सबै समुदायको योगदानकै कारण संविधानमा अधिकार सुनिश्चित भएको छ : दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
शनिबार ललितपुरको खोकनामा आयोजित मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताए।
नेवाःलगायत सबै समुदायको योगदानकै कारण संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेको र अहिले कार्यान्वयनको चरणमा रहेको उनले बताए।
प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जिकिर गरे। अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको उनले बताए।
अध्यक्ष प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्द्धन गर्नुपर्ने बताए। उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्द्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उनले बताए।