माओवादी प्रस्ताव-प्रत्यक्ष कार्यकारी राष्ट्रपति

माओवादी प्रस्ताव-प्रत्यक्ष कार्यकारी राष्ट्रपति
फाइल तस्बिर।

काठमाडौं : माओवादी केन्द्रले राजनीतिक स्थायित्वका लागि ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय’ प्रणालीको प्रस्ताव अघि सारेको छ। कांग्रेस र एमालेले स्थायित्व नै खोजेको भए राष्ट्रपतिय प्रणालीमा सहमति जनाउन माओवादीले आग्रह गरेको छ। 

पार्टी स्थायी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः उठाउने भन्दै यसका लागि कांग्रेस र एमाले पनि तयार हुनुपर्ने बताएका थिए। सरकार गठन गर्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेका थिए। माओवादीले संविधान संशोधन गर्दा शासन प्रणाली पनि फेर्नुपर्ने प्रस्ताव अघि सारेको हो। 

संविधान निर्माणका क्रममा माओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय शासन व्यवस्थाको प्रस्ताव गरेको थियो। तर, कांग्रेस र एमाले तयार नभएपछि ‘सुधारिएको संसदीय प्रणाली’ मा सहमति जुटेको थियो। माओवादीको फरक मतसहित ०७२ मा संविधान जारी गरिएको थियो। 

‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय’ शासन प्रणालीको एजेन्डा लिएर माओवादीले सदन, सडक र जनतामा जाने विषयमा बैठकमा छलफल भएको थियो। संसदीय व्यवस्थाले देशमा राजनीतिक अस्थिरता पैदा गरेको माओवादीले ठहर गर्दै ९ वर्षअघि थाती राखेको यो एजेन्डालाई फेरि उठाउन लागेको हो।  सत्ताबाट बाहिरिएपछि माओवादीलाई फेरि शक्तिशाली बनाउने उद्‍घोष गर्दै पार्टी बैठकमा प्रचण्डले नेताहरूको धारणा सुनिरहेका छन््। 

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले शुक्रबार र शनिबार स्थायी समिति बैठकको सुरुवातमै विशेष  समय लिएर लामो बहस गर्दै पार्टीको वैचारिक, राजनीतिक, संगाठनिक परिस्थिति र कार्यभारका बारेमा धारणा राखेका थिए।  

‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति’ किन ?   

अध्यक्ष प्रचण्डले बैठकमा ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति’को एजेन्डा अघि सार्नुको कारण र औचित्यबारे नेताहरूलाई प्रष्ट पारेका थिए। ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दालाई हाम्रा पार्टी अध्यक्ष प्रचण्डजीले बैठकमा अधिकारिक र संस्थागत रूपमा उठाउनुभएको छ’, प्रवक्ता सापकोटाले भने, ‘सत्तामा कब्जाका लागि देशमा अस्थिरता, विकृति, विसंगतिको कुरा गरिँदै छ। त्यसबाट देशलाई बचाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको आवश्यकता देखियो।’
 
यदि एमाले र कांग्रेसले देशलाई स्थिर बनाउन चाहेको होे भने माओवादीको एजेन्डामा दुवै दलले सहयोग गर्नुपर्ने अध्यक्ष प्रचण्डले बैठकमा नेतासँग कुरा राखेका थिए। ‘कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन व्यवस्था लागू गरौं’, प्रचण्डले भनेका थिए, ‘पाँच वर्षभित्र महाअभियोग लगाउने स्थिति पनि हुन्छ। नत्र त राष्ट्रपति त फेरिँदैन। त्यसले देशलाई स्थायित्व दिन्छ।’ 

शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव जनार्र्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए। त्यसैगरी सचिव गणेश साह, देवेन्द्र पौडेल, स्थायी समिति सदस्यहरू गणेशमान पुन, पर्शुराम तमाङ, सुरेन्द्रकुमार कार्की, कुलप्रसाद केसी, अमृता थापा मगर, चक्रपाणी खनालले पनि धारणा राखेका थिए। कम्युनिस्टहरूको मोर्चा बन्दी र एकतामा जोड बृहत् वाममोर्चा बनाएर सडक र सदनमा जानुपर्नेबारे माओवादीको बैठकमा बहस भएको छ। एजेन्डालाई सडक र सदनसँग जोड््न स्पष्ट नीति, कार्ययोजना, कार्यक्रमसहित जनतामा जानु पर्नेमा नेताहरूले जोड दिएका छन्। शुद्धीकरण अभियान चलाएर पार्टीलाई शक्तिशाली बनाउने र समाजवादी मोर्चाबाट  बृह्त वामपन्थी एकीकरणका लागि पहल कदमी लिएको पार्टी अध्यक्ष प्रचण्डले नेताहरूलाई बैठकमा जानकारी गराएका  थिए। प्रचण्डले बैठकमा भने, ‘देशभक्त, जनवादी र प्रगतीशील पार्टीहरूलाई जोडेर मोर्चा बनाउनुपर्छ।’ 

संसदको फोहोरी खेलले माओवादी प्रदूषित

युद्ध लडेर आएको माओवादी संसदीय राजनीतिको फोहोरी खेलमा फसेर बिग्रिएको पार्टीका उपाध्यक्षसमेत रहेको पार्टी प्रवक्ता सापकोटाले बैठकमा भनेका थिए।  ‘कहीँ न कहीँ हामी संसदीय परिपार्टीबाट प्रदूषित भएका छौं। त्यो प्रदूषणबाट पार्टीलाई मुक्त गर्नका लागि शुद्धीकरण अभियान चाल्नुपर्छ ’, उनले भने, ‘पार्टी र राज्य दुवैमा यो अभियान चलाउनु जरुरी छ। आन्दोलनको स्वरूपहरूलाई नयाँ ढंगले परिभाषित गरेर अभियानमा जान्छौं। ’

माओवादी नेता तथा कार्यकर्ताको आचार र व्यवहार कम्युनिस्टको जस्तो नभएको विषयमा पनि बैठकमा व्यापक कुरा उठेको थियो। ‘त्यसले पार्टी प्रदूषित भएको सबैले स्वीकार गर्नुभयो। कम्युनिस्टको विचार, मूल्यमान्यता र आदर्शमा पार्टी भित्र कमी भएकै हो’, उपाध्यक्ष सापकोटाले भने, ‘पहिला शक्तिशाली थियौं। वर्गसँगको सम्बन्ध गहिरो थियो। अहिले वर्गसँगको सम्बन्ध टुटेको र कमजोर भएको छ।’

जनताका इच्छा, आकांक्षा, अपेक्षा पूरा गर्नमा माओवादी चुकेको बैठकमा नेताहरूले बताएका छन्। ‘पार्टीभित्र  कम्युनिस्ट संस्कार र संस्कृति बिग्रीयो। अब नेताहरूले कम्युनिस्टको हुनुपर्ने नैतिकता र आचरणमा जोड दिनुपर्छ। पार्टीमा निरन्तर शुद्धीकरण अभियान चलाउनुपर्छ ’, उपाध्यक्ष सापकोटाले भने, ‘ज्ञानको विकास हुन सकेन। अब दिनदिनै विचारको संश्लेषण गर्ने परिपार्टी बसाल्नै पर्छ।’ सापकोटाका अनुसार राष्ट्रियता र लोकतन्त्रका हिसाबले देशको राजनीतिक परिस्थिति पेचिलो र जटिल बन्दै छ। जनताको जनजीविकाको सवाल पनि उस्तै जटिल बन्दै गएको छ। यी सबै अवस्थाको समाना गर्न पार्टीलाई सबल, सक्षम र सुदृढ बनाउन शुद्धीकरण अभियानको आवश्यकता परेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.