउँ हुन्।

कर्णालीको भाषा, साहित्य, संस्कृति, कला, पुरातत्त्व, धर्म र इतिहासका बारेमा शोधपत्र तयार गर्ने अनुसन्धानकर्ताका लागि सिञ्जा, दैलेख कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, सुर्खेत काँक्रेविहार, जुम्लाको कनकासुन्दरी, चन्दननाथ मन्दिर र तातोपानी गाउँपालिकाको ‘लक्षाल कृति पैकेलो’ (साहसिक योद्धा) महत्त्वबारे जान्न पर्यटक ती स्थलमा जानै पर्छ।

मानसरोवर, डोल्पा, रारा, जुम्लालगायत कर्णालीका पर्यटकीय केन्द्रको ‘गेट वे’ हो सुर्खेत। यहाँको काँक्रेविहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ। सुर्खेतमा गढी, देउती बज्यै, बुलबुले ताल र घण्टाघरलगायतका पर्यटकीय स्थल छन्। भेरी नदीमा भर्खरै सुरु भएको र्‍याफ्टिङ र प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन सके त्यसले पर्यटकीय चहलपहल बढाउनेछ।

दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो। अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ। त्यस्तै श्रीस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्चतीर्थस्थल पनि दैलेखमै छन्। श्रीस्थान र नाभीस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको अर्को जीवन्त परिचय हो। विश्व सम्पदामा सूचीकृत हुन ‘क’ वर्गमा परेको भूर्तिका बाइस देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्बा यहाँका पर्यटकीय स्थल हुन्। तर, प्रचारप्रसारको अभावमा चर्चा नै छैन। मारुनी, गर्रा, दमाह, हुड्के, पैसरीजस्ता मौलिक नाचहरूले यहाँको संस्कृतिलाई पनि जीवन्त राखेको छ।

रारा मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। ताल पुग्न जति गाह्रो छ, पुगेपछि पाइने स्वर्गीय आनन्दको कल्पनामात्रै पनि मीठो हुन्छ। ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ। हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ। समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिनछिनमा पानीको रङ परिवर्तन हुनु हो। यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ।

गरिबको उपमा पाएको हुम्लासँग सम्भावनाका स्रोत धेरै छन्। तर, यिनको पहिचान हुन सकेको छैन। हिन्दुहरूको तीर्थस्थलका रूपमा प्रख्याति कमाएको मानसरोवर जाने प्रमुख स्थान हो हुम्ला। समुद्री सतहबाट २ हजार ९ सय मिटरमा उचाइमा छ यसको सदरमुकाम सिमिकोट। यो जिल्ला कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडीबुटी, ताल तथा मनोरम दृश्यहरूको थलो पनि हो। तर पनि यो निश्चित पर्यटकको लागि मात्रै गन्तव्यस्थल बनिरहेको छ। हवाई सेवा नियमित र भाडा दर कम भए यहाँको पर्यटकीय सम्भावना बढ्ने देखिन्छ। वरिपरि हिमाल, बीचको समथर भूभागमा गुजुमुज्ज घरहरू।

बस्तीको मध्यस्थानमा चन्दनाथ मन्दिर। नजिकै बगिरहेको तिला नदी, यो हो जुम्लाको मनोरम दृश्य। संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला पनि हो जुम्ला। यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो। सदरमुकाम भएकाले पनि जुम्ला कर्णाली अञ्चलका पाँच जिल्लामध्ये सुगममा पर्छ। जुम्ला रारा ताल जाने प्रमुख स्थल पनि हो। जुम्लाका काञ्जिरोवा, पातारासी, वाक्कीजस्ता हिमाल, पञ्चदेवल, तातोपानी, पाण्डु गुफा, विराज दरबार, चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर हेर्नलायक छन्। 

सफा, शान्त र निर्मल पानी। छिनछिनमा पानीको रंग परिवर्तन भइरहने। कहिले गाढा नीलो, कहिले मलिन हरियो। देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डोको बयान जति गरे पनि कमै हुन्छ। तालको अलि पर सानो रिग्मो गाउँ, जहाँ पर्यटकका लागि बनाएका केही होटल पनि छन्। नजिकै सेनाको सानो टुकुडीबाहेक बस्ती छैन। एरिक भ्यालीको चलचित्र ‘क्याराभान’ र अमृत गुरुङको गीत ‘सा–कर्णाली’ले डोल्पाको परिचय बाहिर ल्याएपछि त्यहाँ आन्तरिक र बाह्य पर्यटक बढेका छन्। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि पनि प्रसिद्ध छ।

यस्तै जाजरकोट प्राकृतिक स्रोतसाधनले धनी जिल्ला हो। तर, प्रचारप्रसारको अभावमा अहिले पनि यसले पुरानै सशस्त्र द्वन्द्वले थिलथिलो भएको र विपन्न जिल्लाको परिचय सँगालिरहेको छ। प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो जाजरकोट। अमूल्य जडीबुटी, निरन्तर बगिरहेको भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ। खुँडा, दमाहा, मयूरजस्ता मौलिक नाचको विरासत मासिने हो कि भन्ने चिन्ता पनि उस्तै छ। भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यावसायिक रूप लिन अझै लामो समय लाग्नेछ।

यस्तै कर्णाली राजमार्गको मुख्य नाका रहेको कालीकोट जैविक विविधता, जडीबुटी तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो। नेपालकै अग्लो दाबी गरिएको ३ सय ८१ मिटर उचाइबाट झरेको झरना पचालझरना, बढीमालिकाको गेट त्रिवेणी पाटन, चुली र पुगमालिका, महावु धामलगायत यहाँका देवल तथा मष्टका थानहरूले धार्मिक पर्यटनका हिसाबले पनि निकै महत्त्वपूर्ण जिल्ला हो। 

रुकुमको सदरमुकाम चौरजहारी पनि धार्मिक तथा जडीबुटीका हिसाबले निकै प्रख्यात छ। यहाँको स्यार्पुताल पर्यटकीय हिसाबले निकै चर्चित छ। त्यस्तै साईकुमारी भगवती र कालिका मन्दिर, वराह मन्दिर रुकुमका चर्चित धार्मिक स्थलहरू हुन्। रुकुम मगर बाहुल्यको जिल्ला हो। त्यसैले मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ। रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानीय पर्यटकीय स्थल हुन्। 

अहिले प्रदेश सरकारले कर्णालीका मुख्य पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। 
सुरेश अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, कर्णाली प्रदे

भारतको रुपैडियादेखि चीनको नाका हिल्सासम्म सुविधायुक्त कालोपत्रे सडक बनाउनु जरुरी छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट कर्णालीका १० वटै जिल्लामा आन्तरिक हवाई उडान नियमित गर्नुपर्छ । 
लक्ष्मण कँडेल, सूचना अधिकारी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी

यस्तै पहाडी जिल्लामध्ये एक हो सल्यान। परम्परागत कृषि पेसामा आधारित सल्यान नेपालकै उत्कृष्ट खुकुरी निर्माणमा प्रख्यात ठाउँ छ। जातीय हिसाबले पनि यहाँ विविधता रहेको पाइन्छ।

विशेषगरी बाहुन, क्षेत्री, मगर, कामी, दमाई तथा नेवार समुदायको बाहुल्य यस क्षेत्रमा छ। कुपुण्डे दह यहाँको धार्मिकस्थलको रूपले प्रसिद्ध छ। यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन्। यसका अतिरिक्त अन्य पर्यटकीय एवं धार्मिकस्थलहरू पनि यहाँ छन्। अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रापालन व्यवसायका साथै अन्य कृषिजन्य व्यवसाय नै यस जिल्लामा प्रमुख व्यवसाय हो। 

पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको पहल

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले पहल थालेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशको समग्र पर्यटन क्षेत्रका सम्भावनाहरूलाई उजागर गर्न आफू योजनाबद्ध रूपमा लागिरहेको बताए।

उनले भने, ‘कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलबाट कर्णालीका अन्य जिल्लामा हुने आन्तरिक उडान नियमित बनाउन लागिरहेका छौं। यस विषयमा हवाई सेवा सञ्चालकहरूको सुझावअनुसार प्रदेश सरकारले ३० लाख बजेट जम्मा गर्नुपर्ने माग भएको छ। त्यो रकम जम्मा गर्ने तयारी छ। अहिले कर्णालीको आन्तरिक उडान लुम्बिनी प्रदेशको नेपालगन्जबाट भइरहेको छ। 

कर्णालीमा पर्यटन पूर्वाधारको काम निकै कम भएको छ। विगतका सरकारहरूले पर्यटन पूर्वाधार निर्माणका सन्दर्भमा खासै चासो देखाएनन्। अहिले प्रदेश सरकारले कर्णालीका मुख्य पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। संघीय सरकार र संघीय पर्यटनमन्त्रीसँग पनि मैले कर्णालीको पर्यटन पूर्वाधार निर्माणका लागि विशेष बजेटको व्यवस्थापन गरिदिन पटकपटक आग्रह गरेको छु। उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ।’ 

प्रदेश सरकारले कर्णालीमा विदेशी पर्यटक ल्याउने व्यक्ति तथा कम्पनीहरूलाई अनुदानको व्यवस्था गर्न तयारी गरिरहेको पनि उनले बताए। ‘यसमा मैले प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीज्यूसँग छलफल गरेको छु। उहाँहरू सकारात्मक हुनुहुन्छ। तत्कालै बजेटको व्यवस्थापन गरेर कर्णालीमा विदेशी पर्यटक भ्रमण गर्न ल्याउने व्यक्ति तथा संस्थालाई प्रदेश सरकारले अनुदान दिने व्यवस्था गर्न लागेका छौं’, उनले भने, ‘काठमाडौंबाट कर्णाली भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूलाई चर्को हवाई भाडाका साथै अन्य झन्झटिलो प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि मैले छलफल गरिरहेको छु। यसमा आवश्यक सुधार गरेर सहज रूपमा कर्णाली भ्रमण गर्ने व्यवस्था मिलाउने छौं।’ 

कर्णालीको भूमि नै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रहेकाले यहाँ अथाहा पर्यटनको सम्भावना भएको उनको तर्क छ। यस विषयमा विज्ञहरूको टोली नै बनाएर थप अध्ययन अनुसन्धान गरी आवश्यक सुधारको लागि प्रदेश सरकार र विषयगत मन्त्रालयको ध्यान केन्द्रित भएको उनले बताए। कर्णालीका सुन्दर पर्यटकीय गन्तव्यहरू निहाल्न पैदल, सडक र हवाई सेवाहरूलाई सहज र सुविधायुक्त बनाउन प्रदेश सरकारको चिन्ता र चासोको विषय बनेको मन्त्री अधिकारीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.