हेर्छु आफूलाई, निहत्था छु। लडूँ भने पनि शत्तिाmशाली हुँदो ती यन्त्रमानवसित लड्छु कसरी !
केही छैन नयाँ। सबै उहीका उही। जस्तो हिजो, तस्तै आज पनि।
झुट बोल्नेहरू बोलिरहेकै छन्। सम्पर्कमा आउनेहरूले धोका दिइरहेकै छन्, ती आफन्त हुन् वा पराई। आफ्ना वचनलाई, सम्बन्धलाई, काम गराइलाई खुँडाखुकुरी बनाइरहेकै छन्। तिनैबाट आक्रमित यो जिन्दगी थिलथिलो भएकै छ। यही घाइते जिन्दगी बोकेर हिँडिरहेकै छु। बाटो पनि उही नै हो।
त्यही बाटोमा परिचित देखिन्छन्। अपरिचित देखिन्छन्। हतार नै होला, आँखीभौं उचालिदिन्छन् मात्र— ‘के छ ? ’ वा यस्तै।
— ‘कस्तो चल्दै छ ? ’ सब सोध्छन् यो त।
— ‘कसरी चलाउँदै छौ ? ’ कसैले सोध्दैन यो भने।
त्यसरी नै सिकिएको मुस्कान मुस्काइदिन्छु यहाँ पनि।
एउटाले रोक्दै छ बाटैमा। भन्दै छ— ‘यो निकै राम्रो औसर हो। हलुका नलिनू।’
के राम्रो हो, जान्दछु म पनि। बेमानहरू आपूmले साथ लिन परुन्जेल ढोगँुला जस्तो गर्छन्, काम बनेपछि...।
— ‘हामी दुई भाइले सहजै समृद्धि हासिल गर्न सक्छौं अनि।’ थप्तै पनि छ। फकाउने बहाना हजार, जति धेरै मान्छे संसारमा त्यति नै धेरै आफ्ना मतलबको दुनो सोझ्याउने तरिका हजार। ‘हुन्छ’, ‘हुन्न’ कतै पनि टाउकोसमेत हल्लाउन मन लाग्दैन अब त। खुरुखुरु हिँड्छु।
— ‘यस्तो... छाड्नु मूर्खता हो है।’ टाढा पुगुन्जेल चिच्याउँदै छ त्यो।
कसलाई समात्नु बुद्धिमानी भयो त यहाँ ? अर्कालाई मारेर खान खोज्ने जंगली शासनको पलपलमा हुने खतराभन्दा यहाँ के कम छ र ! दुई खुट्टामा उभिएकै आकृति देखिन्छन् देखिनलाई त, व्यवहारले भने
झम्टेर मासु लुछिहाल्ने हिंस्रक जनावर देखिइरहेछन् तर...। विश्वास खोज्न आउनुस् त, कता पुर्याइदिन्छन्... पत्तै पाउनु हुन्न।
कति बजेछ ?
मोबाइल हेर्छु त...। आपुई, के हो यस्तो !
त्यहाँ अंक र अक्षरहरू एकसाथ यताबाट उता र उताबाट यता दौडादौड गर्दैछन्। छरपस्ट हुने तालमै। हेरिरहन्छु एकछिन त। कुन्नि कति मिनेटपछि थामिन्छन्, थाकेजस्तो, अनि स्पष्ट हुन्छ— ‘गो टु...।’ ढिस्काना ठाउँ।
हँ ! के हो यस्तो ? मोबाइलमा यसरी कसले
आज्ञा दिँदै छ !
आइपुग्छु पुग्न त, के हो के हो सोच्दै।
एकान्त छ। १० झ १२ को कोठा। सेतो रङ लागेका भित्ता। अनि एक थान सुनसान। अरू निरीक्षण गर्नै पाउँदिनँ, खल्तीबाट मोबाइल आफैं निस्केर कुद्न पो थाल्छ। सजीवको संसारले तिरमिराइरहेको बेला अब निर्जीव कुराले पनि...! सक्तिन सोच्न पनि अब त।
कुद्दाकुद्दै एक ठाउँमा अडिएर मोबाइलले मुस्लो किरण हुरुहुरु फ्याँक्छ भित्तामा।
ओहो ! ...यो त... यो त...। यस्तै निस्कन्छन् मुखबाट मेरो। त्यहाँ देखा पर्छ— डेराभाडा नदिएर भाग्ने फटाहाहरू। आपतै पर्यो लौ न भनेर रुँदै सापट माग्ने अनि पाएपछि हाँस्दै लापत्ता हुनेहरू। कति घाउचोट लिएर पहिला सहयोग माग्नेहरू पछि बिसेक भएपछि तिनै घाउचोट दिएर सुइँकुच्चा ठोक्नेहरू। कोही एउटा रङमा के भनेर नजिकिने, पछि अर्को रङमा नचिनिने भइदिनेहरू।
एकपछि अर्को। एवं रीत चल्दाचल्दै देख्छु त... यस्ताहरू कति बढिरहेछन् कति।
ओह ! कति धेरै। बढ्दै छन्, बढ्दै छन्, कति
धेरै यस्ताहरू...।
— ‘देख्यौ हैन त तिम्रो संसारको गति ? ’ एउटा गहु्रँगो स्वर ठोक्किन्छ एक्कासि।
ए को ? हेर्छु त मोबाइलबाट बग्दै गरेका तरल पदार्थबाट पो आइरहेछ त आवाज।
लतत बगेर एक ठाउँमा जम्मा हुन्छ जम्मै तरल पदार्थ। जुरुक्क उठ्छ कुनै प्राणी जस्तै आकृतिका रूपमा।
— ‘को ? कसरी आयौ ? ’ यस्तो फुस्कन पुग्छ मुखबाट।
— ‘को, के, कसरी, किन... ? यस्ता बकम्फुसे जिज्ञासा छाडेर सुन, तिमीहरूको शासन सकियो अब यहाँबाट।’ आकृति गर्जिन्छ।
च्वास्स मनमा लाग्छ। कतै टुट्ने फुट्ने गरी।
— ‘शासन ? ’
रहस्यमाथि रहस्य थपे झैं लाग्न थाल्छ, त्यो भने थप्तै जान्छ— ‘अँ, तिमीहरूको त अब वंश वृद्धि भए पो... बढी आयोडिन, केमिकलयुक्त खाना...मै रमाइरहेछौ। तिमीहरूको सन्तान जन्मे पो अब...। अनि किन खाली गर्नु यो संसार। भर्नैपर्यो जसले भरे पनि।’
केही बोल्न सक्तिनँ।
— ‘गर्न पनि तिमीहरूले के मात्र बाँकी राख्यौ र यहाँ ?
चराचुरुङ्गीले साँझ परेपछि खाएको देखेका छौ ? ...तिमीहरूलाई भने जतिखेर पनि... ? ’
— ‘त, अब ? ’ प्रश्न चुहिन्छ मेरो मुखबाट अलिकति आश्चर्य, अलिकति पीडा, अलिकति शंकाको
फुर्को लगाएर।
उत्तरमा त्यो बटुल्न थाल्छ छेउछाउमा भएका किला, पेच, नट यस्तै फलामे चीजबीज। बटुलेर एक ठाउँमा राख्छ। खल्तीबाट सानो चीज निकाल्छ। त्यो चीज त्यसको हातमै सरर ठूलो हुन थाल्छ। क्षणभरमै ल्पापटपका रूपमा देखा पर्छ। त्यही ल्यापटपमा के के बटम थिच्नासाथ फलामे सामानहरू आफैं घुम्न थाल्छन् र अडिँदा त्यहाँ यन्त्रमानव देखा पर्छ।
— ‘अब तिमीले यस्तै फलामे सामानहरू खोज्ने
काम गर।’
— ‘म ? ’ रिस त उठेकै हो।
— ‘अँ, धन्धा नमान, तिमीलाई मान्छेको जाति भनेर नमुनाका लागि भए पनि बचाइराखौंला नत्र...।’
बुझ्न बेर किन लगाउनु त्यो नत्रपछि। जस्तोसुकै मूर्खले पनि पत्तो पाउँछ, शक्तिको चोला पनि कसरी रूपान्तरित हुँदो छ यसपछि त...। भने, अब देख्दै छु,
आफूभित्रको ‘म’ उडेर फलामहरूमा सञ्चरित हुँदो छ, बिस्तारै...। असहाय त्यो ‘म’ मलाई छाडेर त्यहाँ जान्छु भन्न पनि सकिरहेको छैन, जान्नँ भन्न पनि। धुवाँसरी
उडेरै बहिरहेछ...।
यो कस्तो समय आइपुगेको छ, मानवबाट उठेको भरोसा यन्त्रमानवमा राख्नुपर्ने।
थाहा छैन, अब म के गर्छु।
गर्छु भने किन गर्छु। के आफ्नो सुरक्षाका लागि ? यस संसारका मानव जातिको एकमात्र नमुना बन्ने रहरका लागि ? कि आफ्नो अस्तित्वका लागि ?
हेर्छु आफूलाई, निहत्था छु। लडूँ भने पनि शक्तिशाली हुँदो ती यन्त्रमानवसित लड्छु कसरी !