मुस्ताङका बगैंचामा लटरम्म स्याउ
जोमसोम : हिमाली जिल्ला मुस्ताङका बगैंचामा अहिले लटरम्म राताम्मे स्याउ फलेको दृश्य देख्न पाइन्छ। गतवर्ष मुस्ताङमा स्याउका लागि मौसम अनुकूल नहुँदा स्याउ उत्पादन घट्दो रहेकोमा यसवर्ष भने स्याउ उत्पादन वृद्धि हुने छनक देखिएको हो।
जिल्लामा जलवायु परिवर्तनका कारण स्याउ बोटमा विभिन्न रोगकिराको संक्रमण देखिएको भए पनि जिल्लाका सम्बन्धित स्थानीय तह, कृषि ज्ञान केन्द्र, कृषि प्राविधिक र स्थानीय किसानको पहलमा स्याउमा देखा परेको रोगकिरा नियन्त्रण एक साताभित्रै नियन्त्रणमा लिन सक्दा स्याउ उत्पादनमा कुनै असर नपरेको कृषि ज्ञान केन्द्र मुस्ताङले उल्लेख गरेको छ।
गत वर्ष मुस्ताङका बगैंचामा स्याउको परागसेचन अर्थात् पोलिनेसन हुने समयमा मौसम अनुकूल नहुँदा स्याउ उत्पादनमा ह्रास आएको थियो। अहिले मुस्ताङको मुख्य स्याउ उत्पादन हुने क्षेत्र जिल्लाको थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रका विभिन्न स्याउ बगैंचामा राताम्मे स्याउ फलेका छन्। यसवर्ष स्याउको परागसेचन हुने समय चैत÷वैशाख महिनामा स्याउ परागसेचनलाई कुनै असर नपुगेका कारण स्याउ उत्पादन अपेक्षित रूपमा वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउ खेती यहाँका प्रमुख नगदेबालीको रूपमा लिइन्छ। बर्सेनि स्याउ उत्पादन गरेर लाखौं रुपैयाँ आम्दानी लिन सकिने भएकाले मुस्ताङका किसानको स्याउ खेतीतर्फको आकर्षण बढेको हो। सहरबजारका पारखीहरू मुस्ताङको स्याउ भन्ने बित्तिकै हुरुक्कै हुने गर्छन्। गण्डकी प्रदेशकै पर्यटकीय लाइफलाइन मानिएको हिमाली जिल्ला मुस्ताङका स्थानीयहरू स्याउ खेतीतर्फ आकर्षित हुँदा यहाँ स्याउ खेतीको क्षेत्र विस्तार र उत्पादकत्व समेत वृद्धि हुने क्रममा रहेको जनाइन्छ।
अक्सर मुस्ताङको स्याउ असोज÷कात्तिक महिनामा टिपेर स्थानीय बजार र पोखरा÷काठमाडौंसम्म पर्याइने गरिएको छ। यहाँका स्याउ बगैंचामा भदौ नलाग्दै बगैंचामा स्याउ फलेर राताम्मे देखिन थालेको हो। अनुकूल मौसम र स्याउ बगैंचाको उचित हेरचाह र स्याहार सुसार गर्दा स्याउको उत्पादनको प्रतिफल राम्रो हुने केन्द्र प्रमुख बस्ताकोटीले बताए। मुस्ताङको स्याउ खेतीले उत्पादन तथा बिक्री वितरणमा मात्रै होइन यहाँका राताम्मे स्याउ बगैंचाले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ।
मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमणमा आउने पर्यटकले यहाँको स्याउ बगैंचा अवलोकन गर्ने, बगैंचामै पुगेर स्याउको स्वाद चाख्न पाउने र स्याउ बगैंचामै बसेर फोटो ÷भिडियो तस्बिर कैद गर्न पाइने भएकाले मुस्ताङ भित्रिएका पर्यटकले बेग्लै र फरक खालको अनुभूति गर्ने गर्छन्। पछिल्लो समय मुस्ताङका पालिकाहरूले कृषि र पर्यटनलाई सँगैसँगै लिएर पर्यटन र कृषि रणनीति अख्तियार गर्दै आइरहेको पाइन्छ। जिल्लाको थासाङ—२ कोवाङदेखि लोमान्थाङसम्म स्याउ खेती विस्तार भइसकेको छ। जसमध्ये सबै भन्दा स्याउ उत्पादनको हब मुस्ताङको घरपझोङ गाउँपालिका रहेको कृषि ज्ञानकेन्द्र मुस्ताङको तथ्यांकले देखाउँछ। यसका अलावा क्रमशः वारागुङ मुत्तिक्षेत्र ,थासाङ, लोेघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्याउ उत्पादन हुन्छ।
मुस्ताङका किसानले बर्सेनि बगैंचाबाट स्याउ टिपेर मंसिर, पुस र माघ महिनामा बगैंचा पतझरविहीन बगैंचालाई अर्को वर्षका लागि बगैंचा व्यवस्थापनकार्यमा जुट्ने गर्छन्। स्याउ बोटको अनाधिकृत हाँगाबिगा काँटछाँट गर्ने, सिँचाइको पहुँच पुर्याउने, स्याउ बगैंचा मलजल र गोडमेल गर्ने र
स्याउ बगैंचमा लाग्ने विभिन्न रोगकिरा नियन्त्रण गर्न विषादी छर्किन आदि कार्यमा मुस्ताङका किसान व्यस्त हुने गर्छन्।
मुस्ताङमा बर्सेनि स्याउ खरिद गर्न जिल्ला बाहिरका उल्लेख्य स्याउ व्यापारीहरू मुस्ताङ आउने गर्छन्। जिल्लाका स्थानीय व्यापारीले पनि मुस्ताङका किसानले उत्पादन गरेको स्याउ खरिद गरी बजारसम्म पुर्याउने गर्छन। मुस्ताङमा स्याउ फल्ने सिजन भदौ महिनामा जिल्ला भित्र र जिल्ला बाहिरका व्यापारीहरूले स्याउ किसानलाई पेस्की अर्थात् स्याउ बगैंचा ठेक्का लगाउन बैनापट्टा गर्ने प्रचलन रहेको जोमसोमका किसान अजित थकालीले जानकारी दिए।
मुस्ताङमा केही वर्षअघि स्याउ नपाक्दै बगैंचाबाट स्याउ टिपेर बजार पुर्याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताको गुनासो चुलिएको थियो। पछिल्ला ३ आर्थिक वर्षमा मुस्ताङमा असोज अगावै बगैचाबाट स्याउ टिप्न नपाउने नियमलाई पनि कार्यान्वयनमा ल्याउन थालिएको थकालीले उल्लेख गरे। स्याउमा रस भरिएर मात्रै बजारीकरण गर्दा स्याउको गुणस्तर राम्रो हुने किसान थकालीको भनाइ छ।
गत वर्ष मुस्ताङमा स्याउ बोटमा अनुकूल समयमा परागसेचन हुन नपउँदा जिल्लामा स्याउ उत्पादन (२४.५८) प्रतिशत अर्थात् १ हजार ६२१ मेट्रिक टन स्याउ उत्पादन कम भएको थियो। आर्थिक वर्ष २०७९/०८० मा मुस्ताङमा ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएकोमा गत वर्ष ४ हजार ९७५ मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो। तर, यसवर्ष स्याउ उत्पादन क्षमता पुरानै लयमा फर्किने छनक देखिएको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए। पोहोर साल ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन हुँदा ५९ करोड ३७ लाख रुपैयाँ मुस्ताङ भित्रिएको कृषि अधिकृत थकालीले स्मरण गरे।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा ४ र ५ स्याउ उत्पादनमा कुनै समस्या नरहे पनि पालिकाको वडा १ र ३ मा जलवायु परिवर्तनको असरका कारण रोगकिराको संक्रमण देखिएकाले स्याउको गुणस्तर उत्पादनमा असर पुगेको बारागुङका कृषि शाखा अधिकृत विकास पाण्डेले उल्लेख गरे। गत वर्ष स्याउ उत्पादन राम्रो भएको छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादनमा रोगकिराको प्रकोपले समस्या उत्पन्न भएको जनाए।
मुस्ताङमा उत्पादन हुने स्याउमध्ये २० प्रतिशत जिल्लामै खपत हुने गरेको छ। गुणस्तरीय स्याउ बजार पठाइने गरिएको छ भने कम गुणस्तरका स्याउलाई प्रशोधन गरी स्याउको सुकुटी, जाम, जुस र ब्रान्डी बनाइने गरिन्छ।
मुस्ताङका ५ स्थानीय तहमा कुल १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भइसकेको छ। जसमध्ये पछिल्लो समय ५ सय ८५ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले मात्रै उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्र मुस्ताङले जनाएको छ। केन्द्रमा स्याउ उत्पादन गर्ने १५० भन्दा बढी कृषि फर्म,सहकारी र समूह आबद्ध भइसकेका छन्। जिल्लाको ५ वटै स्थानीय तहमा सडक संञ्जालको पहुँच पुगिसकेकाले स्याउको बजारिकरणमा कुनै समस्या नरहेको केन्द्रको ठम्याइ छ। मुस्ताङमा परम्परागत स्थानीय उन्नत जातका लोकल स्याउका अलावा इटालीबाट आयात गरिएको उच्चघनत्वको (हाईब्रिट) स्याउ खेतीतर्फ स्थानीय कृषकको आकर्षण बढेको हो। सार्वजनिक खेर गइरहेका बाँझो जग्गा र कालीगण्डकी नदीको तटीय जग्गामा सामूहिक स्याउ खेती विस्तार भइरहेको छ। जिल्लामा स्थानीय उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस,गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस लगायतको व्यावसायिक स्याउ खेती गरिएको छ। यस्तै, लगाएको पहिलो वर्षमै उत्पादन दिने उच्चघनत्वको (हाइब्रिड) स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोड, रेड डेलिसियस र जोना प्रिन्स जातका स्याउ खेती गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङले उल्लेख गरेको छ।