प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन्। यसअघि बुधबारलाई बोलाएको बैठक शुक्रबारका लागि सारिएको थियो।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उमेरहदका कारण असोज १९ गतेदेखि अवकासमा जाँदैछन्। अवकासमा जानुअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सो व्यवस्थाअनुसार आज बस्ने परिषद् बैठकले नयाँ प्रधानन्यायाधीश नियु्क्तिका लागि सिफारिस गर्नेछ।
संवैधानिक परिषदको बैठक बस्नुअघि बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको थियो।
छलफलका क्रममा अध्यक्ष प्रचण्डले संवैधानिक पदमा आफ्नो पार्टीले पनि भागबण्डा पाउनुपर्ने माग गरेका थिए। उनले परिषद्का रिक्त सबै पदमा सहमतिमै सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए।
प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाइसकेको छ। पठाएको नाममाथि छलफल गर्न आज बैठक बस्न लागेको हो।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।