राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री
काठमाडौं : खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने बताएका हुन्। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना हुँदै छ।
राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए। रंगशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दसैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए।
मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको गुनासो गरे। वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपूर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको उल्लेख गरे।
सो काम ३ सय दिनमा पूरा गर्न सम्भव नदेखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको पनि उनले बताए।