कृषि हाटबजारको दुरुपयोग, घाँस थुपार्दै स्थानीय

कृषि हाटबजारको दुरुपयोग, घाँस थुपार्दै स्थानीय
गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनीमा रहेको सत्यवती कृषि हाटबजार। तस्बिर : मनोज कार्की।

गुल्मी : गुल्मीको सत्यवती कृषि हाटबजार यतिबेला घाँस संकलन केन्द्रमा परिणत भएको छ। स्थानीयको किनबेचका लागि सहजता प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेश र सत्यवती गाउँपालिकाको लाखौं रकम खर्चिएर बनेको उक्त हाटबजारको दुरुपयोग भएको हो। 

 विगत ६ वर्षपहिले स्थानीय उत्पादनको बजारीकरण तथा दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहजता ल्याउनका लागि सञ्चालन गरिएको हाटबजार केही महिनादेखि बन्द छ।

हाट बजार सञ्चालनका निम्ति निर्माण गरिएका टहरामा लामो लस्करमा व्यापारी र उपभोक्ताको चहलपहल हुनुपर्थ्यो। तर, वर्षायामका कारण बन्द भएको उक्त हाट बजारमा अलि फरक दृश्य देखियो। पहिले कृषि उपज तथा दैनिक उपभोग्य वस्तु देखिने हाट बजार अहिले घाँसका संकलन केन्द्रका रुपमा प्रयोग भइरहेको छ। हाट बजारमा देखिएको तस्बिर समाजिक सञ्जालमा मात्रै भाइरल भएन। त्यसले सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै गाउँपालिकालाई नै आलोचित बनायो। 

यो साउन महिना हो। चैत वैशाखमा रोपेका मकै यस महिनामा पाक्ने गर्दछन्। मकैको स्याहार पछि कोदो रोप्ने प्रचलन छ। यतिबेला ग्रामीण क्षेत्रका किसानलाई मकै स्याहार गर्न र कोदो रोप्न भ्याइ नभ्याई छ। साउनको महिना अन्तिम साता आइपुग्दा समेत लगातारको वर्षा र जनशक्ति अभावका कारण विगतका वर्षको तुलनामा यस वर्ष कोदो रोपाइँको कामले गति लिन सकेको छैन। गत हिउँद सम्म सञ्चालनमा रहेको उक्त हाट बजार बर्खायाम सुरु भएलगत्तै बन्द भएको छ। बन्द भएको समयमा गाउँपालिकाले यस हाटबजारमा विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दै आएको स्थानीयले बताउँछन्। 

केही महिनादेखि बन्द रहेको हाटबजारमा अहिले सोही वडाका एक स्थानीय किसान दीपक भण्डारी घाँस राख्न प्रयोग गरेको पाइएको छ। भण्डारी विगत २ वर्षदेखि बाख्रापालन व्यवसायमा छन्। उनले ८० भन्दा बढी बाख्रा पालेका छन्। अहिले बर्खायामको समयमा हाट बजार बन्द र गाउँपालिकाका कुनै पनि कार्यक्रम नभएकाले पानीबाट गाईवस्तुको घाँस जोगाउनका लागि त्यहाँ राखिएको किसान भण्डारीको भनाइ छ। 

यो बर्खायामको समयमा चिसो मौसम,लगातारको वर्षात् र जनशक्ति अभावका कारण मकै स्याहार गर्न कठिनाइ भएको उनले बताए। घाँस सुरक्षित राख्नका लागि हाट बजार प्रयोग गरेको बताउँदै भण्डारीले अरू कुनै नियत राखेर त्यसो नगरेको बताए। 

‘मलाई गाउँपालिका र वडा कार्यालयबाट सम्पर्क गरेर घाँस (मकैको डाँठ)  हटाउन आग्रह गर्नुभएको छ, ‘उनले भने,’ ‘म आफैं समस्यामा परेर गाई वस्तु बचाउनका लागि त्यहाँ घाँस राखेको हुँ,मौसम केही सुधार हुनसाथ जनशक्ति खोजेर तत्कालै हाटबजार खाली गर्छु।’

विगत ५ वर्ष पहिले गाउँपालिकाले उक्त हाट बजार सञ्चालनमा ल्याएको थियो। सञ्चालन गरिएको वर्षदेखि कोरोना कालसम्म हाट बजार व्यापक चलेको सत्यवती गाउँपालिका-६ का वडाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। हाटबजारमा स्थानीय स्तरमा उत्पादन भएका सामग्रीको प्रदर्शन तथा बिक्री हुने गर्थ्यो। व्यापार राम्रो र उपभोक्ताको आकर्षण बढ्दो देखेपछि गुल्मी लगायत बाहिरबाट व्यापारी आएर व्यापार गर्ने गरेको उनले बताए। 

सत्यवती हाट बजारमा प्रत्येक हप्ताको शनिबार बजार लाग्ने गर्थ्यो। शनिबार बैंक तथा वित्तीय संस्था बन्द हुने र आर्थिक कारोबार नहुने भएकाले समय परिवर्तन गरेर हप्ताको सोमबार सञ्चालन गरिँदै आएको थियो। ‘केही दिन अगाडि सोही वडाले भेटघाट तथा छलफल कार्यक्रम त्यही हाटबजारमा आयोजना गरेको थियो, हामी त्यतिबेला कार्यक्रम स्थलमा पुग्दा सुनसान नै थियो, ‘भण्डारीले भने,’ ‘अहिले त्यहाँका एकजना स्थानीय किसानले घाँसका रूपमा प्रयोगमा आउने मकैका डाँठ राखेका रहेछन्, त्यसको फोटो फेसबुक भर भएको रहेछ, थाहा पाएलगत्तै वास्तविकता बुझेर खाली गराउन बनेको छु।’ 

‘हाट बजार भएको जग्गा शिवालय मन्दिरको गुठीको जग्गा हो। गाउँपालिकाले प्रत्येक वर्ष ५० हजार दिनेगरी लिजमा ल्याएको थियो। लिजको आफ्नै नियम वा सम्झौता हुने भएकाले दुई/दुई वर्षमा भाडादर हेरफेर गर्ने कुरा थियो अहिले त्यो के भएको छ ? मलाई अलि जानकारी भएन,‘वडाध्यक्ष भण्डारीले भने’ हाट बजारमा व्यापार गर्न आउने व्यापारीलाई गाउँपालिकाले गतवर्ष सामान ढुवानीको भाडादरमा सौलियत दिएर बजार सञ्चालन गर्दै आएको थियो। 


 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.