गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै एप्रोन लगाएर धनगढीमा प्रदर्शन
धनगढी : कैलालीको गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने र विश्वविद्यालय विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्नुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
६ प्रदेशमा सरकारी मेडिकल कलेजहरू खुल्दा पनि सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले प्रदर्शन गरेको हो।
कैलालीको गेटामा ६ सय शय्याको अस्पताल घोषणा हुनुपर्ने र संसदको चालुअधिवेशनबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पास हुनुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन गरिएको हो। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयको गेटमा प्रदर्शन गरे भने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन समेत बुझाएका छन्।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले ज्ञापन बुझाएका हुन। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाले २०८० सालको माघ २४ गते पास गरेर अहिले त्यो विधेयक प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा दफावार छलफलका लागि पठाइएको छ। ८ महिनासम्म पनि विधेयक उपर प्रतिनिधि सभामा छलफल नभएको भन्दै स्थानीयले दबाब स्वरूप प्रदर्शन गरेका हुन्।
सरकारले ६ प्रदेशमा सरकारी मेडिकल कलेज खोल्दा समेत सुदूरपश्चिम उपेक्षामा परेकाले प्रदर्शन गरिएको संघर्ष समितिका लोकेन्द्र धामीले बताए। सरकारको सबै प्रदेशमा सरकारी मेडिकल कलेज हुनुपर्ने नीति छ तर ७ प्रदेश मध्ये यसपालीदेखि सुदूरपश्चिम बाहेक सबै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा आएका छन्।
शनिबार चिकित्सा सेवा आयोगले ६ प्रदेशबाट सरकारी मेडिकल कलेजले मेडिकल शिक्षाको अध्यापन सुरु गर्ने सूचना जारी गरेपछि सुदूरपश्चिम नपरेको भन्दै स्थानीयले आक्रोस व्यक्ति गरेका हुन्। देशभरीमा अहिलेसम्म सरकारी र निजी गरी २५ वटा मेडिकल कलेज छन् तर सुदूरपश्चिमबाट बालबालिका अरू प्रदेशमा गएर मेडिकल शिक्षाको अध्ययन गर्न बाध्य छन्।
मेडिकल कलेजका लागि तीन सय शय्याको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने भएपनि गेटाका अर्बौंका संरचनामा सय शय्याको अस्पताल मात्रै हुनुले पनि स्थानीय आन्दोलित भएका हुन्।
एप्रोन र प्लेकार्ड बोकेका स्थानीय युवाहरूले जिल्ला प्रशासन कार्यालयको गेटमा प्रदर्शन गरेपश्चात प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई ज्ञापन पनि बुझाएका छन्। गेटामा अहिले सय शय्याको अस्पताल सञ्चालनमा छ। स्थानीयले त्यसलाई पनि यसै वर्ष तीन सय शय्याको घोषणा हुने माग गरेका छन्।