साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग र वडा नम्बर-५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुईवटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउनमा ९३ लाख ५० हजार ४८६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए।
‘उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्गाउन बाँकी छ,’ उनले भने ‘यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ।’
पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्धार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताए। ‘कालीगण्डकी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेहरूको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साँघु राख्ने गरिएको थियो,’ उनले भने ‘बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुँदै ४० मिनेट घुमाउरो बाटो हिँड्नु पर्थ्यो।’
कुल १ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा १२/१२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। म्याग्दी १(२)बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २०८० जेठमा भौतिक मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ९ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो।
डिजाइन (नक्सांकन)मा देखिएको समस्या र कुल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/०७६ देखि नियमित बजेट विनियोजन भएपनि कार्यान्वयन भएको थिएन। म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताए।
‘२०७६ सालमा निर्माण स्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो,’ उनले भने ‘२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो।’ भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सांसद भण्डारीले बताए।