सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले शाहले साउन ३० गते बुधबार विश्वासको मत लिने भएका हुन्। उनले सभामुख भीमबहादुर भण्डारीलाई बैठक बोलाउन पत्रसमेत पठाएका छन्।
‘बुधबारका दिन विश्वासको मत लिने भन्दै मुख्यमन्त्रीज्युको पत्र आएको छ। बुधबार दिउसो ३ बजेका लागि संसद बैठक बोलाइसकिएको छ,’ सभामुख भीमबहादुर भण्डारीले भने। संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनधित्र विश्वासको मत लिनुपर्छ। मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ हो। तर नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ। उसका लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका छन्।
मुख्यमन्त्रीको सचिवालयले नाउपाका पनि ७ जनाले विश्वासको मत हाल्ने जनाएको छ। ‘नाउपाभित्र खासै विवाद छैन। ७ जनाले विश्वासको मत दिुनुहुन्छ’ मुख्यमन्त्रीका स्वकीय सचिव रामबहादुर विष्टले भने। नाउपाका ७ जनाले विश्वासको पक्षमा मत हाले शाहसँग ३४ जनाको समर्थन हुनेछ। यो भनेको संसदको झण्डै दुई तिहाईको नजिक हो। ५३ सदस्यीय प्रदेश सभामा ३६ को संख्या दुई तिहाइ हो।