उपमहासचिव चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण
काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधिएको छ। मुलुकको अखण्डता र सार्वभौमसत्ताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पार्टी महासचिव घनश्याम भुसालले चौधरीलाई स्पष्टीकरण सोधेका हुन्।
उपमहासचिव चौधरीले एक टेलिभिजन कार्यक्रममा लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने र उसैले लिन पाउने बताएका थिए। सोही अभिव्यक्तिविरुद्ध पार्टीले स्पष्टीकरण सोधेको हो।
'अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै छ। त्यस विपरीत मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाइँले किन बोल्नुभएको हो? यसबारे ३ दिनभित्र लिखितरूपमा स्पष्टीकरण दिनुहोला,' पत्रमा भनिएको छ।