खोटाङ र उदयपुर जोड्न बङ्सिलाघाटमा अस्थायी बेलिब्रिजको तयारी
उदयपुर : वर्षातको समयमा कष्टकर जीवन बिताउँदै आएका खोटाङको उत्तरी भेगका सर्वसाधारणलाई लक्षित गरी हिउँदमा अस्थायी बेलिब्रिज लगाउने तयारी गरिएको छ।
उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीको बङ्सीलाघाटमा दुई जिल्लाका स्थानीय तहको समन्वय र बजेट व्यवस्थापनमा बेलिब्रिज लगाउने तयारी गरिएको हो। अस्थायी बेलिब्रिजले स्थानीयलाई कोशी वारिपारि गर्न मात्र नभई सहज रूपले प्रदेश राजधानी विराटनगर र संघीय राजधानीसँग जोड्न सहज पुग्ने पूर्वसांसद विशाल भट्टराईले बताए।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिवाई–बेल्टार–वीरेन्द्रबजार–छुइला–बङ्सीलाघाट–चिसापानी–दिक्तेल सडकखण्डमा पर्ने बङ्सिलाघाटमा पक्की पुल निर्माण भइनसकेकाले तत्कालका लागि बेलिब्रिज लगाउने तयारी गरिएको खोटाङका पूर्वसांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए।
दुवै जिल्लाका सर्वसाधारणको समस्यालाई मध्यनजर गरी बेलिब्रिज लगाउने तयारी गरिएको उनले बताए। बेलिब्रिज लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याउन पूर्वसांसद भट्टराईले प्रत्यक्ष लाभ लिने तीन पालिका उदयपुरको चौदण्डीगढी नगरपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिका जनप्रतिनिधिसँग सहयोग र समन्वयका लागि छलफल चलाएका छन्।
यसअघि खोटाङलाई पूर्वीसहर जोड्ने सुनकोशी नदीको फोक्सिनटारमा लगाइएको बेलिब्रिज पक्की पुल निर्माण भएसँगै प्रयोग नभई बसेकोमा बङ्सीलाघाटमा लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्वीकृत लिइसकेको भट्टराईले बताए।
यस पर्ष बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि बजेटका लागि तीन पालिकासँग समन्वय गरिएको उनले बताए। छलफलमा बजेट व्यवस्थापनका लागि माथिल्लो निकायलाई अनुरोध गर्ने र कही कतै स्रोत नजुटे तीन वटै स्थानीय तहको लगानीमा सञ्चालनमा ल्याइने निर्णय भएको पूर्वसांसद भट्टराईले बताए।
आउँदो कात्तिक महिनादेखि नदीमा पानीको बहाव घट्ने भएकाले त्यसपछि बेलिब्रिज जडान गरिने उनले बताए। सुनकोशी वारपारका लागि पुल नहुँदा स्थानीयवासी फोक्सिनटार, दिक्तेल, भोजपुरको निकै लामो बाटो घुमेर प्रदेश र केन्द्रीय राजधानी जान बाध्य छन्।
वर्षाको समयमा अधिकांश सडक भत्किने, पहिरो जाने समस्याका कारण घुमेर जानसमेत कठिनाइ हुने गरेको छ। सर्वसाधारणभन्दा पनि बिरामीलाई अझ मुस्किल पर्ने गरेको स्थानीय बताउँछन्। वर्षामा आर्थिक पक्ष सबल हुनेहरू हेलिकोप्टर चार्टर गरेर भए पनि उपचार गर्न जाने गरेका छन् भने गरिबीका रेखामुनि रहेकाहरूले अकालमै ज्यान गुमाउने गरेका छन्।
बराहपोखरी गाउँपालिका ६ का वडाअध्यक्ष दुर्गाबहादुर राईले भने, ‘पुल नहुँदा बेल्टार बजारमा दुई हजारमा पाउने चामल खोटाङ पुग्दा चार हजारमा किन्नुपर्छ, यो हाम्रो पीडा कसले सुनिदिने।’ बेलिब्रिज जोड्न र निकाल्न एक करोड बढी खर्च लाग्ने अनुमान गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए। उक्त रकम तत्काल सुनिश्चित गरी टेन्डर आह्वान गरिने उनले बताए। दुवै जिल्लाका सर्वसाधारणलाई पुल पायक पर्ने भएकाले निर्माणमा जोड गरिएको उनले बताए।
हाल दुवै जिल्ला जोड्ने बङ्सिलाघाटमा २०७५ सालमा १ करोड ४३ लाख लागतमा निर्माण गरिएको २ सय ३५ मिटर लम्बाइको झोलुंगे छ भने १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा ३३ महिनामा काम सम्पन्न गर्ने गरी मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ। २०७९ मंसिर १ गते कालिका–भेडान्सी जेभीले सम्झौता गरी पुल निर्माणको जिम्मा लिए पनि हालसम्म २५ प्रतिशतसमेत काम सम्पन्न भइसकेको छैन।