बाढीले मुसहर समुदायको बिजोग

बाढीले मुसहर समुदायको बिजोग
डुबानमा परेको सर्लाहीको बलरा नगरपालिका–३ को मुसहर बस्ती। तस्बिर :  सुनिल ठाकुर

मलंगवा : बागमती नदीको बाढी बस्तीमा पसेपछि सर्लाहीको बलरा नगरपालिका–३ का मुसहर समुदाय बिचल्लीमा परेका छन् । शनिबार बेलुका बागमती नदीको बाढी बस्तीमा पसेपछि उनीहरू घरबारविहीन भएका हुन् । पानीको निकास नभएपछि बस्तीमा पसेको पानी जस्ताको त्यस्तै छ । बाढीले घरमा रहेका अन्न, लत्ताकपडा चौपायासमेत बगाएर लगेपछि आफूहरू बिचल्लीमा परेको उनीहरूको गुनासो छ । 

पालिकाबाट पाएका चिउरा र चाउचाउको भरमा दुई दिनसम्म गुजारा गरेका मुसहर समुदाय राहतको पर्खाइमा छन् । कहीँ कतैबाट राहत नपाएपछि कसरी बाँच्ने भन्ने चिन्ताले सताउन थालेको उनीहरूले गुनासो गरेका छन् । बाहिरको कोही व्यक्ति बस्तीमा पस्नेबित्तिकै बालबालिका तथा महिला राहत लिएर कोही आएको भनेर दौडेर पुग्ने गरेका छन् । बागमती नदीको बाढी घरमा पसेपछि अन्न, लत्ताकपडा नष्ट भएको ८५ वर्षीय शहदेव माझीले बताए ।

बाढीले केही पनि बाँकी नराखेको शहदेवले दुःखेसो पोखेका छन् । ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन मात्र सफल भयौं’, शहदेवले भने, ‘घरमा रहेको सामान जोगाउन सकेनौं ।’ सम्पत्तिको नाममा फुसको सानो झुप्रो र घडेरी मात्र छ । अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताउन थालेको छ उनलाई । 

‘२०५० सालमा यस्तो बाढी आएको थियो । यस्तो बाढी कहिले आउँदैन भनेर सोचेको थिएँ । ३१ वर्षपछि त्यस्त विपत्ति फेरि दोहोरिएर आएको छ’, उनले पीडा पोखे । आइतबारबाट पानी पर्न कम भएपछि केही राहत भएको मीनादेवी माझीले बताइन् । घरको आधा भाग पानीमा डुबेको थियो । 

बालबालिकालाई लिएर अरूको घरमा भाग्दा उनको ज्यान जोगियो । उनको आँखै अगाडि अन्न र बाख्रा बाढीले बगायो । बस्न, खान र लगाउन केही छन । बालिकालाई लिएर अरूको घरमा शरण लिएर बसेको मीनाले बताइन् । ‘साँझबाट बाढी आउँदा भागेर ज्यान जोगाउन भ्यायांैं । रातमा आएको भए मानवीय क्षति पनि हुन्थ्यो’, उनले भनिन् ।

जलसीदेवी माझीका अनुसार बस्तीमा ५० घर छन् । अधिकांशको घरमा बाढी पसेको छ । अहिलेसम्म पनि घुँडासम्म घरभित्र पानी छ । पुरुष दिनभरि अरू ठाउँमा बस्न जान्छन् । महिला र बालबालिकालाई दिनभरि पानीम बस्नुपर्ने हुन्छ । होइन भने घरको छानोमा जानुपर्छ । अरू जातको घरमा बस्न जाँदा बस्न नदिने उनीहरूले बताए । छोइन्छ भनेर अरूले घरमा बस्न नदिएको जलसीको गुनासो छ । 

‘ह्यान्ड पाइपबाट पानी पनि भर्न दिँदैनन् । कोही कोहीले त ह्यान्ड पाइपको ह्यान्डिल निकालेर लुकाएर राख्छन् । डुबानमा रहेको ह्यान्ड पाइपको फोहर पानी खाएर गुजारा गर्नु परेको छ । घरमा पैसा पनि छैन । पसलेसँग उधारोमा सामान ल्याउन जाँदा सामान दिँदैनन् । 

निकै हारगुहार गरेपछि १० किलो चामल ल्याएर बालबालिकालाई खुवाउने गरेको छु । खाना बनाउन र सुत्न अरूको घरमा जानु परेको छ’, जलसीले दुःखेसो पोखिन् । उनका समुदायको केहीको घर जोगिएको छ । सबको सहारा अहिले त्यही घर बनेको छ । बिजुली बत्ती नहुँदा राति सर्प र किराको निकै डर लाग्छ उनलाई ।

आफूहरूलाई अन्यत्र सारिदिए निकै राहत हुने उनीहरूको भनाइ छ । ‘हाम्रो बस्ती होचो ठाउँमा छ । वर्षात्को समयमा जहिले पनि डर लाग्छ’, उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.