इलामलाई सम्झें पहाडकी रानी. . .

इलामलाई सम्झें पहाडकी रानी. . .
फाइल तस्बिर।

थोरै पाए धेरै मान्ने मेरो निजी बानी,

इलामलाई मैले सम्झें पहाडकी रानी।
कुट्टी डाँडा हुँदै माथि फिक्कल डाडा आएँ,
चिया बगान चारैतिर देख्ने मौका पाए।।

वरिपरि बजार, बीचमा ठूलो पटांगिनी। हनुमानढोकाभित्रको न्यासल चोक जस्तो। इलाम सदरमुकाम इलाम पुगेको दोस्रो दिन। स्थानीय साहित्यकार, कलाकारसँग दुई भाइको भेटघाट पनि चलिरहेछ। झापाबाट उकालो लागेपछि इलामको हरियाली सौन्दर्यले बिछट्टैको मोहनी लगाइरहेछ। सदरमुकाम पुग्नुअघि नै चिया बगानका दृश्यले आँखालाई वि श्राम गर्ने मौका मिलेन। इलामको सुन्दरता जस्तै इलामका कयौं सर्जकसँगको मेरो परिचय पनि सुन्दर ढंगले फैलिएको सम्झिरहेको छु। साहित्यिक, राजनीतिक, सांस्कृतिक विविध विधाका व्यक्तित्वसँग यो पंक्तिकारको उत्तिकै न्यानो माया गाँसिएको हुँदा इलामको धर्तीमा पाइला टेक्दा ती सबै अनुहारको दृश्यावलोकन मनमनै गरें। विस्तारै बोल्ने, समय सान्दर्भिक शब्द चयन गर्ने जनताका गायक जेबी टुहुरे दाइले मेरा भावुकता एउटै सवारमा हुँदा नबुझ्ने कुरै भएन।

झापाबाट हामी चढेको गाडी उकालो लागेपछि मन रोमाञ्चित भैरहेको थियो। सुदूरपश्चिमको देउडा संस्कृतिको अभियन्ता तथा गायकलाई इलाम जस्तो मुटुको आकार दिएको पवित्र भूमिमा पाइँला टेक्न पाउनुलाई अवसरको रूपमा लिएको छु। इलामबारे धेरै पढेको छु, सुनेको छु। इलामका साथीहरूसँग संगत पनि गरेको छु। फरासिला र उज्याला इलामका साथीसँग वातचित गर्दाको मज्जा नै बेग्लै छ। रेडियो नेपालमा २०३४ सालदेखि देउडागीत गाउँदै आएका र पछि म्युजिक नेपालमा गीति क्यासेट उत्पादनका लागि सयौं थरी देउडा गीत रेकर्ड गर्दा संगीतकार स्व. मदन दीपबिम र गायिका कविता आले गीतकार बुद्धवीर लामाले सुदूरपश्चिमबारे यी गीत भविष्यमा पाठ्यपुस्तक झैं बन्न सक्छन् भनेको भुलेको छैन। यसैगरी, झर्रोखालको देउडागीत रेडियो नेपालमा त्यसबेला रेकर्ड गर्दा गायक सूर्य थुलुङ र कुबेर राईले जिन्दगीमा यस्ता किसिमका गीत सुन्न पाउनु भाग्यको कुरा हो भन्नु भएको थियो।

माईपोखरी गजुरमुखी माइबेनी मेला
म सम्झने छु इलामलाई धर्म गर्ने बेला।
महानन्द सापकोटा र ज्ञानदिलदास पनि
फाल्गुनन्द उदाएथ्यो कुम्भकर्ण मुनि।।

इलामको सार्वजनिक चोकमा दर्शकको उपस्थितिले रोमाञ्चित बन्यौं। इलाम पुगेको रातिदेखि गीति कार्यक्रमका लागि प्रबुद्धवर्गदेखि युवावर्गले माग राखेअनुसार हामी हौसियौं। केही दिनपहिले धनकुटामा आयोजना गरेको जस्तो एतिहासिक कार्यक्रम सफल हुन नसके सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृतिको नूर गिर्ने पो हो कि ? मनमा दुविधाले जरा गाड्यो। धनकुटाका श्रोताभन्दा कम छैनन् इलामका संगीतप्रेमी दर्शक र श्रोता भनी जानकारी दिँदै थिए जेबी दाइ। हुन पनि गणेश रसिक, कोमल निरौला, कुबेर राई, कैनी निरौला, यम बराल आदिजस्ता उम्दा कलाकारको संगीतले सिञ्चित भूमि हो, इलाम।

प्रकृतिका धेरै विशेष गुण यस धर्तीका सर्जकमा मिल्दाजुल्दा पाइन्छन्। ताना शर्माको बेलायततिर बरालिँदा कृति पढ्दाखेरिका ज्ञानवद्र्धक कुरा र वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको नेपाल टेलिभिजनमा समाचार पढ्ने शैली र विश्व–घटनालाई सटिक तवरले पस्कने खुबीले इलाम वास्तवमा इलाम नै हो भन्ने सकारात्मक सोचले मेरो देउडा दिमागलाई छोडेन। लोकतन्त्रका जेठा अभिभावक केबी गुरुङदेखि लोकतन्त्रका सेनानी झलनाथ खनाल, सुवासचन्द्र नेम्बाङले दीक्षा पाएको इलाममा देउडा संस्कृति थोरै समयमा पनि जनसमक्ष ल्याउनु मेरो परम कर्तव्य नै थियो।

युद्धप्रसाद वैद्यका साहित्यिक सिर्जनाले इलामका गरिमा बढाएको रहेछ। इलामको माटोसँग संगीत र गीतको गहिरो जरा मिसिएकाले यहाँका प्रत्येक घर र बस्तीहरूमा सा रे ग म को शास्त्रीय र लोकधुन हरपल गुञ्जित भइरहेको आभास हुन्छ। मनमा संगीत, तनमा संगीत र इलाममा हरेक चियाबारी र गोरेटोमा संगीतको ध्वनि बाह्रैकाल, बाह्रैमहिना सुनिरहने हुँदा सायद बादलु र कुहिरोका टुक्राहरू इलाम भूमिलाई चुमिरहन्छन्। यी सबै कुरालाई बुझ्दै हामी दुई सिँगारिएको मञ्चमा सँगसँगै उक्लियौं। मानौं, काठमाडौंको टुँडिखेलका दर्शक झैं बोइरिए इलाम सदरमुकाममा।

षअकबरे खुर्सानी अनि अलैंची अदुवा
अम्लिसो, ओलन, आलु, खोज्दैछन् बटुवा।
चिया फ्याक्ट्री क्याम्पस पनि एउटै आँगनीमा
हजुरको दर्शन पाएँ आजै बिहानीमा।।

इलामको भूगोललाई देउडा गीतमा उतारी गाउँदै जाँदा दर्शकको सांगीतिक मनले स्वीकारेछ। एकपछि अर्कोगरी पाँच वटा गीत गाउँदै जाँदा मौसमले पनि मन पराएर होला पानी पर्न छाड्यो। घरको बार्दलीबाट उमेर पुगेका आमाबाबा र छोर्‍याट्टीहरू (केटीहरू) आँखा तानीतानी मञ्चतिर हेर्न लागे। संगीतका पाका स्रष्टा कोमल निरौलाले कार्यक्रम सञ्चालन गरिरहँदा गीतका शब्दहरू सरल तरिकाले अटाउने गर्थे। चर्चित गायक डेनी निरौला र गायिका झुमा निरौलाका पिता कोमल संगीत र गायन बुझेका इमान्दार स्रष्टा भएका कारण इलामको सौन्दर्यको वर्णनको वान्की उनका शब्द शब्दमा गुञ्जिन्थ्यो।

बसाइँ हिँड्नेको तातीले, मान्छेपिच्छे मृत्यु पनि फरक हुँदोरहेछ, छोराहरू हो छोरीहरू हो, आमादिदीबहिनी हो जस्ता अमर गीतहरू जेबी दाइले सरल तरिकाले जनसमक्ष पुर्‍याउनुभयो। जेबी दाइको गीतमा नेपालका धेरैजसो जातजातिको संघर्षको इतिहास लुकेको पाइन्छ। पीडा, करुणा र अन्त्यमा मृत्युसम्मका शब्दले मुटु झस्काइदिन्छ। यसको अनुभूति आन्दोलनका धेरै कार्यक्रमका साथै इलाममा पनि देख्न पाएँ। अन्तमा टुहुरे दाइले आमा, दिदी, बहिनी हो बोलको गीत नगाएर सुख पाउनु भएन। साँझ पर्दै थियो, ६१ वर्षको उमेरमा पनि तन्नेरी जोस देखाएर गाउँदा मानिसमात्र होइन, इलामको आँगनी नै फनफनी नाचेजस्तो अनुभूति भयो। कति सद्भाव रहेछ जनताका गायकप्रति श्रोताको। अझ पूर्वाञ्चलका श्रोताले उहाँलाई गरेको हृदयदेखिको माया तराजुमा तौलन सकिँदैन।

कार्यक्रमको अन्त्यमा हामी सबैले जानीनजानी दयौडा खेल नि खेल्यौं। वास्तवमा डेढी कदममा खेलिने खेल नै हो, डयौणा (देउडा)। सुदूरपश्चिमको देउडा खेल सुदूरपूर्वी जिल्ला इलाममा पुर्‍याएर फर्कंदा समावेशी संस्कृतिको थोरै भए पनि सेवा गरेको अनुभूति गरें।

मानिसको मुटु जस्तो प्यारो इलाम जिल्ला
चियामात्र होइन हजुर पाँच ‘अ’ नै मिल्ला।
आकाशको बादलुले चुम्छ इलामलाई
चोरी चोरी माया गर्नु हुन्न मेरा भाइ।।

आँखाले भ्याएसम्म इलामका हरेक चियाबारी हेर्‍यौं। पूर्वको अन्तु डाँडा पुग्ने रहर असफल भयो। छिनभरमै घाम लाग्ने, बादल लाग्नेबित्तिकै सिमसिम पानी बर्सिने इलामको मौलिक गुण रहेछ। स्वदेशी तथा विदेशी पर्यटक घोडसवार भएको देखिन्थ्यो। इलामको सौन्दर्यको सम्झना मुटुभरि जतनले राखेर भोलिपल्ट झापातिरको ओरालो झर्यौं। कुम्भकर्ण हिमाल र साइपाल हिमालबीच ढंगिलो पाराले ब्राह्मणको स्वस्तिवाचन सुनाउँदै कहिल्यै नटुट्ने अजम्बरी मीत लाउन मन लागेको छ। अनि ‘के मेरो देश सानो छ ?’ भनी महाकविले भन्नु भएजस्तै केही मुलुकलाई प्रत्यक्ष रूपमा सोध्न मन लागेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.