सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकियो
रसुवा : गोसाइकुण्ड गाउँपालिका-२ टिमुरेमा रहेको नेपालबाट चीनको छोटो नाका रसुवागढीस्थित भोटोकोसी किनारमा सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको छ।
नेपाल–चीनसँगको व्यापार सहजका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाहको निर्माणको काम सन् २०१९ देखि सुरु भएको हो। बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर उत्तरमा रहेको छ। अनुगमन व्यवस्थापन नेपाल इन्टरमोडल यातायात विकास समितिले गरिरहेको छ।
सन् २०२५ जुनसम्म बन्दरगाह निर्माणको काम पूरा गर्ने गरी भएको सम्झौताअनुसार तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। ३० महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोरोना महामारी र चिनियाँ अघोषित नाकाबन्दीबाट काम प्रभावित रहेको थियो। बन्दरगाह निर्माणमा अब कुनै बाधा नआएमा निर्धारित समयमै सम्पन्न हुने विश्वास उनले व्यक्त गरे।
दुई हजार ८० वर्गमिटरमा फैलिएको बन्दरगाहमा ५०० वर्गमिटर क्षेत्रफलको प्रशासनिक भवन तथा तीन सय ५० कन्टेनर राख्न सक्ने संरचनासहितको सात सय ५० वर्गमिटरको गोदाम निर्माण हुनेछ।
७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण भएको छ भने चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङ भन्दामाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरेको छ। चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी ४ सय ५० किमी रहेको छ।