कल्पना लेभल वान प्रशिक्षक
काठमाडौं : नेपालको पूर्वखेलाडी एवं प्रशिक्षक कल्पना कार्कीले ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । पछिल्लो समय अमेरिकालाई कर्मथलो बनाउँदै आएकी दुई सन्तानकी आमा कल्पनाले वल्र्ड तेक्वान्दोले यही अक्टोबर १ देखि ७ तारिखसम्म सञ्चालन गरेको ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।
अमेरिकी तेक्वान्दो संघको ‘ए’ लेभलको प्रशिक्षक रहेकी उनले पहिलो पटक वल्र्ड तेक्वान्दोको लेभल वान कोचेज’ कोर्स गरेकी हुन् । कल्पनाले सन् २०११ मा मास्टर्स कोर्स र २०२२ मा एक्जामिनर कोर्स भने गरिसकेकी छन् ।
तेक्वान्दोको छैटौं डान कल्पनाले नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी छन् । सन् १९९७ देखि २००८ सम्म करिब ११ वर्ष राष्ट्रिय टोलीमा रहेकी उनले नेपालमा आयोजना भएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । सन् २००९ मा अमेरिकामा आयोजना भएको यूएस ओपनमा प्रतिस्पर्धा गर्ने क्रममा खुट्टामा चोट बोकेपछि कल्पनाले सक्रिय खेल जीवन टुङ्ग्याउँदै प्रशिक्षकको भूमिका सुरु गरेकी हुन् ।
पछिल्लो समय उनले अमेरिकाको बाल्टीमोरमा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी सञ्चालन गर्दै आएकी छन् । सन् २०१५ देखि बाल्टिमोरमा सञ्चालित एकेडेमीमा तीन सयभन्दा बढी खेलाडीले नियमित प्रशिक्षण गर्दै आएका छन् । एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोले अमेरिकाकै पेन्सिलभेनियाको ल्यानकास्टरमा पनि अर्को शाखा विस्तार गरेको छ ।
एकेडेमी सञ्चालनका लागि पति कुमार र छोरी कृसाले पनि उनलाई सहयोग गर्दै आएका छन् । उनका छोरा कृशभ भने एकेडेमीमै प्रशिक्षण गर्छन् । कल्पनाको परिवारसँगै नेपालका करिब आधा दर्जनभन्दा बढीले प्रशिक्षकले पनि एकेडेमीमा नियमित प्रशिक्षण गराउँदै आएका छन् ।