नाबालिका २ छोरीको हत्या : आमाको मानसिक स्वास्थ्य सामान्य

नाबालिका २ छोरीको हत्या : आमाको मानसिक स्वास्थ्य सामान्य
छोरीको हत्यामा संलग्न अस्मिता र बनाउँदै गरेको नयाँ घर।
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरिएको घटनामा संलग्न आमालाई मानसिक स्वास्थ्य समस्या नरहेको पाइएको छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार २ नाबालिका छोरीको हत्यामा संलग्न २१ वर्षीया अस्मिता पौडेल (कार्की)को मानसिक स्वास्थ्य सामान्य रहेको छ।

मानसिक समस्याका कारण अस्मिताले अकल्पनीय र दर्दनाक घटना गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको थियो। तर, स्वास्थ्य परीक्षण गराउँदा उनलाई मानसिक समस्या नरहेको पत्ता लाग्यो। एसपी कार्कीका अनुसार विगतमा पनि मानसिक समस्याको औषधि सेवन गरेको देखिएन। अस्मिताको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोशी अस्पतालमा गराइएको थियो। परीक्षणका क्रममा अस्मितालाई मानसिक समस्या नरहेको पुष्टि भएको कार्कीले बताए। 

संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताको २०७५ साल फागुन ९ गते धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन कार्कीसँग प्रेम विवाह भएको थियो। त्यतिबेला १५ वर्षकी उनी कक्षा ९ मा पढ्दै थिइन्। अहिले ३१ वर्ष पुगेका अर्जुनसँग भागेर बालविवाह गरेकी अस्मिताबाट २ छोरी जन्मिए। 

छरछिमेकी र आफन्तका अनुसार बिहे गरेको ६ वर्ष भइसक्दा पनि अर्जुन र अस्मिताबीच राम्रो सम्बन्ध थियो। अस्मिताका माइती पक्षले पनि सम्बन्धमा खटपट भएको आफूहरुले नसुनेको बताएका छन्। पत्नी र २ नाबालिका छोरीसहित गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए। इटहरी–भोजपुर चल्ने ट्याक्सी किनेका छन्। त्यो आफैं चलाउँछन्। ट्याक्सी लिएर भोजपुर गएका उनी ३ दिनपछि भदौ १४ गते फर्किए। निर्माणाधीन घरमा पानी नलगाएको विषयमा पत्नीसँग साँझ वादविवाद भयो। 

त्यसलगत्तै छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता हिँडिन्। त्यसअघि पनि विवाद हुँदा छोरीहरु लिएर हिँड्ने र पछि फर्किएर आउने गरेको अर्जुनले प्रहरीलाई बताएका छन्। तर,त्यसदिन अबेरसम्म नफर्किएपछि छरछिमेकीको सहयोग लिएर अर्जुनले खोजी गर्न थाले।

पत्नी र छोरीहरुलाई फेला पार्न सकेनन्। भदौ १५ गते बिहानका राति ३ बजेतिर प्रहरी चौकी गछियामा पुगेर घटनाको जानकारी गराए। प्रहरीले पनि खोजीमा सहयोग गर्‍यो। आमाले लिएर गएका तिनै अवोध नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ को केराघारीमा मत फेला परे। घटनास्थलमा पुगेर अर्जुनले आफ्नै छोरीहरु हुन् भनी सनाखत गरिदिए। तर, अस्मिता भने फेला भेटिइनन्। 

झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला गत बुधबार बिहान प्रहरीले फेला पारेको थियो। शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले सोधपुछ गर्दा विष खुवाएर २ नाबालिका छोरीहरुको हत्या उनले स्वीकार गरेकी छन्।

प्रहरीले पनि विष खुवाएर कलिला नानीहरुको हत्या आमा अस्मिताले नै गरेको निष्कर्ष निकालेको छ। नानीहरु लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको बताउँदै अस्मिताले भनिन्, ‘पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडे। विष पनि लगेकी थिएँ। छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन। सुरुमा मैले खाएँ। छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ। उनीहरु मरे। तर, म चैं मरिन।’

लामो समयदेखि पतिले तनाव दिँदै आएकाले आफू पनि मर्ने र छोरीहरुलाई समेत मार्ने योजना अनुरुप घटना गराएको उनको जिकिर थियो। अस्मिताले आफ्नै सन्तानमाथि यत्रो कुकर्म किन गरिन् भनेर सर्वत्र चासो र चिन्ता बढ्यो। अर्को कुरा स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको भनेर यकिन हुन नसकेको एसपी कार्कीले बताए। ‘कसैले विष सेवन गर्दा त्यसको असर ७२ घण्टा (३ दिन)भित्रमा देखिँदो रहेछ। तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो,’ उनले भने, ‘अस्पतालमा परीक्षण गराउँदा विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन। थोरै सेवन गरेकाले पनि शरीरमा असर नपरेको हुनसक्छ।’ 

स्वास्थ्य परीक्षणबाट यकिन हुन नसकेपछि विष सेवनका विषयमा अस्मिताकै बयानमा भर पर्नुपर्ने अवस्था आएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ। एसपी कार्कीले विस्तृत अनुसन्धानबाट थप विषय पत्ता लाग्ने बताए। उनका अनुसार पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो। 

त्यही आधारमा अस्मिताले नाबालिका छोरीहरुलाई विष खुवाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। दुवै शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। यद्यपि, पोस्टमार्टम रिपोर्ट प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। विषका कारण नाबालिकाहरुको ज्यान गएको हो कि हैन भनेर रिपोर्टबाट मात्रै प्रष्ट हुने कार्कीले बताए। 

‘आमाको मानसिक अवस्था ठीक रहेछ। स्वास्थ्य परीक्षण गराउँदा मानसिक समस्या देखिन। आमाले विष सेवन गरेको वा नगरेको भनेर यकिन भएन,’ उनले भने, ‘कल्पना नै गर्न नसकिने र सुन्दै शरीर सिरिङ्ग हुने घटना आमाबाट कसरी सम्भव भयो भनेर खोजी गर्दै छौं। अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान भइरहेको छ। यो घटना पति–पत्नी बीचको विवादसँग जोडिएको देखिन्छ।’ 

अस्मिताका मामा उत्तरकुमार खड्काले घटनापछि परिवार र आफन्त शोकमा डुबेको बताए। ‘यो घटनापछि केही सोच्नै सकिरहेका छैनौं। कसरी यस्तो हुन पुग्ने भनेर अचम्ममा परेका छौं। भान्जीले यस्तो अपराध गर्लिन् भन्ने कल्पनासमेत थिएन। सबै तनावमा छौं। सहनलाई गाह्रो परिरहेको छ। परिवार र आफन्तमा बज्रपात परेको छ,’ उनले भने।

उत्तरकुमार माइती आउँदा पनि ज्वाईंले नराम्रो गरेको र ‘टर्चर’ दिएको कुरा भान्जीले नसुनाएको बताउँछन्। ‘ज्वाईंले नराम्रो नै गर्ने भए त माइतीमा सुनाउनुपर्ने हो। दुवै जना मिलेर राम्रैसँग गरिखाँदै गरेको सुनेको थिएँ,’ उनी भन्छन्, ‘छरछिमेकीले पनि सम्बन्ध राम्रै रहेको सुनाउँछन्। भान्जीमा यसअघि मानसिक समस्या पनि थिएन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.