मोतीराम भट्ट र उनको पत्रकारिता !

अग्रमत/पहिलो नेपाली पत्रकार

मोतीराम भट्ट र उनको पत्रकारिता !

२०१५ सालको प्रेस कमिसनको प्रतिवेदनले मोतीरामलाई पहिलो पत्रकारका रूपमा आत्मसात् गर्दै १९४३ मा ‘गोर्खा भारत जीवन’ प्रकाशन भएको किटान गरेको छ।

मोतीराम भट्ट नेपाली साहित्यमा त मोती झैं टल्किने व्यक्तित्व छँदैछन्, नेपाली पत्रकारिता क्षेत्रको पहिलो नक्षत्रका रूपमा समेत स्तुत्य छन्। जो ६ वर्षको नाबालक हुँदै बनारस बसेका बाबुसँग बस्न आमा र तीन वर्षकी बहिनीसँग बनारस गएका थिए। १९३७ सालमा १५ वर्षको उमेरमा काठमाडौं आई विवाह गरेर १९३८ मा सपरिवार पुनः बनारस फर्के। १९४४ सालमा आफूलाई निखारेर उनी काठमाडौं आए।

मोतीराम भट्टको जीवन चरित्र लेखेका पण्डित नरदेव पाण्डेका अनुसार, भट्टले बनारसमा नेपाली साहित्य र पत्रकारितासम्बन्धी जे जति काम गरे त्यही ६ वर्षको अन्तरालभित्र गरे। १९३० सालको अन्त्य वा १९४० को सुरुतिर भारतमा ४० हजार नेपाली बसोबास गर्ने गरेको अड्कल मोतीरामले काटेका थिए भनेर पाण्डेले १९९५ मा प्रकाशित मोतीराम भट्टको जीवन चरित्रमा उल्लेख गरेका छन्। भट्टले ४० हजार भारत निवासी नेपालीले मातृभाषा र मातृभूमिका लागि एक एक रुपैयाँ दिए पनि ४० हजार रुपैयाँ हुने आकलन गरी छापाखाना मज्जाले चल्छ भनेर रामकृष्ण बर्मालाई आश्वस्त तुल्याएका थिए।

‘गोर्खा भारत जीवन’ र विवाद ः नरदेव शर्मा पाण्डे लिखित ‘कविवर मोतीराम भट्टको जीवन–चरित्र’ पुस्तकमा रामायणको बाल काण्ड छापेपछि भट्टले बेलायतको पुस्तकालयमा पनि पहिलो नेपाली भाषाको प्रकाशित कृति भनी पठाएको र यसको बिक्रीबाट अति नै उत्साहित भएर ‘गोर्खा भारत जीवन’ भन्ने मासिक पत्रिकाको प्रकाशन सुरु गरेको उल्लेख छ। तर अरू धेरै कुराको मिति समेत उल्लेख गरी वर्णन गरेका नरदेव पाण्डेले ‘गोर्खा भारत जीवन’ पत्रिका कहिले प्रकाशन भयो भन्ने उल्लेख गरेका छैनन्। सम्पादक बस्न कानुनी प्रावधानका कारण हुनुपर्छ, भारतीय नागरिक रामकृष्ण बर्माको नाम सम्पादकमा औपचारिक हिसाबले राखे पनि पत्रिका स्वयं मोतीरामले नै सम्पादन गरी छपाएका थिए। कारण के हुन सक्छ भने नरदेव पाण्डे काठमाडौंमै थिए र बनारसमा निकालेको पत्रिकाको मिति राखिरहन आवश्यक ठानेनन् वा मोतीरामले बनारसमा पत्रिका निकालेको भनी सुनाएको प्रसंग मात्रै दिमागमा लिए।

मोतीरामभन्दा उमेरले ६–७ वर्ष कान्छा र नाताले मामा पर्ने नरदेवले खोजी गरेको भए मोतीरामकै जीवनकालमा त्यस पत्रिकाको मिति नोटमा राख्न सक्ने थिए। गोर्खा भारत जीवन पत्रिका कहिले निस्क्यो भनी १९९५ सालमा प्रकाशित आफ्नो किताब ‘कविवर मोतीराम भट्टको जीवन चरित्र’मा नरदेवले मिति उल्लेख नगरे पनि २०१५ सालको प्रेस कमिसनको प्रतिवेदनले मोतीरामलाई पहिलो पत्रकारका रूपमा आत्मसात् गर्दै १९४३ मा ‘गोर्खा भारत जीवन’ प्रकाशन भएको किटान गरेको छ। मोती मण्डलीका एक सदस्य, नाताले मामा र मोतीरामबाट अति नै प्रभावित पं. पाण्डेले चाहेका भए त्यो पत्रिकाको मात्र नभई छापाखाना स्थापनाको समेत मिति राख्न सक्थे। तर उनले त्यसलाई उति महŒव नदिएको उनकै लेखनी हेर्दा थाहा पाइन्छ। नरदेवले खाली घटना चाहिँ छुट्न दिएका छैनन्। प्रेस कमिसनमा विद्वान्हरूको समूह रहेको तथा धेरै खोजीनीति र सरोकारवालासँगको छलफल, सुझावका आधारमा प्रतिवेदन बनाएको भएकाले यो मिति बढी पत्यारिलो देखिन्छ तर पनि प्रेस कमिसनले गोर्खा भारत जीवन १९४३ सालमा प्रकाशन भएको भन्ने तथ्यको आधार भने दिएको पाइन्न।

यो प्रतिवेदनभन्दा पछि प्रकाशन भएका पुस्तकहरूले फरक—फरक मिति राखेका र अनुमान गरेका कारण ‘गोर्खा भारत जीवन’को प्रकाशनको मितिबारे भ्रम उत्पन्न हुन गएको पाइन्छ। उदाहरणका लागि पहिलोपल्ट २०२४ मा छापिएको ग्रीष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा गोर्खा भारत जीवन प्रकाशन भएको भनिएका फरक—फरक लेखकका फरक—फरक मिति उल्लेख छन्। ग्रीष्मबहादुर देवकोटाले २०२४ सालमा प्रकाशन गरेको नेपाली पत्रपत्रिका र छापाखानाको इतिहास नामक पुस्तकमा सन् १८९५ मा भारत जीवन प्रेसबाट छापिएको गोर्खा हास्य मञ्जरीको मुखपृष्ठमा बाबु रामकृष्ण बर्माले नेपाली गोर्खा भारत जीवन नेपाली भाषामा ‘अनेक तरहका हाँसी दिल्लगी औ चतु¥याइका कुरा संग्रह गरी’ निजकै छापाखानाबाट प्रकाशन प्रकाशन गरेका छन् भनी छापिएको छ भनी उल्लेख छ। यसको मतलब यो ‘गोर्खा भारत जीवन’ पत्रिकाले ख्यालठट्टाको माध्यमबाट मनोरञ्जन दिने सामग्री छाप्थ्यो र यो पत्रिका थियो भनी बुझ्न सकिन्छ।

प्रेस कमिसनले त नेपाली पत्रकारिताको क्षेत्रमा पहिलो इँटा हालेको र नरदेवका दाजु कृष्णदेव पाण्डेसँग मिलेर काठमाडौंमा पशुपत छापाखाना राखेको अनि त्यसै छापाखानबाट ‘सुधासागर’ पत्रिका निस्केको कुरा समेत उल्लेख छ। २०२७ सालमा प्रकाशन भएको रामराज पौडेलको पुस्तक ‘पत्रकारिता’मा १९५० सालमा गोर्खा भारत जीवन छापिएको उल्लेख छ। तर पौडेलले यो मिति उल्लेख गर्नुका पछाडि कुनै आधार भने दिन सकेनन्। कमलमणि दीक्षितले पनि १९५० को आसपास छापिएको तर नेपालमा कसैले नदेखेको बरु काशीको विद्यापीठमा छ रे भन्ने सुनेको भनेर ‘कालो अक्षर’मा उल्लेख गरेका छन्। उनले पनि आफ्नो भनाइलाई पुष्ट्याइँ गरेका छैनन्। भारतीय लेखक अलख मधुपले २०२३ साउन २९ गतेको गोरखापत्रमा ‘भारतीय पत्रकारको दृष्टिमा नेपाली साहित्य’ शीर्षकको लेखमा मोतीरामले १९४२ मा गोर्खा भारत जीवन पत्रिका प्रकाशन गरेका थिए भन्ने उल्लेख गरेका छन्।

निक्र्योल : अब निक्र्योलका लागि फेरि नरदेव पाण्डेतिरै फर्किऔं। उनका अनुसार, मोतीराम भट्ट विवाहपछि १९३८ मा परिवारसहित बनारस फर्के र १९४४ सम्म बनारस बसे। १९४४ मा उनको ख्यातिका कारण श्री ६ राजगुरु लोकराज पण्डितले मोतीरामलाई सपरिवार (बाबु दयाराम भने बनारसै बसे) काठमाडौं झिकाए। त्यसपछि उनी फेरि बनारस बस्नेगरी गएनन्। बरु उनले नरदेवका दाजु कृष्णदेवसँग मिलेर मोतीकृष्ण नामको पुस्तक बिक्री कम्पनी खोली पुस्तक झिकाएर बेचबिखन गर्न थाले।

मोती मण्डली बनाएर समस्या पूर्ति स्वरूप कविता रचना गर्न र गराउन लगाए। नेपालमा दरबार स्कुलमा भर्ना भएर संस्कृत र अंग्रेजी पढ्न थाले। १९४८ सालमा लर्ड रवर्ट नेपाल भ्रमणमा आएका बेला दरबार स्कुलको पनि भ्रमण गरेका र ‘फस्र्ट ब्वाई’ भनी चन्द्र शमशेरले चिनाएपछि रवर्टले खुसी भएर मोतीरामलाई १५ वटा पुस्तक उपहार दिएको प्रसंग नरदेवले उल्लेख गरेका छन्। सोही वर्ष मोतीरामले कलकत्ताबाट इन्ट्रान्स दिए। अनि नेपालमै पढ्न थाले। १९४९ सालमा उनी पढ्न कलकत्ता गए। मोतीकृष्ण कम्पनीको बुक सेलरीको काम नरदेवहरूलाई जिम्मा लगाए। १९५० सालमा कलकत्तामा जाँच दिई नेपाल आए। जाँच बिग्रेपछि उतै बसेर पढ्न फेरि १९५१ साउनमा कलकत्तै गए। १९५२ सालमा जाँच दिन शुल्क सबै बुझाए पनि जाँच दिनेभन्दा १५ दिनअघिदेखि नै उनी विषमज्वरले ओछ्यान परे। लेखनी पनि १९५२ देखि यिनले छोडिदिए। १९५३ भाद्र कृष्ण त्रयोदशीका दिन यिनलाई पशुपतिनाथ क्षेत्रमा लगियो र कुशेऔंसीको अन्तिम प्रहरमा यिनले देहत्याग गरे।

यो विवरण हेरेपछि के निक्र्योल निकाल्न सकिन्छ भने मोतीराम भट्टले बनारसमा छापाखाना राख्ने, पुस्तक छाप्ने र गोर्खा भारत जीवन पत्रिका निकाल्ने काम १९३८ देखि १९४३ भित्रै गरेका थिए। किनकि नरदेवकृत यिनको जीवनी हेर्दा १९४४ सालमा नेपाल फर्केपछि उनी मूलतः काठमाडौंमै बसेका बरु पढ्न बेलाबेलामा कलकत्ता जाने गरेका पाइन्छ। मोतीरामबिनै रामकृष्ण बर्माले एक्लै पत्रिका निकालेको कुरा पत्याउन सकिँदैन किनकि उनी भारतीय थिए। बरु आफ्ना एक दर्जन बढी पुस्तक निकालेर, अरूका पनि कृति छपाइदिएर रामकृष्ण बर्मालाई हजारौं फाइदा गराएर १९४४ मा मोतीराम नेपाल फर्केको नरदेवको प्रसंगले पनि १९४३ भन्दा पछि गोर्खा भारत जीवनको पहिलो प्रकाशन भयो भनेर लेख्ने लेखकहरूलाई पत्याउन सकिन्न। अस्तुः।

- सञ्चारकर्मी डा. लुइँटेल त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.