चढ्न जाने होइन त धरहरा ?
काठमाडौं : संविधान दिवसका अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधरणका लागि खुला गरिएको छ। २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहरा आजदेखि सर्वसाधरणका लागि खुला गरिएको हो। धरहराको ९८ प्रतिशत संरचना निर्माण पूरा भएको छ।
अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।
संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर,पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो।
धरहरा पुनर्निर्माण गर्नका लागि २०७५ साल असोज १४ गते जीआईईटीसी–रमण जेभीले ठेक्का पाएको थियो। २ वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्ने समय राखेर ठेक्का लिएको रमन जेभीले छैटौंपटक म्याद थप गरेपछाडी मात्रै धरहरा निर्माणको काम लगभग पूरा गरेको छ।