नक्कली नोट बनाउने गिरोह पक्राउ
मलंगवा : सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गोडैता नगरपालिका-१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ का ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका-१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह, रौतहटको चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई, ललितपुरको ललितपुर महानगरपालिका-१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका ५ का ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी ट्यांकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र भारतकै मेजरगन्ज पञ्चायत-८ का ४० वर्षीय सुवोध कुमार रहेका छन्।
प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगका आठ लिटर केमिकल, ९५ हजार ८ सय ५ नेपाली रुपैयाँ, १० थान मोबाइल नेपाली स्कारपियो र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।