१० दलको आन्दोलनपछि मेयर हर्क साम्पाङले गरे खानेपानीको मूल्यवृद्धि फिर्ता गर्ने सहमति
धरान : धरान उपमहानगरपालिकामा खानेपानीको महसुस वृद्धि फिर्ता गर्ने सहमति भएको छ। धरानका मेयर हर्क साम्पाङले खानेपानीको महसुल वृद्धि गरेपछि कांग्रेस, एमाले लगायतका १० दलले सशक्त आन्दोलन सुरु गरेका थिए।
१० दलको आन्दोलन चर्किएपछि आइतबार मेयर साम्पाङले दलहरूलाई वार्ताका लागि बोलाएका थिए। वार्तामा खानेपानीको महसुल यथावत् राख्ने सहमति भएपछि दलहरूको आन्दोलन स्थगित भएको एमाले सुनसरीका सदस्य नारायण सुवेदीले बताए। मेयर साम्पाङ, १० दलका प्रतिनिधि र वडाध्यक्ष बीच ३ बुँदे सहमति भएको पनि उनले बताए।
दुई पक्षीय वार्तामा वृद्धि गरिएको खानेपानीको मूल्य वृद्धि फिर्ता लिएर यथावत् राख्ने खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिन उच्च अदालतको फैसला पर्खने र ७ दिनभित्र खानेपानी व्यवस्थापन बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको कांग्रेस महाधिवेशन प्रतिनिधि रवि राईले बताए।
जनतालाई निःशुल्क पानी खुवाउने एजेन्डा बोकेर मेयर बनेका साम्पाङले खानेपानीको महसुल, खानेपानी जडान र खानेपानी नामसारीका महसुल वृद्धि गरेपछि धरान उपमहानगरपालिका नेतृत्व विरुद्ध सत्तामा सहभागी दलहरू कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, प्रमुख प्रतिपक्ष माओवादी लगायतका १० दल आन्दोलनमा उत्रिएका थिए।
दलहरूले धरान उपमहानगरपालिका र चोक चोकमा आन्दोलन चर्काएपछि आइतबार साम्पाङले वार्तामा बोलाएका हुन। दलहरूले आज पनि उपमहानगरपालिकाको मुख्य गेटमा धर्ना दिएर साम्पाङ विरुद्ध नाराबाजी गरेका थिए। उनी दलहरूको आन्दोलन सशक्त बनेपछि दलहरूलाई वार्तामा बोलाउन बाध्य भएका थिए।