भ्रष्टाचारका अनेक रूप : ‘भिक्षाम् देहि’

भ्रष्टाचारका अनेक रूप : ‘भिक्षाम् देहि’
सुन्नुहोस्

काठमाडौं : बचाऊ... ! मलाई बचाऊ ! म गरिब यो देशको। ...ममथि पहाड थुप्रिएको छ। पहाड... अन्यायको पहाड... अत्याचारको पहाड। बचाऊ..., मलाई बचाऊ !! म युगदेखि थिचिएको छु...। न मर्न सक्छु, ...न बाँच्न सक्छु। म पिल्सिएको छु भ्रष्टाचारका नंग्राले। म मर्दै छु भोकले, प्यासले। यो भ्रष्टाचारको दलदलबाट मलाई निकाल। मलाई निकाल यो गरिबीको दलदलबाट। यसरी कतिदिन बाँचिरहनू? बरु मलाई मार... मार... मार !!! तर यसरी नतड्पाऊ। म मर्न चाहन्छु।

खाली खुट्टा। फाटेका लुगा। फाटेको टोपी। चरम गरिबले चरम पीडा खेपिरहेको एउटा नागरिक अर्थात् भुइँमान्छे। जसलाई चारजना काला पोसाकका चरित्रहरू चारैतिरबाट लठ्ठीले थिच्न खोज्छन्। ती लठ्ठीहरू उसको टाउकोमा छन्। गरिब ऊ ती लठ्ठीहरू हातले समाएर फाल्न खोज्छ तर सक्दैन।

दृष्य परिवर्तन हुन्छ जहाँ एउटा पुरुष देखा पर्छ, जोड जोडले हाँस्छ र भन्छ– ए... गरिब ! तँ मरिस् भने कसलाई देखाएर अनुदान माग्ने हामीले? तँ छस् र पो हाम्रो सत्ता छ। तँ छस् र पो हाम्रो अस्तित्व छ। तँ गरिब अझै गरीब हुनुपर्छ। तँ जति थिचिन्छस्, त्यति अनुदान आउँछ। नत्र त अनुदानको खोला सुकिहाल्छ नि ! तेरो फाटेको यो कमेज, यो फाटेको सुरुवाल र यो फाटेको टोपी नै त हो हाम्रो स्रोत हो। यो छ र त अनुदानको बाढी छ। तेरो फाटेको टोपी भएन भने कहाँ आउँछ अनुदान !! गरिब छ र त अनुदान छ।

झट्ट हेर्दा भद्र लाग्ने भुइँमान्छे ऊ गरिबको टोपी हातमा लिँदै आकाशतिर हेर्छ। गरिबलाई लतार्दै तान्छ र गरिबलाई देखाउँदै ऊ अनुदान माग्छ– भिक्षाम् देहि... ! ए, अन्तर्राष्ट्रिय जगत् ! ए, अन्तर्राष्ट्रिय समुदाय ! ए, अन्तर्राष्ट्रिय अन्नदाता ! अनुदान देऊ। भिक्षा देऊ। भिक्षाम् देहि ! भिक्षाम् देहि !! भिक्षाम् देहि !!! दृश्यमा स्पष्ट देखिन्छ गरिब जो थाकेर लखतरान छ अनि मानौं त्यो नेता पुरुष कुनै लासलाई लतार्दैछ।

यो दृश्य अशेष मल्लले लेखेको नाटक ‘भिक्षाम् देहि’को हो जुन बुधबारदेखि काठमाडौंको सर्वनाम थिएटरमा एक साताका लागि प्रदर्शन भइरहेछ। तर यो दृश्य नाटकमा सीमित विषय होइन, नेपालका लाखौं नागरिकले वास्तवमै भोगेको अवस्था हो। सम्भवतः मुलुकभित्रै प्राकृतिक मञ्चन भएकै दृश्यलाई उनले कृत्रिम दृश्यमा उतारेको हुनुपर्छ। नाटकमा त्यसरी आएको अनुदान सर्वप्रथम केन्द्र सरकारले आफूलाई चाहिएजति राख्छ, बचेको प्रदेश सरकारहरूलाई दिन्छ। प्रदेश सरकारहरूले आफूलाई राख्छन् र पालिका सरकारहरूलाई प्रदान गर्छन्। तिनले पनि त्यसै गर्छन् र बचेखुचेको रकम वडामा पठाउँछन् जहाँ पुग्दा त्यो अनुदान बिचरो बनिसक्छ। जसको नाममा आएको अनुदान हो ती गरिब पात्रहरूले त त्यसको गन्धसम्म सुँघ्न पाउँदैनन्।

यो नाटकमा न पर्दा खुल्छ न बन्द हुन्छ। विषय अनुसार स्वतः अर्को दृश्य हेर्न पाउँछन् मञ्चमा दर्शकले। अर्को दृष्यमा केही दलका नेता देखा पर्छन् र आआफ्नो पार्टीको बखान गर्दै अर्को पार्टीलाई सकेसम्मको गाली गर्छन् र जनतालाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छन्। जनता पनि सबै पार्टीका बारेमा तिनका नेताबाट कुरा सुन्छन्। जब गालीले सीमा नाँघ्छ, तब ‘अति’ भएको ठानेर जनता एक भएर ती नेतालाई ‘चुप लाग’ भनेर थर्काउँछन्। हात हालाहाल गरेर ज्यानै लिन तम्तयार ती नेता जब केन्द्रबाट बजेट आउँछ तब ‘बजेट !’ ‘बजेट !!’ भन्दै झगडा छोडेर ‘एक’ हुन्छन्। 

अरू बेला मारकाट गर्ने नेतामा बजेट आएपछि देखिएको परिवर्तनले दर्शकलाई समेत सोच्न बाध्य बनाउँछ। अर्को गम्भीर विषय छ, नेता कुर्सीका लागि के मात्र गर्छन् भन्ने।

नेपाल कृषिप्रधान देश हो। उसबेलादेखि भन्दै आएको यो वाक्य अझै व्यावहारिक बनाउन सरकारहरूले सकेका छैनन्। दसकौं बित्दा पनि कृषकले ‘न्याय’ पाएका छैनन्। ‘भिक्षाम् देहि’मा पनि एउटा कृषक सरकारले दिने सुविधा लिन दुई महिनाअघि पुगेको हुन्छ। सबै प्रक्रिया पु¥याए पनि सोझो कृषकले ‘घूस’ नखुवाएपछि हाकिमले दुई महिनापछि आउनू भनेर पठाएको हुन्छ। पियनमार्फत् घुस खुवाउनुपर्ने परिस्थिति बनेपछि ऊ झस्किन्छ। कर्मनिष्ठ प्रहरी कसरी जुम्ला सरुवा हुन्छ, गोल्ड मेडालिस्टले जागिर खान के के गर्नुपर्छ आदिजस्ता अनेक विषयलाई समेटेर सर्वनाम प्रशिक्षार्थी समूहको २०औं ब्याचले निर्देशन र अभिनय गरेको हो यो नाटक।

नाटकमा सञ्जय तिमिल्सिना, सञ्जय शाही, अभिशेक फुयाल, अप्सना चौलागाईं, अजय पन्त, सौगात त्रिपाठी, प्रतिष्ठा अधिकारी, रञ्जित बस्नेत, असोक बन्जारा र आशिष चम्लागाईंले अभिनय गरेका छन्। ‘यो नाटक हामी बाँचिरहेको समाजको प्रतिबिम्ब हो। समाज र राज्यका विकृत मनस्थिति अनि तिनका कुरूप व्यवहारका लागि चेतावनी हो र बौद्धिक मन्थन हो’, सर्वनाम थिएटरकी व्यवस्थापन निर्देशक डा. सावित्री कक्षपतिले भनिन्, ‘नाटकमा नयाँपन ध्यानाभिनय छ जसको निष्कर्ष छ– भावको प्रकटीकरण।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.