वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन
अमेरिका : वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचारको क्रममा ७७ वर्षीय उपाध्यायको निधन भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए ।
२०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरू गरेका उपाध्यायले आफ्नै सम्पादनमा अङ्ग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरू गरेका थिए ।
तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही पत्रकारितामा आवद्ध रहेका उपाध्याय भारत,नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका थिए।
वरिष्ठ पत्रकार उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एकजना अनुभवी,निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ ।