रारा ताल क्षेत्रमा नियमविपरीत बालुवा धमाधम उत्खनन

रारा ताल क्षेत्रमा नियमविपरीत बालुवा धमाधम उत्खनन

मुगु : रारा तालको किनार क्षेत्रमा निर्माणाधीन रारा पदमार्ग साइकल लाइनको ठेकेदार पक्षले नियमविपरीत रारा क्षेत्रभित्र बालुवा उत्खनन गरेको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय मुगुद्वारा सञ्चालित खानी थोदुङ क्याराभान जेभीले निर्माण जिम्मा लिएको रारा साइकल मार्गको ठेकेदार पक्षलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयलले ढुंगा, गिट्टी निकासीको अनुमति दिएको भए पनि नियमविपरीत ठेकेदार पक्षले ताल क्षेत्र आसपासमा बालुवा उत्खनन गर्न थालेको हो।

राराको सरसफाइका लागि भनेर निकुञ्ज कार्यालयले साउन २० गते साइकलमार्ग निर्माण जिम्मा लिएको खानी जेभीलाई रारा ताल किनारा आसपास क्षेत्रमा पर्ने भूभागमा गिट्टी र ढुंंगा निकासीका लागि अनुमति दिएको छ। उक्त निर्माणाधीन साइकलमार्गको लागि आवश्यक सामग्री निकुञ्ज क्षेत्रभन्दा बाहिरको मध्यवर्ती वा अन्य स्थानबाट उत्खनन गरी ढुवानी गरिनुपर्ने आयोजनाको परियोजना प्रतिवेदनमा उल्लेख भए पनि कार्यालय र ठेकेदार पक्षको मिलेमतोमा गिट्टी, ढुंगा र बालुवा उत्खनन गर्न दिएको स्रोतले बतायो।

हिमाली राष्ट्रिय निकुञ्जको ऐन, २०३६ अनुसार निकुञ्ज क्षेत्रमा काम गर्दै आएको यो निकुञ्जले निकुञ्ज क्षेत्रभित्र खनिज उत्खनन, काठको पुर्जीलगायतका कामहरू हरेक वर्ष जेठ १५ गतेदेखि कात्तिक १५ गतेसम्म अनुमतिमा रोक लगाउने गरेको छ। यो नियम सबैलाई लागू हुनुपर्ने भए पनि ठेकेदार पक्षलाई उत्खनन गर्न अनुमति दिनु भनेको कार्यालयकै कमजोरी भएको रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर रावलले बताए।

रारा क्षेत्रमा सञ्चालित साइकल पदमार्ग निर्माणका लागि डिभिजन वन कार्यालयबाट ठेकेदार पक्षको विषयमा उत्खननका लागि निकुञ्ज कार्यालयमा सिफारिस पठाइएको छैन। ‘ढुंगाको हकमा निकुञ्जको नियमअनुसार राजस्व तिरेर उत्खनन गर्न मिल्ने भए पनि बालुवाको हकमा ठेकेदारले राराभन्दा बाहिरका स्थानबाट ढुवानी गर्नुपर्ने हो। अहिले रारा क्षेत्रभित्र बालुवा उत्खनन गरेको भन्ने सुनेको छु। यस्तो कार्य गर्न मिल्दैन। यदि ठेकेदार पक्षले यस्तो कार्य गरेको हो भने कामको मूल्यांकनमा समस्या आउनेछ,’ डिभिजन वन कार्यालय मुगुका प्रमुख अमरप्रसाद साहले बताए।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको साउन ४ गते जेभीलाई दिएको अनुमतिपत्रमा ४ सय घनमिटर ढुंगा १ सय ५० घनमिटर गिट्टीको राजस्व कार्यालयको बैंक खातामा जम्मा गरी उत्खनन गर्ने अनुमति दिएको भए पनि उक्त पत्रमा बालुवाको उत्खनन गर्ने अनुमति दिएको देखिँदैन। अनुमतिपत्रमा उल्लेखित गरिएअनुसार अनुमति दिएको समयमा मात्र चार सय घनमिटर ढुंगा, १ सय ५० घनमिटर गिट्टी संकलन तथा उत्खनन गर्नुपर्ने र यो समयमा जैविक विविधता वातावरणीय प्रभाव पर्ने गरी कुनै पनि कार्य गर्न नपाइने र दिएको अनुमतिमा रारा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमवली २०५२ अनुसार कार्य गर्न भनिएको छ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख जयहरि धितालले दिएको जानकारीअनुसार ऐन नियमअनुसार सबै प्रक्रिया पूरा गरी अनुमति दिएको हो। म आफैंले निर्णय गरेर अनुमति दिएको होइन कार्यालय प्रमुख राजु घिमिरे जिल्लाबाहिर रहेका र प्रमुख घिमिरेले अनुमति दिन भनेपछि ढुंगा र गिट्टी निकासी गर्न अनुमति दिएको बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.