ढुसी परेको चिठीभित्र युद्ध कहानी

ढुसी परेको चिठीभित्र युद्ध कहानी

पृथ्वीमा रहेका सम्पूर्ण प्राणीले जन्मसँगै मृत्यु पनि ल्याएका हुन्छन् भने प्रविधिको उच्चतम विकासले विनास पनि। ढुंगे युगदेखि माइक्रोचिप्ससम्म आइपुग्दा समयले डिजिटल युगलाई स्वागत गरिरहेको छ भने ड्रोन, आणविक हतियारदेखि परमाणु बम सामान्य बन्दै गएको देखिन्छ। रिमोट कन्ट्रोल वा स्विच दबाएको भरमा संसार खरानी बनाउने होडबाजीमा लागेका शक्ति राष्ट्रहरूले भविष्यलाई सन्देहको घेराभित्र पारिरहेको छ।

दुई सय आठ वर्ष अगाडिको अँध्यारो कुनातिर फर्केर हेर्दा ढुंगे युगभन्दा धेरै माथि, डिजिटल युगभन्दा धेरै तलको फाँटमा कहालीलाग्दो लडाइँ भएको थियो। जहाँ एकातिर तोप र बारुद थियो भने अर्कोतिर सामान्य बन्दुक, भाला, खुकुरी, धनुकाँड, विष, पत्थरजस्ता साधनबाट भएको भीषण लडाइँले निकालेको योगफलमा बाँचिरहेका हामी र मेरो देश नेपाल। त्यस्तो हराउँदै गएको युद्घ इतिहासलाई लेखक मोहन मैनालीले खोज, अनुसन्धान र चिठीलाई आधार मानी लेखिएको गैरआख्यान ‘मुकाम रणमैदान’ नेपाल–अंगे्रज युद्धको रगतले लतपत्तिएको एउटा एतिहासिक दस्तावेज हो।

युद्घ–साहित्यमा आधारित ‘मुकाम रणमैदान’ पढ्दै जाँदा लडाइँको भुमरीले बेलाबेला छोप्ने गर्छ। पढ्दा–पढ्दै पढिरहेको पेजभित्र औंला च्यापेर पुस्तकको आवरण हेर्न बाध्य बनाउँछ। त्यहाँ कालो टोपी, रातो ड्रेस र छातीमा बेल्ट कसेर आधुनिक बन्दुक र तोप लिएर आइलाग्नेहरू जिलेस्पी, विलियम रिचार्ड, निकोलस, अक्टरलोनी या कुनै फिरङ्गी हो कि जस्तो लाग्ने, यताबाट बमको झिल्कोमाथि बडेमानको खुँडा उचालेर प्रहार गरिरहेका नेपाली अमरसिंह, भक्ति थापा, बम शाह, बुडाकाजी, भीमसेन थापा वा को होला; यस्ता स्वप्निल कलात्मक आवरणले सचिन यगोललाई खोज्छ। व्यापारको बहानामा हिन्दुस्थान छिरेका अंग्रेजहरूले १६६५ मा इस्ट इन्डिया कम्पनी खोलेर व्यापारसँगै राजनीतिक गतिविधिलाई बढाउँदै लगेपछि संयुक्त शासन सञ्चालन गर्न थाल्छ। पछि एकलौटी शासन गर्दै राज्य विस्तारमा लागेको देखिन्छ।

साम्राज्यवादी अंग्रेज फौजले आफ्नो प्रभुत्व जमाउँदै अघि बढ्ने क्रममा देहरादुन पुगेपछि नेपालको अग्लो डाँडामा रहेको नालापानी किल्ला कब्जा गर्ने रणनीति बनाउँछ। तर, विषधारी नेपाली फौजसँग लड्न त्यति सजिलो थिएन। हुन त अंग्रेजसँग तोपगोला, बन्दुक, हात्ती, घोडा सबै थिए तर नेपालीसँग धनुष, पत्थर, विष, खुकुरी, तरवार मात्र हुँदा पनि आँटचाहिँ संसार जित्ने थियो। विशाल नेपालको अभियानमा जुटेका पृथ्वीनारायाण शाहपछि पनि टुक्रे राज्यहरूलाई गाभ्ने काम भइरहेका थिए। उता अंग्रेज पनि चुप लागेर बसेका थिएनन्। नेपालको पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्मको साँध सिमानामा अंग्रेज र नेपालबीच विवाद भइरहन्थ्यो।

बेलाबेला हुने सीमा र वैरीबीचको मनमोटाव र झै–झगडाका कुराहरू राज्यको माथिल्लो निकायसम्म पुग्थ्यो। अंग्रेजहरूले हेपेर वन फडानी गर्ने, कहिले नेपालभित्र पसेर शिकार खेल्नेजस्ता गतिविधिले गर्दा नेपालले दूत माइला गुरुज्यूलाई बुझ्न र सम्झाउन पठाउँदा उल्टै अपमान गरी फर्काउने गरेकाले नेपाल र अंग्रेजबीच लडाइँको बाटो खुल्दै गएको देखिन्छ। यता पाल्पाका अपदस्थ राजा कनकनिधि तिवारी गोरखपुर बसेर अंग्रेजको हनुमान बन्दै आएको थियो। काठमाडौंसम्म पुग्न रदरफई भन्ने विज्ञले नेपालको बाटाघाटो, प्रकृति, भू–बनौटबारे अंग्रेज कमान्डरलाई जानकारी गराएको पाइन्छ।

अंग्रेजहरू नेपाललाई कब्जा गर्ने रणनीतिमा लागेपछि नेपालको नालापानी किल्लामा आक्रमण गरे। तीन दिनसम्म घमासान लडाइँ चल्यो। अंग्रेज फौजले शक्तिशाली तोप र गोलाहरू बसाइरहे भने नेपाली फौजले भाला, धनुकाँड र खुकुरीले वैरीहरू काटेर किल्लाको सुरक्षा गरिरहे। दुवै तर्फको क्षति भयो। लडाइँ चलिरहको अवस्थामा नेपाली फौजको हिम्मत देखेर अंग्रेज कमान्डरले हार मानेको उल्लेख छ। अंग्रेजको अत्यन्तै विश्वासिलो कमान्डर जेनरल जिलेस्पीले नालापानी सजिलै जितिन्छ भनी आफ्नो फौजलाई उत्साहित पारेका थिए। तर, नेपाली फौजसँग पहिलो लडाइँ जित्न सकेन। अंग्रेजहरूको केही उपाय नलागेपछि अर्को कमान्डर मबीले किल्लाभित्र जाने पानीको मुहान बन्द गरिदिएर ठूलो अपराध गरेको पाइन्छ। त्यसपछिको लगातार छ दिनको आक्रमणले नालापानी किल्ला तहसनहस भयो र नेपाली फौजले किल्ला छाडे पनि अंग्रेजलाई बहादुरीको पाठ राम्ररी पढाए।

नालापानी र बैराठको किल्ला जितेपछि अंग्रेजहरू हौसिएका थिए भने झाम्टाको भीषण लडाइँ र जितगढी किल्ला जाने क्रममा एकपल्ट हार बेहोरे। पहिला बुटवल, स्युराज अनि नुवाकोट हुँदै तानसेन त्यसपछि पाल्पा, रिडीघाटबाट काठमाडौं पुग्ने योजनामा अंग्रेजहरू चुकेको पनि भेटिन्छ। नेपालको पश्चिम सिमाना सतलज आसपासका झाम्टा र जैथकमा अंग्रेजहरूले चलखेल बढाउँदै निहुँ खोज्न थालेपछि फेरि लडाइँ चल्यो। नेपालीले जितेपछि अंग्रेज फौजको मर्टिन्डेलको खुब आलोचना भएको बुझिन्छ। फेरि विलियम रिचर्डको अगुवाइमा नेपाली फौजपछि हट्न बाध्य भयो। काजी जसपाउले अझै लड्ने भन्दै गर्दा राजाको आदेशमा अमरसिंह थापाले जैथक किल्ला अंग्रेजलाई जिम्मा लगाएपछि फेरि रामगढ किल्ला पनि छाड्नु परेकोमा दुःखी तुल्याउँछ।

अंग्रेजका अक्टरलोनी कूटनीतिमा पनि सिपालु थिए। बनारसमा बस्ने वासुदेव नेपाली पण्डितलाई पनि हात लिएका थिए। उनीबाट नेपालका गोप्य कुरा र बाटाहरू पत्ता लगाएका थिए भने यता नेपाली फौजको भोक र सेवा–सुविधा नपाएको थाहा पाएपछि अक्टरलोनीले कतिलाई अंग्रेज फौजमा सामेल गराए। मलाउको लोहार भञ्ज्याङमा सबैभन्दा भीषण लडाइँ चल्यो। नेपाली फौजको केही सिप नलागेपछि रणमैदानमा आम्नेसाम्ने भएर भाला, तरवार र खुकुरीले शत्रुलाई छप्काएको प्रसङगले चलचित्र हेरिरहेको आभास हुन्छ।

आखिरमा ७३ वर्षको भक्ति थापाले त्यहीं १८७२ वैशाख ६ गते वीरगति पाएको अत्यास लाग्दो युद्ध कहानीले आङ सिरिङ्ग बनाउँछ। एकपछि अर्को कुमाउँ पनि गुमाए। त्यहाँको बम शाहले भाइ रुद्रवीर र सबैतिर हारगुहार मागे तर समयमा पाएन। अन्न सकियो, पैसा सकियो, हतियार थिएन, साहुले ऋण दिन छाडे र पनि अंग्रेजलाई परास्त गर्न सकिन्छ भन्दै ‘हामी कदापि हार्नु हुँदैन’ चिठीमा लेखेका थिए। तर निकोलसको फौजले ध्वस्त पारेपछि एडवार्ड गार्डनरले बन शाहलाई शर्त राखेर चारवटा हात्ती र ६ सय भरियामा सामान बोकाएर परिवारसहित महाकालीपूर्व कटाए। लेफ्टिनेन्ट कर्णेल गार्डनरले बम शाहलाई महाकाली किनारसम्म पु¥याएर आत्मसमर्पण गर्नेप्रति सहानुभूति देखाएको बुझिन्छ।

अंग्रेजले फौजी संख्या बढाइरहने, नेपालीबाट गोप्य कुराहरू चुहाउने, नाकाबन्दी लगाउने, सिक्किम पञ्जावजस्ता साना राज्यलाई उस्काउने, अनेक उपाय मध्ये बाटोमा चिठीहरू खोसेर गोप्य र आन्तरिक कुराहरू पत्ता लगाएपछि अंग्रेजलाई अझ सहज भएको बुझिन्छ। नेपाली फौजलाई त्रास, लोभ र सोझोपनको फाइदा लिँदै, ठाउँठाउँमा किचलो निकाल्दै सतलजसम्मको भूभागलाई छिन्नभिन्न बनाउँदै लगेको देखिन्छ। अंग्रेजले नयाँ फौजी कम्पनी खडा गर्दै शक्तिशाली तोप, हात्ती र असंख्या गोला बारुदहरू थपिरहँदा नेपालको एकमात्र प्युठानको हतियार कारखानामा बल्लतल्ल केहीथान हाते बन्दुक, घरेलु हतियार, पत्थर र धनुकाँड बनाउने गथ्र्यो। र पनि नेपालीको हिम्मत र आत्मबल अंग्रेजको भन्दा माथि थियो।

अंग्रेजले राखेको शर्तअनुसार अमरसिंह थापाले महाकाली पश्चिमको मलाउ र गढवाल किल्ला छोडेर पूर्वतिर लाग्दा ठूलो नोक्सानी बेहोर्नु प¥यो। कीर्ति राणाको फौज र बेसहरीका कमान्डर बजीरबीचको लडाइँ अनि हिमाली भेगको अवलोकन गर्न आएका बेलायतका फ्रेजरले कीर्तिसँग गरेको संवाद र सहयोग सम्झनायोग्य लाग्छ। पाँडेहरू र उजीरसिंह कमान्डरबिचको राम्रो समन्वय नहुँदा र सहयोग नपाउँदा पदनाहगढी गुमाएको देखिन्छ। रुद्रवीरको फौजले स्युगढी किल्लामा नयाँ पर्खाल बनाउँदै गर्दा जनरल ऊडको टोलीले स्युराजमा अर्कै जुक्ति लगाएर गाउँगाउँमा लुटपाट गर्न थाले, भएका अन्न डढाइ दिएपछि गाउँलेहरू सबै भागे। त्यसपछि अंग्रेजहरू स्युगढी हुँदै जितगढीतिर बढे। नेपालको पश्चिम र मध्यक्षेत्रमा अंग्रेजले लडाइँभन्दा पनि डर धम्कीको शैलीमा सन्धिको बाटो कोरेको देखिन्छ।

नेपालको पूर्वविजयपुरमा रहेका कर्णेल भक्तवीर थापा, रणशेर बारादलका काजीबहादुर भण्डारी र   श्रीजङ पल्टनले अंग्रेजको मधुबनीमा रहेको फौजमाथि असफल हमला गरे। बारम्बार लडाइँ गर्दागर्दा रासनपानी, खर्च, हातहतियार सबै सकेपछि बलभञ्जन पाँडेले राजालाई बिन्ती चढाएको मार्मिक कुराले हृदय छुन्छ,। लाग्छ कि त्यो बेला राजा भनेको भगवान् समान थिएछ। ‘महाजनकोबाट पाँचहजार ल्याको पाँच महिनामा खाइसकियो। अनाज छैन, रैती छैन, सिपाही भागिसक्यो, खर्च छैन, खान नपाई मर्न लाग्यो, लडौ भने उसैको फौज धेरै छ, खानेबस्ने केही छैन, अंग्रेजहरू सिन्धुली पुग्यो भने देशलाई हानी हुन्छ।’ भोकभोकै भए पनि देश र राजालाई बचाउने नेपाली वीर फौजीहरूको कारण सार्वभौम नेपालको नागरिक हुन पाएकामा गर्व लाग्छ। लडाइँले देश टाट पल्टेको बेला नेपालले उत्तरतिर बारम्बार सहयोगको याचना गरिरह्यो तर भोट र पेचिङले वास्ता गरेन बरु शान्तिको कामना गरेको उल्लेख छ।

१८७१–७२ सालमा भएको भीषण लडाइँले नेपाल–अंग्रेज दुवैलाई थाङथिल बनाइसकेको अवस्थामा सन्धि गर्नुनै उत्तम थियो। गजराज मि  श्र र चन्द्रशेखर अनि ब्य्राड्स दुवै तर्फको भेटघाट र छलफलपछि काठमाडौं आउने जाने हुन थाल्यो। केही शर्तहरू राखेर बनाएको कागजमा अंग्रेजको गभर्नर र नेपालको राजा गीर्वाणयुद्घले सहमत जनाए, तर, नेपालको मैदानी भूभाग छोड्न अमरसिंह थापाले विरोध जनाएपछि फेरि युद्ध भयो। निर्णायक लडाइँपछि फेरि सन्धिकै बाटो अपनाउन बाध्य भए। पूर्वमा मेची र पश्चिममा महाकालीभित्रको भूभागमा नेपालले चित्त बुझाउन विवश भए। अंग्रेजको तर्फबाट नेपालको राजदूत गारनलाई सन्धिअनुसार काठमाडौंको लैनचोरमा जग्गा दिएर राखेपछि गारनमाथि नेपालको झन् शंका बढ्दै गए पनि पछिबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बुझिन्छ।

वास्तवमा लेखनकला, पात्रहरूको चरित्र, प्लटहरूको विस्तार, वस्तुगत संरचना, प्रवृत्ति र भाषाशैलीको विश्लेषण गर्नुभन्दा पनि ढुसी लागेर धुलिएको कागजका टुक्राहरू केलाएर युद्ध इतिहास लेख्नु नै सुन्दर पक्ष लाग्यो। लेखक मैनालीको अथक मेहनत र गहिरो अध्ययनले जन्माएको गैर–आख्यानभित्र लडाइँको नालीबेली त छँदै छ, तर त्यो बेलाको तिथि–मिति यकिन गर्नु, दुई नाम र ठाउँको पहिचान गर्नु, भाषा र शब्दार्थ केलाउनु, अंग्रेजदेखि चीनसम्मको भाषालाई बुझाउनु, देश विदेशको अभिलेखायलबाट प्रमाणहरू संकलन गर्नु, आजसम्म नभेटिएका र नलेखिएका युद्घको घाउ कोट्याउनु, दुवैतर्फको चिठीहरूलाई अथ्र्यानु, पहिले र अहिलेको भाषा अन्तरलाई सहज बनाउनु, युद्घमा ज्योतिषविज्ञानको महत्व र प्रयोग हुनु र ग्रन्थभित्र हस्तलिखित प्रमाणहरू समेटेर लेखकले ‘मुकाम रणमैदान’ लाई पठनीय र संग्रहणीय बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.