नबोलिकनै गोर्खा चिनाउने नेत्रबहादुर
गोरखा सदरमुकामका सबै युवा उनलाई ‘लाटा दाइ’को नामले पुकार्छन्। त्यसो त अरूले जेसुकै भनुन् उनलाई केही फरक पर्दैन। उनले न यो शब्द भनेको सुन्छन्, न बाठा भनेको। उनले बुझ्ने भनेको इशारा नै हो अर्थात सांकेतिक भाषा। मुखले बोल्न नसके पनि मनका भने निकै बाठा छन् उनी। २००७ सालमा जन्मेका उनको खास नाम चाहिँ नेत्रबहादुर श्रेष्ठ हो। तर चिन्नेहरू उनलाई उनको असली नामले भन्दा यो नामले चिन्छन्।
गोरखा सदरमुकामको पुरानो बजारमा अवस्थित गोरखा संग्रहालयदेखि ५० मिटरको दूरीमा छ, उनको पुख्र्यौली घर। उनले आफ्नै पौरखले पालेका छन् पाँच जनाको परिवार र ठड्याएका छन् तीनतले ढलान घर। त्यसै घरको भुइँतलामा छ उनको नेत्र हस्तकला पसल। गोरखा संग्रहालय गेटैमा पनि छ उनको कला सामग्रीहरू बेच्ने अर्काे पसल। शारीरिक रूपमा फरक भएर के भो मेहनत र पौरखले सबै बाठाहरूलाई चुनौती दिइरहेका छन् उनी। तैपनि कहिलेकाहीँ समाजले यस्ता मानिसलाई गर्ने व्यवहारले भने निकै दुख्दो रहेछ उनको मन।
‘म बोल्न र सुन्न सक्दिनँ। देख्न र काम गर्न मात्र सक्छु। मेरो बारेमा कसले के भन्छन् मलाई केही थाहा छैन। कसले सम्मान गर्छन् र कसले अपमान ! केही थाहा छैन। को शत्रु को मित्र केही थाहा नहुनुभन्दा ठूलो पीडा के हुन्छ संसारमा ? हामीहरूको सबैभन्दा ठूलो दु:ख भनेकै यही हो। कतिपय ठाउँमा त आफूलाई हेपिएको महसुस पनि हुन्छ तर गर्न के नै पो सकिन्छ र !’ उनले मसँग कागजमा लेखेर मन दुखाए।
नेत्र दाइ र मेरो घर नजिकै छ। अझ उनको र मेरो विशेष सम्बन्ध छ। उनको बुवा र मेरो बुवा एकै दिन जन्मेकाले बाजेहरूले मीत लगाइदिएका रे ! त्यसैले बच्चैदेखि उनको घरलाई मीत बाको घर भनी दसंैमा टीका लगाउँदै आएको घर। त्यतिबेला निकै महत्त्व थियो मीत साइनोको। निकै घनिष्टता हुन्थ्यो मीतको नातामा। मीत नाता नै हराउँदै गएको यो समयमा मीतको बारेमा के कुरा गर्नु !
हामी सानो हँुदा दाइमा यस्तो कला देखिएको थिएन तर चालिसको दशकमा आएर मात्र उनले पेन्टिङको काम गर्न थालेका हुन्। सुरुसुरुमा हेरौं न त कस्तो हुन्छ भनेर सुरु गरेका हुन् उनले। त्यतिबेला पेन्टिङको कुनै बजार थिएन। तर पेन्टिङ गर्दै जाँदा जब उनका पेन्टिङहरूले विभिन्न महोत्सव र प्रतियोगितामा प्रथम, द्वितीय भएर पुरस्कार तथा प्रमाणपत्रहरू पाउन थाल्यो तब उनमा पेन्टिङप्रतिको मोह बढेर गयो। उनी पेन्टिङमा रमाउँदै गए। अन्तत: समयक्रममा यही पेन्टिङ उनको पेसा बन्न पुग्यो। उनका पेन्टिङहरूलाई गोरखादेखि पोखरासम्मको बजारमा प्रतिस्पर्धा गराउने काममा सहयोगी बनेर उभिइन् उनकै कान्छी बहिनी निर्मला श्रेष्ठ। उनले थाहा पाएसम्मको प्रतियोगितामा उनै दाइको कला पुर्याउने चाजोपाँजो मिलाइन्। सहभागी भएका सबैजसो प्रतियोगिताबाट खाली हात फर्कनु परेन। यस्ता प्रतियोगिताहरूले उनलाई हौसला प्राप्त भयो।
चित्रकलाको काम गर्दागर्दै पचासको दशकमा आएर उनले गहुँको छालीलाई विभिन्न रंगले रंगाएर चित्र बनाउन थाले। उनको यस छाली कला थोरै समयमा नै निकै लोकप्रिय बन्न पुग्यो र अन्तत: गोरखाकै एउटा परिचय बन्न पुग्यो। सबैले मन पराएकै कारण गोरखाका विभिन्न सरकारी कार्यालयहरूले समेत अतिथिहरूलाई उपहार दिन उनका पेन्टिङहरू मगाउन थाले। गोरखामा भ्रमण गर्न आउने पर्यटकहरूको रोजाइको सामान बन्न पुग्यो उनको कला। जसका माध्यमले उनको कला नेपाल र नेपाल बाहिरसमेत पुग्न थाल्यो। उनको ख्याति चुलिँदै गयो।
रंगको पेन्टिङभन्दा छाली कला अलि फरक र नवीन देखिने तथा बिक्री पनि बढी हुने भएपछि यसले उनको पेसालाई उचाइमा पुर्यायो। यही पेसाको दममा बिहे गरे। बाठालाई त केटी पाउन हम्मे परिरहेको अवस्थामा नेत्रलाई छोरी कसले दिने। तर उनको सीपकै कारण उनले चाहे जस्तै जीवनसंगिनी भेटे। उनीमा भएको आवाज बनिन् श्रीमती। दुई छोरी र एक छोराका पिता पनि बने। छोराछोरीहरूलाई राम्रो शिक्षादीक्षा दिएर राम्रो बासको पनि बन्दोबस्त गरे।
छालीबाट बनेको गोरखा दरबार, मनकामना मन्दिर, पृथ्वीनारायण शाह र बुद्ध भगवान्का चित्रहरू उनको चर्चित र अत्यधिक बिक्री हुने चित्रहरू हुन्। यही कलाका कारण गोरखामा छाली चित्रकलाको सुरुआत गर्ने प्रथम व्यक्ति बन्ने सौभाग्य पनि उनैले पाए। तर छाली आर्ट अनौठो भए पनि यसको लागि लाग्ने समयअनुसारको मुल्य नपाएको गुनासो चाहिँ गर्छन् उनी। तर जति गुनासाहरूको चाङ भए पनि यतिखेर आफ्नो पेसाबाट सन्तुष्ट छन् उनी।
‘अहिले १० वर्ष पहिलेको जस्तो व्यापार छैन। पहिले पहिले दिन रात काम गर्दा पनि माग पुर्याउन गाह्रो थियो। विदेशीहरूले पनि मन पराएर किन्थे। तर पहिलेको दाँजोमा अहिले बाहिरबाट मान्छेहरू निकै कम आउँछन्’, इशाराले बताउँछन् उनी। गोरखामा पर्यटकहरू भित्र्याउन नसक्नुमा स्थानीयवासी र स्थानीय सरकार दुवैको कमजोरी देख्छन् उनी। उनी जन्मेको दुई वर्ष पुग्दा पनि बोली नफुटेपछि उनका आमाबुवाले उनको आवाजको लागि भेटे जति औषधिमुलो गरे, मीझाँक्री लाए, देवीदेवता सबै भाके, बक्रेश्वरी मन्दिरमा पुर्याएर भाकल पनि गरे तर उनको बोली फुटेन।
आफ्नो वर्कतले भ्याएसम्मको गरिसकेपछि मात्र उनका बाबुआमाले नियतिको खेलालाई स्वीकारे। स्कुल जाने बेलासम्म पुग्दा नपुग्दै उनको फरक परिचय बन्न पुग्यो। त्यो बेलामा एउटा छोरा त्यो पनि यस्तो जन्मनुको पीडाको के हिसाब। अनि उनी आफैंले व्यहोरेको समाजको व्यवहारको झन् के कुरा ? उनलाई बाल्यकालका बारेमा सोध्दा उनी निकै भावुक हुन्छन्। सुरुका दिनमा स्कुल जाँदा आफूले जवाफ दिन नसकेका कुराहरूको सम्झना गर्दै गम्भीर बन्छन्। यस्तो अवस्थामा भएर जन्मनु आफ्नो दोष नभएकाले आफूलाई कुनै दु:ख नभएको तर बोल्न नसक्ने भनेर आफन्त र छिमेकीले हेप्दा भने कयौं पटक उनको आँखाबाट आँसु झथ्र्यो अरे। आमाबाबुको लागि बोझ बन्ने भए भनेर एक्लै दु:खी हुन्थ्यो अरे।
बोल्न नसकेकै कारणले अरूले गरेको काम गर्न नपाउँदा उसको मन रुन्थ्यो अरे। अझ बुझ्ने र पढेका मान्छेहरूले पनि खिज्याउँदा त झन् हुनसम्मको पीडा हुन्थ्यो अरे। तर जीवनका यी सबै आरोह अवरोहहरूलाई सजिलै पचाइदिए उनले र बोल्नै नपर्ने पेसालाई अँगालेर सबैलाई देखाइदिए। काम गरेर खानलाई बोल्नै पर्छ भन्ने छैन भन्ने कुरा प्रमाणित गरेर देखाइदिए। आज दाइको अवस्था देशका हजारौं आवाजविहीनहरूका लागि एउटा उदाहरण हो भन्दा अन्यथा नहोला।
‘कतिपय देशहरूमा हामी जस्ता बहिरा र अपांगता भएकाहरूले सिर्जेका कलाकृतिहरूलाई राज्यले महत्त्व दिएर देश विदेशमा बिक्री प्रबन्ध मिलाएको समाचारहरू सुन्छु। सरकारले प्रोत्साहनस्वरूप भत्ता पुरस्कारहरू दिएको पनि सुन्छु। तर यहाँ त्यस्तो पाइन्न। नेपालमा हस्तकलाले श्रमअनुसारको मूल्य पाएकै छैन। यस्ता घरेलु कलाहरूलाई देश विदेशमा प्रचारप्रसार गर्न सकिएको छैन। यस्ता कलाले नेपाललाई विश्वमा चिनाउन सकिन्छ। युवाहरूलाई यससम्बन्धी तालिम दिएर रोजगारी सिर्जना गर्न सकिन्छ। यतातिर सरकारको ध्यान जान जरुरी छ’, सरकारसँगको दु:खेसो पोख्छन् उनी। यस्ता हस्तकलाको बिक्री तथा प्रवद्र्धनको लागि हालसम्म केन्द्र तथा स्थानीय सरकार कतैबाट पनि केही सहयोग नभएको दु:खेसो पनि गर्छन्।
दु:ख मात्र होइन, यो पेसाले उनलाई खुसी पनि दिएको छ। आफ्ना पुराना साथीहरू खोजीखोजी आफूलाई भेट्न आउँदा र आफ्नो पेन्टिङ अरूको घरको भित्तामा झुन्डिएको देख्दा बिछट्टै खुसी लाग्दोरहेछ उनलाई। आफ्नो अवस्थाले सबै काम गर्न नसक्ने, धेरै लेखपढ पनि नभएकाले यसैमा आफूू रमाइरहेको र यसैले आफ्नो नाम चिनाएकाले जीवनभर यसै पेसामा नयाँ नयाँ सिर्जनाहरू गरी बिताउने चाहना रहेको कुरा पनि बताउँछन्। उनको कुरो मलाई पनि चित्त बुझ्यो। फट्यार्इं र दुष्ट्यार्इंको जगजगी भएको समयमा बोल्न सक्ने सोझासिधाको त दुर्दशा भएको छ भने उनी त झन् बोल्नै नसक्ने आवाजविहीन।
कहिलेकाहीँ आफले यति कठिन मेहनत गरेर बनाएको कलालाई मान्छेहरूले दुईचार पैसामा तौलेर अवमूल्यन गर्दा उसलाई साह्रै चित्त दुख्दोूरहेछ। अझ एकजना जानेमानेका व्यक्तिले चित्र लिएर गई धेरै दिनसम्म पैसा दिन कनकन गरेको घटनाले त उनको मन निकै रोएको दु:खेसो पनि गर्छन्। बोल्न नसकेकै कारण समाज, आफन्त, साथीभाइहरूले हेपेका घटनाहरूको लामै लिस्ट छन् उनीसँग। तर ती सबै दिनलाई बिर्सेर अहिले उनी सफल चित्रकारको रूपमा चिनिएका छन्।
कसैलाई गोरखाको कुनै उपहार दिन पर्यो कि झट्ट सम्झिने नाम भएको छ, नेत्र दाइ। गोरखालाई चिनाउने कला खोज्न आउनेहरूका लागि आउने ठाउँ भएको छ दाइ। कुनै कार्यक्रमहरूमा ऐतिहासिक गरगहना र हातहतियारको नमुना बनाउनु पर्यो भने धाउने ठाउँ भएको छ उनको ठाउँ। गोरखाली हस्तकलाको पर्याय भएको छ उनको नाम। बोल्न नसक्ने भए पनि कलाले बाठा भएका छन् दाइ। उनको कलामा कतै देखिँदैन उनको समस्या। मलाई चाहि बोलेरै देश लुट्ने बाठा भनाउँदाहरू भन्दा आफ्नै कला र सिर्जनाले संसारको मन लुट्ने यिनै दाइ नै मनपर्छ। जय नेत्रबहादुर !