सहकारीको बदमासी : कसैले उपचार नपाई ज्यान फाले, कोही रुँदै सडकमा

सहकारीमा करोडौं बचत,उपचार गर्ने रकम नपाई जाँदै ज्यान

सहकारीमा करोडौं बचत,उपचार गर्ने रकम नपाई जाँदै ज्यान
सहकारीको ‘अमानवीय’ व्यवहारबाट आक्रोशित राजेन्द्र स्थापितका परिवार उनको शव राखिएको बाकससहित शान्ति बाटिकामा धर्नामा बसेका छन् । तस्बिर : अशोक दुलाल

न्युरोडको युवा विकास बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा झन्डै डेढ करोड बचत थियो । तर, गम्भीर बिरामी भएपछि उपचार गर्ने बेला सुको भएन । त्यसैकारण शंखमूलका राजेन्द्र स्थापितले अनाहकमा ज्यान गुमाए । यस्ता, दर्दनाक घटना त कति छन् कति ? रगत र पसिनाको कमाइ सहकारीले खाइदिएपछि लाखौं सर्वसाधारण बिचल्लीमा छन् । वर्षाैंदेखि सडक आन्दोलनमा छन् । तर, उनीहरूका पीडा र मर्काको अझै सुनुवाइ भएको छैन ।

काठमाडौं : झन्डै महिना दिन भयो । रत्नपार्कको छेउ, शान्तिबाटिकाको गेटमा एउटा त्रिपाल टाँगिएको छ । त्यसभित्र एउटा शव राख्ने काठको बाकस छ । त्यसमाथि राजेन्द्र स्थापितको फोटो छ । फोटोमाथि चढाइएको सयपत्रीको माला ओइलाइसकेको छ । तर, राजेन्द्रका पीडित परिवारले न्याय पाएका छैनन् । 

शंखमूलका ६२ वर्षीय राजेन्द्र स्थापितले न्युरोडको युवा विकास बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा १ करोड ३६ लाख रकम जम्मा गरेका थिए । एक्कासि उनको ब्रेन ह्यामरेज भयो । उनलाई वीर अस्पताल भर्ना गरियो । तत्कालै अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिए । त्यसका लागि ठूलै रकमको आवश्यक्ता थियो । परिवारसँग अप्रेसनका लागि अन्य आयस्रोत भएन । सहकारीका पदाधिकारीसँग बचत फिर्ता गरिदिन आग्रह गरे ।

सहकारीले सबै पैसा फिर्ता दिन नसक्ने भन्यो । केहीसिप नलागेपछि अप्रेसनका लागि ५ लाख मात्रै भए पनि फिर्ता दिन परिवारका सदस्यले आग्रह गरे । सहकारीका अध्यक्षले अप्रेसनका लागि आवश्यक रकम तिरिदिने आश्वासन दिए । त्यस बेलासम्म स्वास्थ्य राजेन्द्रको अवस्था नाजुक बनिसकेको थियो । उनलाई भेन्टिलेटरमा राखियो । तर, सहकारीले पैसा दिएन । अप्रेसन गर्न ढिलाइ हुँदा राजेन्द्रले अनाहकमा प्राण त्यागे । सहकारीको ‘अमानवीय’ व्यवहारप्रति आक्रोशित राजेन्द्रका परिवार उनको शव राखिएको बाकससहित शान्तिबाटिकामा धर्ना दिइरहेका छन् । null

‘मेरो भाइ (राजेन्द्र) सुगर र ब्लडप्रेसका बिरामी थिएँ,’ दिदी कमलहीरा तुलाधरले भनिन्, ‘टिभीको रिमोर्ट थिच्दै गर्दा ढले । ब्रेन ह्यामरेज भएको रहेछ । सहकारीसँग जम्मा ५ लाख मागेको थियौं । सहकारीका अध्यक्ष आएर अप्रेसन गराइदिन्छु भने । तर, पैसा दिएनन् । ढिला हुँदा भाइको ज्यान गयो ।’ राजेन्द्रको साउन २५ गते निधन भएको थियो । 

आफैंले करोडौं रकम राख्दा पनि उपचार गर्न केही लाख रकमसमेत नपाएको भन्दै परिवारका सदस्यले राजेन्द्रको पार्थिव शरीरलाई राजधानीमा परिक्रमा गराएका थिए । देशकै राजधानीमा यस्तो घटना भएको महिना दिन पुग्दा पनि कतैबाट सुनुवाइ नभएपछि परिवारका सदस्य थप आक्रोशित छन् । ‘आफैंले जम्मा गरेको पैसा पनि मर्नै लाग्दा फिर्ता नगर्ने सहकारीलाई अझै कारबाही नगर्नुको पछाडिको कारण के हो ?  राजेन्द्रकी दिदी तुलाधरले आक्रोश पोखिन, ‘देशमा सरकार छ भने सर्वसाधारणको पैसा लुट्नेलाई तुरुन्त कारबाही गरोस् ।’

राजेन्द्रको मृत्यु त, एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । २/४ पैसा ब्याजको लोभमा सहकारीमा पैसा जम्मा गर्नेहरूको बिजोग छ । बुढेसकालमा उपचार र आर्थिक सुरक्षा होस् भनेर राखिएको पैसा उल्टै सहकारीका सञ्चालकले मोज गर्दा बचतकर्ता बिचल्लीमा छन् । बचतकर्ताहरूको अर्बौं रकम ठगेर कैयौं सञ्चालक विदेश फरार छन् । कोही देशभित्रै लुकेर बसेका छन् । बचत फिर्ता नपाउँदा उपचारसमेत गर्न नपाई सर्वसाधारणको ज्यान गइरहेको सहकारी बचत संरक्षण संघर्ष राष्ट्रिय अभियानका कोषाध्यक्ष देव श्रेष्ठ बताउँछन् । 

nullशान्तिबाटिकामा धर्नामा बसेका सहकारीपीडितहरू । उनीहरू १ वर्ष बढी धर्नामा बसे पनि माग पूरा नभएको भन्दै असन्तुष्ट छन्  ।  तस्बिर : राजकरण महतो

‘बचतकर्ताले सहकारीमा जम्मा गरेको पैसा नपाएर पाउनुसम्म दुःख पाइरहेका छन् । कतिपयले त उपचार खर्चको अभावमा ज्यान समेत गुमाइरहेका छन्’,  श्रेष्ठ भन्छन्, ‘ कसैबाट लुटेर ल्याएर थुपारेको रकम होइन । रगत र पसिनाको कमाईमाथि रजाइँ गर्ने सहकारीका सञ्चालकलाई अविलम्व कारवाही होस ।’ कोषाध्यक्ष  श्रेष्ठको पुकार छ– ए, सरकार बदमासहरूले सर्वसाधारणको पैसा खाइदिए । ठगेर भागे । यिनलाई समातेर कारबाही गर । हाम्रो बचत फिर्ता गराइदेऊ ।’ जनताको सानो मागलाई पनि राज्यले ठूलो मुद्दा बनाएको भन्दै  श्रेष्ठले दुःखेसो पोखे । ‘सर्वसाधारणले न्याय माग्दै सडकमा आन्दोलन गरेको १५ महिना भइसक्यो,’ उनले भने । 

खातामा ४५ लाख, छैन उपचार खर्च 
काठमाडौंका लक्ष्मण रिजालको मेगाड्रिम बहुउद्देश्यीय बचत तथा ऋण सहकारी ४५ लाख रुपैयाँ जम्मा छ । तर, क्यान्सरपीडित पत्नीको उपचार गर्न रिजाललाई निकै सकस छ । पटक–पटक उक्त सहकारीसँग बचत माग्दा पनि उनले फिर्ता पाएका छैनन् । ‘भविष्यका लागि गरेको बचत दुःखमा काम नलागेपछि त्यो पैसाको के काम ?   रिजालको  प्रश्न छ । सहकारी सञ्चालकले बचतकर्तालाई रुवाएको उनी सुनाउँछन् ।

उनकी पत्नी राधिका रिजाल क्यान्सरपीडित हुन् । ७–८ महिनादेखि उपचार गराइरहेका छन् । ‘मर्ने बाँच्नेको ठेगान हुँदैन, क्यान्सर रोगीको । किमो चढाइरहेका छौं,’ रिजाल गुनासो गर्छन्, ‘पीडा पोख्दा पनि सहकारीबाट पैसा पाइएन । घरजग्गा सिद्धिन लागि सक्यो । मान्छे मर्ने कि बाँच्ने भन्ने दोधारमा पुग्दा पनि एक रुपैयाँ सहकारीले दिँदैन । यति पीडित भइयो कि भन्नै सकिएन ।’

श्रीमतीको उपचारमा घरजग्गा सिद्धिन लागि सक्यो । मान्छे मर्ने कि बाँच्ने भन्ने दोधारमा पुग्दा पनि सहकारीले एक रुपैयाँ फिर्ता गरेन् ।  
लक्ष्मण रिजाल, मेगाड्रिम बहुउद्देश्यीय सहकारीपीडित 

सञ्चालकको घर अगाडि धर्ना बस्दा प्रहरी बोलाएर धडपकड गरियो । तर, न्याय नपाएसम्म सडक आन्दोलन छोड्दैनौं ।
सुबास श्रेष्ठ,कान्ति भैरव सहकारीपीडित 

भएभरको कमाइ सहकारीमा राखियो । कति साथीले त पैसाको अभावमा उपचार गर्न नसकेर ज्यान गुमाए । कुनै दिन यस्तै अवस्था मेरो पनि नआउन भन्न सक्दिनँ  । 
विमला दंगाल, सुमो बचत तथा ऋण सहकारीपीडित 

गरिब तथा विपन्नले पैसाको जोहो गर्न सहकारीमा बचत गर्छन् । गाउँघरमा त एकापसमा मिलेर सहकारी गठन गरेका पाइन्छन् । तर, बचत डुबेपछि गाउँमा कोमाथि कसले विश्वास गर्ने ?  भन्ने ठूलो संकट नै पैदा भएको ६० वर्षीय सहकारीपीडित लक्ष्मण रिजाल बताउँछन् । nullगाउँलेको विश्वासकै भरमा सहकारीमा बचत गरेको उनी सुनाउँछन् । बचत डुब्दा सामाजिक परम्परा नै खलबलिएको छ । सहकारीमा राखेको ४५ लाख पैसा उठाउन पैतला खिइसक्यो । तर, बचत उठ्ने छाँटकाँट नदेखेपछि  श्रीराम निकै तनावमा छन् । उनको छिमेकीसँगको सम्बन्ध पनि बिग्रिएको छ । छोराले विदेशमा कमाएको रुपैयाँ सहकारीले डुबाइदिएपछि सरकार गुहार्न हिँडेको पनि वर्ष दिन भयो । तर, सरकारले सुनुवाइ नगरेको लक्ष्मणको गुनासो छ । 

उनका छोरा  श्रीराम रिजाल जापानमा बस्छन् । कमाई जति बुवालाई पठाउँथे । ‘छोराको कमाइजति सहकारीमा बचत गर्दै गएँ,’ रिजाल भन्छन्, ‘धेरै सपना बुनेर पैसा जम्मा गरेको थिएँ । साँवा र ब्याज गरी ४५ लाख जम्मा भयो । सबै रकम सहकारीमा फस्यो । कसरी निकाल्ने कुनै उपाय छैन ।’ सहकारीका पूर्वअध्यक्ष उमाकान्त न्यौपाने रिजालका गाउँले थिए । ‘तपाईंको पैसा हराउँदैन, बचत गर्नुस् अनि बैंकले भन्दा बढी ब्याज सहकारीबाट दिन्छौं भनेर आश्वासन दिए,’ रिजाल भन्छन्, ‘हुन्छ त भनेर विश्वासले पैसा राखे । लास्टमा त के को पैसा पाउनु ?  भएजति सबै डुब्यो ।’ 

सहकारीमा फसेको बचत उठाउन पीडितहरू कहिले प्रहरी त कहिले सडकमा भौतारिरहेका छन् । न त सरकार भेटिएको त उनीहरूलाई त न्याय । घाम, पानी, चिसोमा आन्दोलन गरेको पनि त वर्ष दिन कटिसक्यो । सरकारले संसदीय छानबिन समिति पनि गठन गरेको छ । उसले बयान लिएको लियै छ । त्यसबाट पनि पीडितहरूले कुनै राहत नपाएको गुनासो गर्छन् । 

रिजालका अनुसार सहकारी ‘ठग’ लाई कारबाहीका लागि प्रहरीमा जाँदा पनि कुनै सुनुवाइ हुँदैन । ‘बचत फिर्ताको माग राख्दै बागमती प्रदेशको सहकारी मन्त्रालयमा उजुरी दिएका थियौं,’ रिजाल भन्छन्, ‘त्यहाँबाट मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठायो । टेकुले बालाजु प्रहरीलाई पत्राचार गरिदियो । उजुरी दिएको ३ महिना भयो । सुनुवाइ भएको छैन । सरकारी वकिल कार्यालय र अदालतमा प्रहरीले हाम्रो मुद्दा बुझाएको छैन । सहकारी अध्यक्ष महाशंकर रेग्मी भागेको भाग्यै छन् ।’ 

न्याय कुर्नुको पनि हद हुन्छ नि ?  

६० वर्षीया विमला दंगालको सुमो बचत तथा ऋण सहकारीमा पाँच लाख बचत छ । बचत भएर के गर्नु ?  फिर्ता पाएकी छैनन् । छोराको पढाइ खर्च तिर्न र आफूलाई दमको औषधि किनेर खानै उनलाई हम्मेहम्मे छ । बचत फिर्ता नपाउँदा औषधि खानै मुस्किल भएको विमलाको दुःखेसो छ । null

बचत फिर्ताका लागि विमला पनि २ वर्षदेखि आन्दोलनमा छिन् । न सरकारले माग सुन्छ न त सरकारी सञ्चालकले बचत फिर्ता दिन्छन् । उनी भन्छिन्, ‘कहिलेसम्म सडकमा आन्दोलन गर्ने हो ?  माइतीघर मण्डला र शान्तिबाटिकामा धर्ना बसेर न्याय कुर्नु ?  हद हुन्छ नि सरकार नि !’

आफ्नै पसिनाको कमाइ पनि सहकारीबाट फिर्ता पाउनु बचतकर्ताका लागि फलामको च्युरा जस्तै बनेको छ । विमला भन्छिन्, ‘कति साथीले त सहकारीबाट पैसा फिर्ता पाएनन् । पैसाको अभावमा उपचार गर्न नसकेर ज्यान गुमाए । कुनै दिन यस्तै अवस्था मेरो पनि नआउन भन्न सक्दिनँ ।’ विमला कति दिन त खुुकुरी बोकेर सञ्चालक खोज्दै सहकारीमा पुगेकी थिइन् । ‘तर, रिसाएर के पो नै हुन्छ र ?  सहकारीको दैलोमा भोटे ताल्चा झुन्डिएको हुन्थ्यो,’ विमला भन्छिन् । 

उनका छोरा भक्तपुर ख्वप इन्जिनियरिङ कलेजमा पढ्दै छन् । कलेजको फी तिर्नुपर्ने छ । तर, सहकारीमा गरेको बचत फिर्ता माग्दा दिँदैन । सहकारी सञ्चालक ज्ञानबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । तर, उनी पक्राउ परेर के भयो त ?  बचत कर्ताको पैसा त फिर्ता भएको छैन ?  विमला प्रश्न गर्छिन्, ‘उसलाई पक्राउ गरेर मात्रै भएन । हाम्रो पैसा फिर्ता हुनुपर्‍यो ।’

null

आफूले घरजग्गा बिक्री गरेर सहकारीमा बचत गरेकी उनले बताइन् । ‘११ वर्षअघि  श्रीमान् छविलाल दंगाललाई क्यान्सर भयो । घर जग्गा बिक्री गरेर उपचार गराएँ । तर, उहाँले प्राण त्याग्नु भयो’, दुःख पोखिन्, ‘हाम्रो परिवारमा बज्रपात भयो । उपचारबाट बाँकी रहेको ५ लाख छोरा पढाउन सहकारीमा हाले । अहिले सहकारीले बचत फिर्ता नगरेर घर न घाटको बनायो ।’

जब परिवारको मियो ढल्छ । अनि परिवारमा साना साना समस्या पनि पहाड भएर उभिदिन्छन् । उपचार खर्चले घरघडेरी गुमाएर विमलाको परिवार खरिबोटमा भाडामा बसिरहेको छ । ‘मुटु र दमको रोगी छु । काम गर्न बाहिर निस्किन समस्या छ, विमलाले भनिन्, ‘छोरा पढाउन पनि कठिन भयो । 
कलेजमा बुझाउनु पर्ने फि तिर्न नसक्दा छोरा पनि टेन्सनमा छन् ।’ 

ब्याजको लोभ देखायो, अनि बचत डुबादियो 

सहकारीलाई गरिबको बैंक भनियो । कुनै समस्या हुँदैन । बचत गर्दा हुन्छ । राम्रै ब्याज आउँछ भनेर सहकारीका मान्छे र छरछिमेकीले आश्वासन दिए । दोलखाकी लाका डोमा शेर्पाले सोमु सहकारीमा आफ्नो र दाइको ३० लाख बचत गरिन् । डोमाका  श्रीमान् पासाङ देम्बा शेर्पा विदेशमा कमाउँथे । ‘बचत पनि हुने । अनि ब्याजबाट परिवार चलाउला भनेर सहकारीमा पैसा हाल्यौं,’ शेर्पाले भनिन्, ‘अहिले त ब्याज पाउनु परेको कुरा, हामीले जम्मा गरेको रकम पनि डुब्यो । खै कसरी फिर्ता पाउने हो ? ’ 

शान्तिबाटिकमा दुःख बिसाउँदै शेर्पाले भनिन्, ‘कपनमा बस्छौं । दुई जना सन्तान छन् । उनीहरूलाई स्कुल पढाउन र कोठा भाडा तिर्न पनि धौ–धौ भयो ।’ सरकारले सहकारी सञ्चालकको जग्गा, सम्पत्ति बिक्री गरेर आफूहरूको बचत फिर्ता गर्नुपर्ने उनको माग छ । बचतकर्ताको रुपैयाँमा सहकारी सञ्चालकहरू रजाई गरिरहेका छन् । तर, बचतकर्ताहरू सडकमा बचत फिर्ता पाउँ भन्दै भौतारिरहेका छन् । जीवन भरको कमाई सहकारीमा फसेपछि ४२ वर्षीया बबिता रञ्जित पिरोलिएकी छिन् । दिनहुँ आन्दोलनमा आउनु र घर फर्किनु उनको दैनिकी बनेको छ । 

उनले कान्तिपुर र सुमेरो बचत तथा ऋण सहकारी संस्थामा बचत गरेकी थिइन् । कान्तिपुरमा २० लाख अनि सुमेरोमा १६ लाख । तर, समस्या पर्दा सहकारीमा राखेको पैसाले फिर्ता पाएकी छैनन् । ‘१७ वर्ष गैरसरकारी संस्थामा काम गरँे । त्यो कमाइ सबै दुःख गरेर सहकारीमा जम्मा गरे । आफ्नै बचत लिन पटक–पटक सहकारी धाए । दिन्छु भन्यो । तर, दिएन’, उनी भन्छन्, ‘बच्चालाई पढाउन र घर व्यवहार चलाउन निकै कठिन भयो । कहिलेसम्म न्याय खोज्दै यसरी सडकमा भौतारिने हो ?  कसैले ठेगान बनाइदिए त्यही न्याय माग्न पनि जान्थें । तर, हाम्रो कुरा सुन्ने कोही छैन ।’

बबिता जस्तै समस्यामा छिन् नुवाकोटकी सरिता राई पनि । ज्याला मजदुरी गरेर तीन दिदीबहिनीले उत्तम बचत तथा ऋण सहकारी संस्था बसुन्धारामा ४ लाख रुपैयाँ जम्मा गरेका थिए । ‘पछिका लागि जोगाएर राखेको थिएँ । अहिले काम पर्दा छैन’, उनी दुःख सुनाउँछिन्, ‘खान, कोठा भाडा तिर्न 
समस्या भयो । अब सरकारले हाम्रो बचत छिटो फिर्ता दिलाई देओस् ।’

खुट्टाको ल्याप्चे, नक्कली ऋणी 

जोरपाटी अत्तरखेलका ६० वर्षीय सुभाष  श्रेष्ठको पनि करोडौं रुपैयाँ सहकारीमा फसेको छ । बचत फर्काउन वर्ष दिनदेखि निरन्तर धर्ना र आन्दोलनमा छन् । आन्दोलनको दिन लम्बियो । तर, न्याय पाउने टुंगो छैन । श्रेष्ठ परिवारले कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थामा व्यापार तथा अन्य आम्दानीको रकम जम्मा गरेका थिए ।

 null

‘जग्गा बिक्री गरेर सहकारीमा जम्मा गरेँ,’ उनी भन्छन्, ‘व्यापारको नाफा पनि त्यसैमा राखे ।  श्रीमतीको सञ्चय कोषको रकम पनि त्यसैमा राखे । बचत झन्डै १ करोड २२ लाख भएको थियो । ब्याज गरेर १ करोड ४५ लाख जति छ । पाँच÷सात वर्षदेखि सहकारीमा कारोबार गरेका थियौं । बचत जोखिममा, सहकारी सञ्चालकहरू फरार भए भन्ने समाचारहरू सुने । त्यसपछि बुझ्न जाँदा सहकारी नै बन्द भइसकेको थियो ।’

आफूहरू न्यायको खोजी गर्दै प्रहरीदेखि काठमाडौं जिल्ला अदालतमा पुगेको उनी सुनाउँछन् । उनका अनुसार अध्यक्ष हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्ष शेरलाल  श्रेष्ठ, सहव्यवस्थापक राजेन्द्र श्रेष्ठ र पूर्वअध्यक्ष प्रेम श्रेष्ठमाथि सहकारी बचतकर्ताको रकम ठगी गरेको भन्दै मुद्दा हालिएको थियो ।  ‘कानुनी कारबाहीमा सहकारीका चार जना थुनिएका थिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उच्च अदालतबाट जनही एक/एक करोड धरौटीमा छुटेका छन्’, पीडित  श्रेष्ठ भन्छन्, ‘अदालतमा सहकारीका मान्छेहरूले न्यायाधीश समक्ष छुटेको खण्डमा बचत फिर्ता गर्ने विश्वास दिलाए । छुटेको धेरै दिन भयो । अझै पैसा फिर्ता गरेका छैनन् ।’ जिल्ला अदालत काठमाडौंले सहकारी सञ्चालकको १ अर्ब ५० करोडको सम्पत्ति रोक्का गरेको छ । 

बैंक खाता पनि रोक्का छ । आन्दोलनका अगुवासमेत रहेका पीडित  श्रेष्ठ भन्छन्, ‘हामी पीडित बचतकर्ताले आन्दोलन चर्कायौं । छानबिन सुरु भयो । अनि सहकारी सञ्चालकहरूले २१ करोड रुपैयाँको त फर्जी नाम खडा गरेर ऋण लगानी गरेको देखियो । जहाँ कागजमा खुट्टाको ल्याप्चे लगाएको पनि पाइयो ।’ बिनाधितो सहकारी सञ्चालकहरूले आफ्ना घरपरिवारका मान्छेलाई १७ करोड बाँडेको प्रमाण आफूहरूसँग रहेको उनी सुनाउँछन्, ‘सञ्चालकको घर अगाडि धर्ना बस्दा प्रहरी बोलाएर धड्पकड गरेको थियो ।’ न्याय नपाएसम्म सडक नछोड्ने उनी सुनाउँछन् ।

‘सरकारले पीडितलाई झुलाइरहेको छ’

देव  श्रेष्ठ,कोषाध्यक्ष, सहकारी बचत संरक्षण संघर्ष राष्ट्रिय अभियान
सहकारीमा जम्मा गरेको पैसा नपाएर दुःख पाएका छौं । हामीले कसैको लुटेर ल्याएर थुपारेको कालोधन जम्मा गरेका होइनौं । पसिना बगाएर दुई/दुई पैसा जम्मा गरेको हो ।  ए, सरकार बदमासहरूले हाम्रो रगत पसिनाको रकम खाइदिए । ठगे । यिनीहरूलाई समातेर कारबाही गर्नुपर्‍यो ।

यति सानो विषयलाई राज्यले ठूलो समस्या बनायो । न्याय माग्दै सडकमा बसेको १५ महिना भइसक्यो । बचतकर्ताहरूको सहकारीमा करोडौं पैसा छ । तर, औषधि किनेर खाने पैसा छैन । उपचार नपाएर अकालमा ज्यान गइसकेको छ । यस्ता समस्या कति छन् कति । अस्ति भरखरै दुई जना बिते । 

null

त्यसभन्दा अघि ३ जना बिते । लगभग २५, ३० जना मान्छे उपचार नपाएर ज्यान गुमाइसके । सहकारीले पैसा नदिएपछि कसरी उपचार गर्ने ?  यस्तो समस्या छ । संसदीय छानबिन समितिका अध्यक्ष सूर्यबहादुर थापा उल्टै सञ्चालककै पक्षमा बोल्छन् । पीडितलाई संसदीय छानबिनको नाममा आँखामा छारो हाल्ने काम भइरहेको छ । छानबिन समिति कडा अडानका साथ अघि बढ्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.