गृहमन्त्री लेखक कोरलानाका जाने

गृहमन्त्री लेखक कोरलानाका जाने
सुन्नुहोस्

जोमसोम : गृहमन्त्री रमेश लेखक बुधबार मुस्ताङ आउने भएका छन्। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाका स्थित नवनिर्मित  अध्यागमन (इमिग्रेसन) भवन तथा लोमान्थाङ—१ छोसेरस्थित नवनिर्मित सशस्त्र बोर्डर आउटपोस्ट (बीओपी) भवन उद्घाटन गर्न गृह मन्त्री लेखकसहित उच्च सुरक्षा अधिकारीको टोली मुस्ताङ आउने तयारी भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

 कोरलानाकामा प्रदेश सरकारले गत वर्ष ५० लाख रुपैयाँ लागतमा  ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो। यस्तै संघीय सरकारअन्तर्गत कोरलानाका यता लोमान्थाङ—१ छोसेर नेचुङमा सशस्त्र प्रहरीको  २ तले ५५ कोठा क्षमताको भवन निर्माण भएको थियो। विगत २ वर्षअघि नै सम्पन्न भएको भवन विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन।

भारतीय नाकाबन्दीपछि लोमान्थाङ—१ नेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी, नेपाल प्रहरीलाई १३ रोपनी, अध्यागमन कार्यालयलाई १२ रोपनी र भन्सारलाई १ सय ९ रोपनी जग्गा उपलब्ध गराइएको थियो। यस्तै, सोही बेला नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा २ सय ७१ रोपनी जग्गा उपलब्ध भएको थियो। नेपाली सेनाले थुर्लुङ फाँटमा पूर्वाधार निर्माण गरी सैनिक क्याम्प बसिसकेको छ। सशस्त्र प्रहरीलाई प्राप्त ३३ रोपनी जग्गामा बीओपी भवन सम्पन्न गरी उद्घाटन गर्ने तयारी गरिएको हो।

 त्यसो त नाकाको १० गजा  क्षेत्रको दायाँबायाँ भन्सार, एकीकृत सुरक्षापोस्ट, अध्यागन, सुक्खा बन्दरगाह, क्वारेन्टाइन आदि बनाउन १ हजार रोपनी जग्गा नेपाल सरकारको नाममा लालपुर्जा बनिसकेको छ। नाकामा पूर्वाधार निर्माण गर्न १ करोड रुपैयाँ डीपीआरका लागि विनियोजन भई काम अघि बढिसकेको छ।  

लोमान्थाङ छोसेरस्थित नेचुङमा भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सीमा सुरक्षा तथा सीमा क्षेत्रमा हुनसक्ने अवान्छित गतिविधिलाई नियमन गर्न तथा स्थानीय नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई व्यवस्थापन गर्ने गरी  २०७७ साल जेठमा सशस्त्र प्रहरी बार्डर आउट पोस्ट स्थापन गरिएको थियो। छोसेर स्थित नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का लागि एक जना प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको दरबन्दी सिर्जना गरिएको छ। अहिले त्यहाँको बीओपीमा ३४ सुरक्षाकर्मी छन्।

नाकामा अध्यागमन कार्यालय भवन उद्घाटन तथा स्थापनाको तयारी गरिएको प्रजिअ विष्णुप्रसाद भुसालले जानकारी दिए। नाकामा अध्यागमन (इमिग्रेसन) कार्यालय स्थापना भएपछि कोरलानाकाबाट आयात तथा निर्यात हुने खाद्यान्न, पेय पदार्थ र तथा पशुपन्छी जन्य सामग्री आयातका लागि क्वारेन्टाइन स्थापना गर्न मार्ग खुल्ने बताइएको छ।

कोरलानाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङको २ गाउँपालिकाका लागि खुला गरिएको थियो। नाकामा गत वर्षको ८ महिनामा ८ लाख भन्सार राजश्व संकलन भएको थियो। चालु वर्षको असोज मसान्तसम्म १ लाख १० हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन भएको भन्सार कार्यालयका  प्रमुख नारायण पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.