पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरूको भीडभाड
तानसेन : कृष्ण जन्माष्टमी अर्थात् भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा आज पाल्पाका विभिन्न स्थानका श्रीकृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भिडभाड बढेको छ । भक्तजनहरू पाल्पाको श्रीकृष्ण मन्दिर पुगी पूजाआजा, जप, ध्यान, भजन कृतन गरिरहेका छन् ।
द्वापर युगमा पृथ्वीमा कंश जस्ता राक्षसहरूको अन्याय अत्याचार बढ्दै गएपछि भगवान विष्णुले आजकै दिन श्रीकृष्णको रुपमा जन्म लिइ देवताहरूका लागि न्याय दिलाएको धार्मिक विश्वास रहँदै आएको छ । भक्तजनहरू बिहानै नदी,तलाउ,कुवा,धारामा स्नान गरी चोखा बस्त्र लगाएर उपवास बसी भगवान श्रीकृष्णको ध्यान गर्दै व्रत बसेका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा तानसेनको कैलाशनगर, भालेवास, मखनटोल, ताहुँको रम्भापानीमा कृष्णको भजन कृतन गर्नेहरूको भिडभाड लागेको छ । यसैगरी अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कन पाल्पाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भजन कृर्तन आरती, श्रीकृष्ण प्रवचन, श्रीकृष्ण लिला सम्बन्धी नाटक र भक्तजनहरूलाई प्रसाद वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
आजको दिन भगवान श्रीकृष्णको महिमा गाएर उपवास बसेमा अन्जानमा गरेको पापहरूको क्षमा हुने ,सुख शान्ति प्राप्त हुने, मृत्युपछि आत्माले बैकुण्ठमा बास पाउने धार्मिक विश्वास रहँदै आएको छ । यसैगरी राधा माधव समितिले पनि कृष्ण जन्माष्टमीको अवसरमा भजन कृतन गर्दै पूजाआजा गरेको छ।