दुई महिनादेखि अवरुद्ध मुस्ताङ-डोल्पा सडक खोल्न सुरु
जोमसोम : बाढीपहिरो र नदी कटानले दुई महिनादेखि अवरुद्ध भएको मुस्ताङ-डोल्पा सडक खोल्न पहल सुरू भएको छ । वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा डिभिजन सडक कार्यालय बाग्लुङ अन्तर्गत मुस्ताङ-डोल्पा अवरुद्ध सडक खोल्न पहल सुरू भएको हो ।
दुई महिनाअघि असारको दोस्रो हप्ता सीमावर्ती गाउँ साङ्तादेखि करिब ५ सय मिटर पश्चिमको ढोन्डोकलुम्ब ठाडो खोलामा आएको बाढीपहिरो र नदी कटानले करिब ५ सय मिटर सडक ध्वस्त बनेको थियो । बाढीले सडक खोतल्दै करिब ५ मिटर गहिराइमा गल्छी बनेको थियो ।
वारागुङ-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले दुई महिनादेखि अवरुद्ध बनेको सडक खोल्न बिहीबारदेखि उपकरण प्रयोग भएको बताए । वडाध्यक्ष गुरुङले तत्कालका लागि बाढीले अवरुद्ध ढोन्डोकलुम्ब खोलाको सडकमा ढुंगा र गेग्रान माटो फिलिङ गरेर सडक पुनट्ठ सञ्चालनमा ल्याएको बताए ।
‘बाढीले क्षतिग्रस्त सडक मर्मत भएको छ,अब साङ्ता गाउँदेखि डोल्पातर्फको सुकसम्बसम्म मोटर पुग्ने भएको छ,’वडाध्यक्ष गुरुङले भने,'त्यहाँबाट मुस्ताङ-डोल्पा सीमानासम्म पुग्न सुकसम्बमा पुल बनेको छैन, पुल बनेको भए सिधै सिमानासम्म पुग्न सकिन्थ्यो ।’
वडाध्यक्ष गुरुङले हिउँदमा सुकसम्ब खोलाको सतह घटेपछि मात्रै सीमावर्ती याकखर्कसम्म मोटर लैजान सकिने उल्लेख गरे । अहिले त्यहाँ पुल नहुँदा सुकसम्बबाट पैदल हिँडेर सीमाक्षेत्र याकखर्क पुग्न करिब २ घण्टा समय लाग्ने गरेको वडाध्यक्ष गुरुङले खुलाए ।
यसअघि मुस्ताङ-डोल्पा सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका स्थानीय नागरिकलाई मुस्ताङ आएर मालसमान ढुवानी गर्न र मुस्ताङ—डोल्पा आउजाउ गर्न असहज भएको थियो । उपल्लो डोल्पाका नागरिकलाई सदरमुकाम दुनै भन्दा मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न छोटो र सहज हुने गर्छ । त्यसो त उपल्लो डोल्पाबाट भेडाच्यांग्रा र याकचौरी बिक्रीका लागि उपल्लो डोल्पाका व्यापारी तथा पशुपालकले मुस्ताङ ल्याउने गर्छन् ।
हिमाली जिल्ला मुस्ताङ र हिमाली जिल्ला डोल्पालाई सडक कनेक्टिभिटीले जोड्न २०७५/०७६ सालदेखि झन्डै आधा दर्जन प्याकेजमा ठेक्का सम्झौता भइ सडक निर्माणको काम सुरू भएको थियो । गतवर्ष मुस्ताङ र उपल्लो डोल्पाको सिमानामा पर्ने साङ्ता गाउँदेखि सुकसम्बदेखि माथि अग्लो कडा च्ट्टान काटेर नयाँ ट्याक खुलाइएको थियो ।
गतवर्ष सुकसम्बबाट २० किलोमिटर नयाँ सडक ट्याक खोलेर मुस्ताङ—डोल्पा सीमावर्ती क्षेत्र याकखर्क सम्म पुर्याएको थियो । उता डोल्पाको छार्काताङसिङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा सडक विस्तार गरी सीमाक्षेत्र याकखर्क सम्म ल्याई पुर्याएको थियो।
मुस्ताङको जोमसोमदेखि उपल्लो डोल्पाको छार्काताङसिङ गाउँपालिकाको याकखर्क सम्मको दुरी करिब ६० किमी टाढा छ । मुस्ताङ-डोल्पा रणनीतिक महत्वको सडकलाई संघीय आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुलले चरणवद्ध रुपमा सडक निर्माणको काम गरेको थियो ।