परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानाडा प्रस्थान गरेकी छन्। क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए। क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुँदैछन्। सम्मेलनमा परराष्ट्रमन्त्री राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
बैठकपछि मन्त्री राणा अमेरिका प्रस्थान गर्नेछिन्। अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन्। महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ।
अमेरिकामा रहँदा मन्त्री राणाले विभिन्न फोरमहरूलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनी अक्टोबर ४ मा स्वदेश फर्किनेछिन्।