बलिउड : १६ वर्षदेखि अविछिन्न प्रदर्शन भइरहेको ‘तारक मेहताका उल्टा चस्मा’ को दौड विश्व रेकर्डतिर छ, तर कलाकार टिम, निर्देशक, छायाकार, निर्माताको दौड भने छिनछिनमा ओततिर छ। बलिउड चित्रनगरमा सुटिङ भइरहँदा छिनछिनमै बर्सिने बारिसले लखेटेपछि उनीहरूको दौड ओततिर हुनु स्वाभाविकै भयो।
मनसुनको बेला छ। कलाकारहरू अभिनय गर्दागर्दै, छायाकारहरू खिच्दाखिच्दै जब मुसलधारे वर्षा हुन्छ, उनीहरू सबै काम कुरो छाडेर छिनछिनमा ओत लाग्न पुग्ने गरेको यो रिलको होइन, रियल दृश्य हो। सोनी टेलिभिजनमा प्रसारण भइरहेको ‘तारक मेहेताका उल्टा चस्मा’ को ४१५१ औं इपिसोडको छायांकन चलिरहँदाको रियल दृश्य। साइटमा प्रोजेक्ट हेड राहुल चावडा थिए, अनि थिए निर्देशक हर्षत जोशी र धीरज पाल्सेतुकर। यति लामो टेलिशृंखला प्रस्तुत गरिसक्दा पनि उनीहरूमा थकाइ, नैराश्यको लेस थिएन। दिनकै कहिले बारिसले, कहिले पसिनाले निथ्रुक्कै भिज्दै खटिरहेका थिए।
केही समय खटेपछि ‘मैले नेपालमा धेरै गरेँ’ भनेर आत्मागान गर्ने, ‘सधैं कसरी खट्न सकिन्छ ? ’ भनेर अहम् देखाउने, ‘जति खटे पनि नेपालमा कसैले मूल्यांकन गर्ने होइन क्यारे’ भनेर घुर्की लगाउने लघु प्रवृत्तिलाई उल्टा चस्मा युनिटको खटाइले पाठ पढाइरहेको छ।
मिलेर सफलता पाइरहँदा विभिन्न निच स्वार्थ अंकुरणले फुटको भाँडमा गएर तहसनहस हुने यताको प्रवृत्तिलाई पनि १६ वर्षसम्मको उल्टा चस्माको मेलमिलापले सन्देश दिइरहेको छ। १६ वर्षदेखि हरदिन सुटिङ भइरहेको तारक मेहताका उल्टा चस्मा मात्र होइन, मुम्बईको बलिउड चित्र नगरीमा भारतीय ९० प्रतिशत सिनेमा निर्माण हुन्छन्। फिल्म निर्माणकै लागि यहाँको ५ सय २१ हेक्टर क्षेत्रफलको पहाडी जंगल संरक्षण गरिएको छ।
जंगलभित्र १६ वटा अत्याधुनिक प्रविधिका स्टुडियो छन्। १७ वटा ‘आउट स्टुडियो’ छन्। जुनकुनै फिल्म निर्माणका लागि इनडोर स्टुडियो र आउटडोर स्टुडियो पर्याप्त छन्। त्यसैले भारतीय बजारका ९० प्रतिशत सिनेमा यिनै स्टुडियोभित्रै बन्छन्। विभिन्न खालका दृश्य छायांकनका लागि धेरै ठाउँ चहार्नु पर्दैन। जति धेरै ठाउँ चाहारे त्यति धेरै धेरै खर्च हुन्छ। एकै ठाउँमा बहुदृश्य छायांकनको सुविधा पाइने हुँदा बलिउड फिल्म सिटी बहुउपयोगी छ। एकै ठाउँमा धेरै खालका दृश्य छायांकन गर्न मिल्ने गरी यहाँ इन्डोर र आउटडोर स्टुडियोहरू निर्माण गरिएका हुन्।
बलिउडको फिल्म सिटीलाई हरसुविधा सम्पन्न बनाउन केन्द्र सरकार र महाराष्ट्र राज्य सरकार तल्लीन छ। त्यहाँ महाराष्ट्र फिल्म स्टेज एन्ड कल्चरल डेभलपमेन्ट कर्पोरेसन लिमिटेड गठन गरी राज्य सरकारले विकासको काम गरिरहेको छ।
कर्पोरेसनको कार्यालयको मुख्यद्वारमा हिन्दी सिनेमाका जनक दादासाहेब फाल्केको पूर्ण कदको सालिक निर्माण गरिएको छ। उनको १ सय ३५ औं स्मृति दिवसको अवसरमा सन् २००४ मा सरकारले पूर्ण कदको सालिक स्थापना गरी उनको सम्मान गरेको हो।
कर्पोरेसनले बलिउड हिललाई बहुउद्देश्यीय फिल्म सिटीका रूपमा विकास गरेको छ। यहाँ घाँस दाउरा गर्ने भीरपाखाको दृश्यदेखि अत्याधुनिक सुविधासम्पन्न सपिङ मलको दृश्यसम्म छायांकन गर्न मिल्ने पूर्वाधार निर्माण गरिएको छ। के गाउँबस्ती, विश्वका अति विकसित मुलुकका सहरका दृश्य सबै यहीँ निर्माण भएका छन्।
फिल्म सिटीमा रहेको धार्मिकस्थलको दृश्य दिने मन्दिर।
के हुलाक घर, के विद्यालय, के मन्दिर एकै ठाउँमा छायांकन गर्न सकिने संरचना चित्रनगरी भित्र पाइन्छ। नदी, खोला, समुद्र, काठेपुल, झोलुंगेपुल, मोटरेबल पुल, चौर, चौतारा, हिमाली, पहाडी, समथर ठाउँको दृश्य एकै ठाउँमा छायांकन गर्न मिल्ने पूर्वाधार बलिउड फिल्म सिटीमा उपलब्ध छ। एउटै संरचनालाई आवश्यकताअनुसार रंगरोगन गरी थरीथरी दृश्यांकन गर्न मिल्ने विधि, प्रविधि यहाँ अपनाउने गरिन्छ।
बलिउड फिल्म सिटीमा फिल्म सुटिङमात्र होइन, पर्यटकको पनि ओइरो लाग्ने गर्दछ। पर्यटकलाई टिकट शुल्क लिएर गाइडको प्रवन्ध गरी घुमाउने पनि गरिन्छ। यस क्षेत्रको सुरक्षा बन्दोबस्तका लागि सरकारले सेना, प्रहरी पनि खटाएको छ।
नेपाल सरकारले पनि यहाँका पालुङटारलगायतका धेरै सहरलाई फिल्म सिटीका रूपमा विकास गर्ने भनेर बजेट भाषण गर्दा घोषणा गर्ने गर्दछ, तर राजनीतिक स्थिरताको अभावले यी घोषणा घोषणामै सीमित छन्। बलिउड फिल्म सिटीबाट पाठ सिकेर नेपालमा पनि कलिउड फिल्म सिटी निर्माण गरे यहाँको सिनेमा उद्योगको विकासको जग बस्ने थियो।