वरपरका परिघटना, सम्बन्ध, संस्मरणात्मक र मानव समाजशास्त्रीय पृष्ठभूमिमा उनका कथाहरू लेखिएका छन्। घटेका र कल्पनामा घटाइएका स्वैरकल्पनासहितमा कथामात्र कथा होइन, पात्र स्वयं पनि कथा हो।
कथाकारको छवि बनाएका पूर्वप्रशासक गोपी मैनालीका कतिपय कथाले परम्परावादी धार वा अतियथार्थवादी गुरुप्रसाद मैनाली शैलीलाई पछ्याएका छन्। वरपरका परिघटना, सम्बन्ध, संस्मरणात्मक र मानव समाजशास्त्रीय पृष्ठभूमिमा उनका कथा छन्। घटना र कल्पनामा कथामात्र कथा होइन, पात्र स्वयं पनि कथा हो भन्ने उनको बल्दो तर्क पाइन्छ। ‘संवेदना भएका हामी सबै कथा हौं र मनभित्र वा बाहिर रहेर लेखिने कथा फरक हुन्छ’ भन्ने कुरालाई अस्वीकार गर्न सकिँदैन भने पनि समाजका मान्यता, स्वभाव, चरित्र र प्रवृत्तिजन्य व्यवहार वा वर्तमान पुस्ताको महत्त्वाकांक्षालाई समेत सहज रूपमै समेट्न सफल भएका छन्।
नेपाली साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो, गोपी मैनाली। जसले १२ पुस्तक दिएका छन्। संस्मरणात्मक पृष्ठभूमिका कथाहरू मात्र धेरै छैनन्, विविध विषयवस्तुका हृदयस्पर्शी र कथ्यशिल्पीका कथाहरूले पाठकको मन चोर्न अवश्य सफल हुुनेछन्। फुटकर कथा, समालोचना र निबन्धहरू प्रकाशित गर्दै आएका उनी भावनाप्रधान कवि भए पनि लिखतमा कवि कहिल्यै बनेनन्। सिर्जनामा व्यक्ति/सर्जकको प्रवृत्तिजन्य स्वभावले ठूलो भूमिका खेल्छ। यो सार्वजनीन मान्यता हो। सचिवस्तरीय प्रशासक हुँदा देशको विभिन्न स्थानमा सरुवा भएर व्यक्ति समाज आदिको अध्ययन गर्ने र निष्कर्ष निकाल्ने अवसर उनले पाए। जुन संवेदनशीलता आञ्चलिक कथाहरूमा छन्। यो विशेष गुणको रूपमा उनले स्थापित गरेका छन्।
जीवन र जगत् नजिकै भएर गुजारा गर्ने कथाकारको आफ्नै मान्यता छ। कथाहरूमा पाठक मनभित्र र बाहिर छुट्टै हुँदै/बन्दै आएको परम्परालाई भत्काउने सोचले रचिएका उनका कथाहरूले तपाईंहाम्रै जीवनका तानाबानाहरू बुनेको पाइएको छ। आफैं पात्र भएर, इमानार भएर, सत्य ओकलेका छन्। त्यसो त कतिपय कथाकारका कोरा कल्पना, सिद्धान्त र सूत्रबद्ध लेखनमा कथाहरू अनुभवभन्दा बाहिर र जीवनबाट कोशौं टाढा पुगेको तथ्य नकार्न सकिँदैन। त्यसैले सिर्जनालाई बाँधिएर लेख्न लेखाउन मञ्जुर नगर्ने कथाकार उनको छुट्टै परिचय छ।
अवसाद अभिनयी (निबन्ध संग्रह), आँखाभरि रमिता मनभरि वेदना (नियात्रा दैनिकी), युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण (समालोचना), अपेक्षा र अनुभूति (निबन्ध संग्रह), घाउ आफैंलाई दुख्छ (निबन्ध संग्रह) आदि स्तरीय र कोसेढुंगा साबित हुने आठ कृति आख्यान साहित्यिक क्षेत्रमा प्रस्तुत गरिसकेका छन्। संग्रहमा – आमासँग कुरा गर्ने धोको, पराजित, गुल्नारा, धुल्पुरे त बगाए छ !, साथी राम थापा, सधैं असुरक्षित !, विसमको मोटरसाइकल, सबैले माया गर्दा रहेछन् !, साथी र सापटी, सरोजको विदेश मोह, मन लरबराएको बेला, गोरे दाइ गए, खोला पनि सुक्यो !, सुकरामको रेडियोप्रेम, बिन्दास सरिता, जन्मदिन, संगतले भत्काएको सपना र उसको पनि दसैं होला शीर्षक गरी १७ कथा समावेश छन्।
समाजको रुढिवादी, बेथिति, विसंगति, सामाजिक कुरीति, ह्रास हुँदै गएको मानवता, मानवीय मूल्यमान्यता, सामाजिक राजनीतिक विकृति र संरचनाअन्तर्गतको आमासँग कुरा गर्ने धोको कथामा धेर सन्तान जन्माउनु, हुर्काउनु र तिनका उज्ज्वल भविष्य चाहनु नै आमाको अभीप्सा रहेको हुन्छ। आमासँग कुरा गर्ने धोको कथामा ६० लागेकी आमाको क्रमश : शारीरिक रोग, पीडा र अवसान नभएसम्मका दृश्य/कथानकले अवश्य पाठकको आँसु झार्नेछ। यति सरल र भावपूर्ण शब्द संयोजनले कथालाई मर्मस्पर्शी र मुटु छेड्ने बनाएको छ। पढेलेखेका छोराहरूमा समेत कलेजोको क्यान्सरले भेटिएकी आमाको रोगबारे अज्ञानता रहनु अलि अपाच्य कुरा भएता पनि पारिवारिक आर्थिक स्थिति, सुधोपनले यो अवस्थाको सिर्जना गराएको हो कि ? भन्ने प्रभाव पार्छ। ६० वसन्त काटेकी आमालाई एक वसन्त पनि सुखद अनुभवको दिन नसक्नु छोराछोरीका लागि कति हृदयविदारक हुँदो रहेछ। सृष्टिमा प्रलय आओस् तर आमालाई बचाइदिन प्रार्थना गर्ने चाहना भएरै पनि आखिर निष्ठुरी दैवले पाँच महिनाको पीडापश्चात् आमालाई लगेको करुण दृश्य छ यस कथामा।
यसैगरी, सरल र सान्दर्भिक कथावस्तुलाई प्रस्तुत गर्ने क्रममा साथी र सापटी कथा पढ्दै गर्दा मध्यम वर्गमा जन्मेका, आरोह अवरोह भोगेका, दु : खसुख बुझेका पात्र हार्दिकको हार्दिकताले मन एकतामासको बनायो। मानवीय संवेदनामा बहनु/भावुक हुनु र पटक पटक ठगिनुको नियति बोकेका हार्दिक र साथी र सापटी कथाका निर्दयी पात्रहरूको व्यवहारले पंक्तिकारको मन पनि एकतमासको बनायो। उर्लंदो खहरे भएर बग्यो। उस्तै नियति भोगको पात्र भएर होला कथा पढ्दा आँखा अनायासै रसाए।
अर्को कथा गुल्नाराको पात्र ककेसियन नारी सुन्दरता, संस्कृति, धर्म र संस्कारसँग लेखिएको अर्को वैदेशिक पृष्ठभूमिको कथा हो, गुल्नारा। मुस्लिम नारी नायिकाको नाम गुल्नारा, जसको अर्थ आगोको लप्का वा अनारको फूल भन्ने हुन्छ। यी चरित्रसँग तीनमहिने तालिमको सिलसिलामा जापानमा भेट भएको हो। कथाकारको पुरmष मानसिकता वा मनोविज्ञानले देखेको र सम्भावित हुन सक्ने घटनाको चित्रण गरेको गजबको कथा गुल्नारा हो। राताराता गाला, नीला आँखा, सुनकेस्री गुल्नाराको नेपाली हिमचेलीहरू पासाङ, डोल्मा वा म्हेन्दोजस्तासँग मात्र तुलना हुन सक्छ।
तालिम अवधिभरको उसको क्रियाकलाप, चरित्रचित्रण पश्चात् स्वदेश फिर्ती एवम् तत्पश्चात् पनि मन पराइएको युवासँग बिहे गरेर मुस्लिम जीवन बिताउनु परेपछिका दारुण दृश्यले मन कटक्क खान्छ। मानव अधिकारकर्मीबाट उद्धार गरिएकी गुल्नारा बाँकी जीवन नारी मुक्ति र बालबचाउ अभियानमा समर्पित हुने संकल्प लिएर एकल जीवन बाँच्न बाध्य भएको देखिन्छ। कृतिभित्र रहेका कथाका केही उदाहरणमात्र पेस गरिएको छ। अन्य कथा पढ्ने र रमाउने जिम्मा पाठक वर्गलाई सुम्पन चाहन्छु। यसैगरी, धुल्पुरे त बगाएछ र गोरे दाइ गए, खोला पनि सुक्यो जस्ता सशक्त आञ्चलिक कथा दिन सफल छन् उनी।