दसैं धान्ने न्युरोड

दसैं धान्ने न्युरोड

गल्ली पिच्छे ठूलाठूला महलहरू खुलिसके तर दसैं भन्नेबित्तिकै न्युरोड नगई कसैको पनि चित्ता बुझ्दैन।

काठमाडौं : बाटोमा भिडले खचाखच छ। यसो हेर्नेलाई लाग्छ ओहो न्युरोडमा कत्रो व्यापार भएको हो ! न्युरोडका व्यापारीलाई त दसैंमा मारामार छ। यथार्थमा दसैं धान्ने पहिलाको न्युरोडको तुलनामा अहिलेको न्युरोडको व्यापार स्थानीय व्यापारीकै अनुमानमा करिब ३० प्रतिशतसम्म घटेको छ।

यस्तो किन भयो त ? न्युरोडका पुराना भाँडा पसल व्यवसायी रत्न रञ्जिकार भन्छन्, ‘यसपटक तीजपछि नै बजारमा भिडभाड देखिँदै थियो। दसैंमा राम्रै व्यापार हुन्छ कि भन्ने थियो एक्कासि यो बाढी आइदिएर दसैंको मुखमा व्यवसाय नै चौपट बनाइदियो। ’

उता ग्राहकहरू भने एक पटक न्युरोड घुम्नकै लागि भए पनि पुग्छन्। गल्ली पिच्छे ठूलाठूला महलहरू खुलिसके तर दसैं भन्नेबित्तिकै न्युरोड नआई चित्तै बुझ्दैन। किनमेल नै नगरे पनि न्युरोडको चहलपहलले एक पटक त सधैं आइन्छ। धनगढी घर भएकी सिर्जना भट्ट हरेक दसैंमा भक्तपुर दधिकोटबाट किनमेल गर्न न्युरोडनै पुग्ने गर्छिन्।

दसैंमा न्युरोड नआई त चाडबाड आएको जस्तो लाग्दैन। सपिङ गर्न न्युरोड नआइ चित्तै बुझ्दैन भक्तपुरकी सीमा गुरुङलाई। दसैंतिहार केही सपिङ गर्नु परेमा उनी न्युरोड नै आइपुग्ने बताउँछिन् उनी। ‘भक्तपुरमा पनि थुप्रै सपिङ मलहरू छन्। तर म सधैं यही आउँछु। ’ ‘यहाँको चहलपहल नै रमाइलो लाग्छ। ’ उनी अगाडि भन्छिन्।  

उनीमात्र होइन धेरैलाई त्यहाँको माहोलले दसैं आएझैँ बताउँछ। त्यसकारण पनि उनीहरू खाद्यवस्तु किन्न होस् वा लत्ता कपडा असन नै आइपुग्छन्।
अब विस्तारै राजधानीका अधिकांश सपिङ मल तथा बजारहरूमा किनमेल गर्नेहरूको भीड बढ्ने क्रममा छ। अझ असन, इन्द्रचोक, महाबौद्ध, न्युरोडमा आवतजावत गर्ने ठाउँहरू खचाखच भरिँदैछन्।  

असनमा करिब ५५ वर्ष अगाडिदेखि खाद्यान्न पसल चलाउँदै आएका रेणु श्रेष्ठ भने अब न्युरोडमा व्यापार गर्ने आयु सकिएको बताउँछिन्, उनी भन्छिन्, ‘न्युरोड, असनमा अब सुन पसल मात्र गर्दा हुने भयो। अरु व्यवसाय यहाँ अब हुँदैन। यहाँ मान्छेको भिड मात्र हो कारोबार केही छैन। मान्छे भिड रमाइलो हेर्न सामानको भाउ बुझ्न मात्र आउँछन्। किन्न आउने एकदमै कम हुन्छन्। अहिले धेरै मान्छे फुटपाथमा बरु धेरै किन्छन्। ठूलाठूला पसलहरू त एकदमै मारमा छन्। जुनसुकै व्यवसाय होस्।’

उनले देख्दाको न्युरोडमा सीमित मान्छे किनमेलका लागि आउँथे। तर किन्नकै लागि आउने गर्थे। अहिले त हेर्न आउनेको मात्र लर्को लाग्छ। ‘देशभरिको यही असन, इन्द्रचोक न्युरोड भन्ने हुन्थ्यो पहिलापहिला अहिले कोरोनापछि त व्यापार खत्तम भयो। झन् यो हिजोआज आएको बाढीले अहिलेको दसैंमा व्यापारीहरूको व्यावसाय चौपट नै बनायो। ’

साँघुरा बाटा, मान्छेहरू आवतजावत गर्न निकै मुस्किल छ। ठूलाठूला भारी बोकेर हिँड्ने बटुवाहरूको संख्या उत्तिकै छ। तर किनमेल गर्न हिँडेका ग्राहकका किनमेलका झोलाभन्दा पनि महँगीको नैराश्यता बढी देखिन्थ्यो।  व्यापार गर्नेहरूका लागि दसैं सबैभन्दा ठूलो सिजन पनि हो। त्यसकारण पनि उनीहरू भ्याइँनभ्र्याइ देखिन्थे। ‘किन्नेहरूभन्दा हेर्नेहरू धेरै आउँछन्’ न्युरोडका कपडा व्यवसायी सुन्दर शाहले भने ‘हेर्नेहरू आउँदा पनि खुसी लाग्छ। अरूबेला त अब न्युरोड नै आइपुग्ने चहलपहल नै हराइसक्यो। ’

न्युरोडमा उनको ठूलो कपडा होलसेल छ। साथै इन्द्रचोकमा बुटिक पनि छ। उनी भन्छिन्, ‘स्वाभाविक रूपले अरूबेला भन्दा व्यापार केही हदसम्म राम्रै हुन्छ। तर कोभिडभन्दा अगाडिको अवस्था एकदमै फरक थियो। ग्राहकहरू किन्नकै लागि आउने गर्थे। अहिले किन्ने भन्दा पनि हेर्न आउनेको भिड छ। ’ 

दसैं मनाउन लागि काठमाडौंबाट बाहिर जानेहरूले आफ्ना परिवारका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि बजारमा भिड बढ्ने गर्छ। तर अहिले पछिल्लो समय भने अनलाइन व्यवसायले गर्दा जिल्ला जिल्लामा सामान जस्तो अर्डर गर्दा पनि पुग्ने भएकाले पनि पहिला जस्तो न्युरोडको चार्म छैन।  

न्युरोड विशालबजारमा २० वर्षदेखि चुरा पसल चलाएर बसेकी स्मृति घतानी ४, ५ वर्ष यतादेखिको व्यापार देखेर सटर बन्न गर्ने पनि सोचिन्। तर दसैंको बेला एक महिना जति हुने चहलपहलले गर्दा उनलाई यही व्यवसायमा टिकाइराखेको छ। उनी भन्छिन्, ‘यो एक, दुई महिनाका लागि मेहनत गर्नुपर्छ। मेरो अनलाइन व्यावसाय पनि छ। अहिले ग्राहक पसलमा आउने भनेको त पसलको रमझम हेर्नलाई मात्र हो। खासमा सामान अनलाइनमा बढी बिक्री भइराखेको छ। ’ 

त्यसो त न्युरोडमा सडकका पसलमात्र होइनन्। भित्री गल्लीका पसलहरूमा पनि भिड बढिराखेको छ। व्यापारिक मल तथा पसलले दसैंलाई लक्षित गरेर विभिन्न अफर योजनासमेत ल्याएका छन्। पसलेहरूले बाहिरपट्टि ठूलो बोर्डमा २० देखि ५० प्रतिशतसम्म छुट भन्दै टाँसेका छन्।

सर्वसाधारणको ध्यान खिच्नका लागि र अन्य समयमा भन्दा दसैंमा बढी व्यापार गर्ने उद्देश्यले छुट दिएको व्यापारीहरू बताउँछन्। त्यस्तै काठमाडौंका अन्य स्थानहरू भृकुटीमण्डप, चाबहिल, बौद्ध, गौशाला, माछापोखरी, नयाँ बसपार्कलगायत राजधानीका अन्य स्थानहरू पनि यति भिडभाडमय बनेका छन्। सडक मल तथा सपिङ मलहरूमा मानिसको भिड बढेको छ।

न्युरोडका मलका भन्दा फुटपाथ व्यापारी खुसी 
दसैंको चहलपहल सुरु भएसँगै फुटपाथ व्यापारीहरू पनि रमाएका छन्। सोह्र श्राद्ध सुरु भएसँगै फुटपाथमा दसैंका लागि व्यापार गर्न लागिरहेकी सुन्दरीजलकी करिश्मा लिम्बूलाई भने यतिबेला भ्याइँनभ्याइ छ।

‘बिहान जुरुक्क उठेर सामान निकाल्न आउँछु। बिहान ८ बजेदेखि राति ९ बजेसम्म सामान बेच्नै हामी लागि पर्छम्। अहिले मेरो छोरा र श्रीमान् पनि यसैमा खटेका छौं। ’ उनी अगाडि भन्छिन्, ‘माग पुर्‍याउनै सकिँदैन। सस्तोमा सामान दिने गर्छौं नाफा धेरै खाँदैनौं। ठूलो परिवार हुने सानो कमाइ हुनेलाई हामी जस्तैकोमा आउनुहुन्छ। ’ 

त्यसो त दसैंमा राम्रो लगाउने र मीठो खाने चाहना सबैको हुन्छ। ज्याला मजदुरी गरेर कमाउनेहरू पनि दसैंका लागि पैसा जोहो गरेर राख्छन्। ‘दसैंमा आफूलाई केही सामान नकिने पनि छोराछोरीलाई नयाँ लुगा किन्दिने सोचले न्युरोड आएको।’आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थी रचना कोइराला भन्छिन्, ‘साहुसँग ऋण मागेर भए पनि बालबच्चालाई राम्रो लुगा किनिदिन्छु। ’ छोराछोरीलाई खुसी बनाउन सकेमा त्यसमै खुसी मिल्छ। ’

दसैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको लर्को लाग्नुपर्ने हो। तर अवस्था फरक छ। पहिलेपहिले तीज सकिएलगत्तै बजारमा दसैंको चहलपहल सुरु हुन्थ्यो। यसपटक भने बजार सुनसान छ। यसपालि अर्को मुख्य समस्या भनेको बाढी छिर्‍यो।  

पहिले पहिले मुख्य व्यापारिक केन्द्र न्युरोडमा दसैं, तिहार, छठलगायत चाडपर्व नजिकिएसँगै थामी नसक्नु भिड हुन्थ्यो। पसलहरू सामान किन्ने ग्राहकले भरिभराउ हुन्थे। सडक अनि गल्लीमा पनि उस्तै भिड हुन्थ्यो। व्यापारीलाई सामान देखाएरै नै भ्याइँनभ्याइ हुन्थ्यो। उनीहरूलाई खानेसमेत फुर्सद हुन्नथ्यो।

तर अहिले अवस्था ठीक उल्टो छ। यी ठाउँहरूमा धेरै भिडभाड भए पनि व्यापार हुन सकेको छैन। न त व्यवसायीको मुहारमा हाँसो नै। ऋण गरेरै भए पनि सामानले पसल भरिभराउ त पारेका छन्। तर किन्ने ग्राहक छैनन्।

व्यापारीलाई खाने फुर्सदसमेत नहुने न्युरोड, असन, इन्द्रचोकलगायत मुख्य व्यापारिक केन्द्रहरू अहिले सुनसान छन्। कोही व्यवसायीहरू ग्राहकको बाटो कुरेर बसेका छन् भने कोही मोबाइल चलाएर। कोही व्यापारीहरू विरक्तिएर हाइँ काट्दै बसेका छन् भने केहीले गफ चुटेर समय व्यतित गर्दै छन्।  

आर्थिक मन्दीको चपेटाले व्यापार व्यवसाय तग्रिन सकेको छैन। थोरैथोरै चहलपहल देखिए पनि व्यापार कत्ति पनि नभएको व्यापारीहरू बताउँछन्। असन, न्युरोडका अधिकांश पसल सुनसान छन्। कोभिड–१९ को महामारीले थिलोथिलो पारेको व्यापार अझै उठ्न सकेको छैन। विगत तीन वर्षदेखि सुस्ताएको व्यापार यस वर्ष त चलायमान हुन्छ भन्नेमा व्यवसायीहरू ढुक्क थियो। दसैं नजिकिँदै गर्दा पनि व्यापार ठप्प हुँदा उनीहरू अत्तालिएका छन्। अर्थतन्त्र चलायमान नबन्दा कतिपय व्यवसायीहरू व्यवसायबाटै पलायन भइसकेका छन् भने कयौं विस्थापित हुने अवस्थामा पुगेका छन्।  

यस वर्षको व्यापार आशाभन्दा पनि निराशाजनक रहेको जुत्ता व्यवसायी प्रेमबहादुर राई बताउँछन्। बाहिरबाट न्युरोडमा आउने क्रेतामा पनि उत्साह घटेको छ। ‘तीजसँगै व्यवसाय फस्टाउँदै जानुपर्ने हो। तर अहिले अवस्था त्यस्तो छैन। तीजले नै दसैंको व्यवसायको अवस्था देखाउँछ। यसपटक नैराश्यता देखा पर्‍यो। समग्रमा भन्नुपर्दा व्यवसायको स्थिति नाजुक छ। ’

ब्याजदर वृद्धि, सहकारी संस्थामा देखिएका समस्या राजनीतिक घटनाक्रमलगायत समस्याले गर्दा व्यवसाय पनि चपेटामा परेको उनले बताए। न्युरोडमा मोबाइल पसल चलाउँदै आएका गोपाल तामाङ पनि अहिले किन्नेभन्दा पनि बुझ्न आउने ग्राहकमात्र रहेको बताउँछन्। उनी भन्छन्, ‘तीन चार वर्षअघि बजारमा जुन खालको भिड छैन। लकडाउन अगाडि जस्तो चहलपहल छैन। अहिले मान्छेसँग पैसा पनि छैन।’

सीमित ग्राहक र बढ्दो व्यवसायको कारण पनि व्यापार घटेको उनको अनुमान छ। करिब १५ वर्ष व्यवसाय गरिसकेका तामाङले यसपटक सबैभन्दा खराब व्यवसायको अनुभव गरेका छन्। कोरोनापछि सुस्ताएको व्यवसायले गति लिन नसकेको तीतो सत्य थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.