गौ संरक्षणमा छैन स्थानीय सरकारको पहल
लक्मी तामाङ। काठमाडौं : पछिल्लो समय गाई पालन गरेर गाईका बाच्छाबाच्छीलाई यत्रतत्र छोड्ने प्रवृत्ति बढ्दै गएको छ। भक्तपुरको सल्लाघारी, राधेराधे र व्यासीलगायतका ठाउँहरूमा यो समस्या अझै बढी देखिन्छ।
छाडा छोडिएका गाईका बाच्छाबाच्छी सडकमा जताततै बस्ने भएकाले ट्राफिक जाम हुने, सवारी साधनलाई आवतजावतमा समस्या पर्ने मात्र नभई ती अबोध बाच्छाबाच्छीलाई गाडिले किचेर तिनको मृत्यु हुने समस्यासमेत देखिएको छ।
१४ वर्षदेखि सल्लाघारीस्थित चोङ्गा गणेशमा मोबाइल पसल राख्दै आएका पशुपतिकुमार गोइदले करिब ७/८ दिनअघि उनको पसलभन्दा थोरै अगाडि एउटा गाईको बाच्छाको गाडीले हानेर मृत्यु भएको बताए। गाईपालक किसानकोे तथ्यांक स्थानीय सरकारसँग हुने भएकाले यो समस्याको समाधान गर्ने कर्तव्य सर्वप्रथम स्थानिय सरकारको भएको उनको भनाइ छ। गाइलाई राष्ट्रिय जनावर भनिए पनि तिनको यस्तो हविगत पारिनु कदापि सही नहुँदा पनि स्थानीय सरकारको यसमा ध्यान जान नसकेको उनले गुनासो गरे।
देशको कानुन भए पनि कुनै पनि कानुन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सवारी चालकहरूको लापरवाही दिनप्रतिदिन बढ्दो रहेको र यस्ता विषयमा कडाइ गर्नुपर्ने उनको धारणा छ। ‘मैले प्राय : दुर्घटना देखेको भनेको लापरवाहीले नै हो’, उनले भने, ‘ती जनावरहरूको ठाउँ मानिसले ओगटेकाले तिनीहरूको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी पनि मानिसकै हो।’
भक्तपुर न्यौपाने गाउँ निवासी उमेश न्यौपानेले छाडा छोडिएका जनावरहरू सडकमा बस्ने भएकाले सवारी साधनहरूलाई आवतजावतमा समस्या हुने र कृषि गर्ने किसान वर्गको बालि नास हुने जस्ता समस्या रहेको बताए्। दूध दिन छोडेपछि गाई र बाच्छाबाच्छीहरूलाई राख्न गौशालाको व्यवस्था गर्न उनले स्थानीय सरकारलाई सुझाव दिए।
यस्ता जनावरहरूको संरक्षण गर्नु गाईपालन गर्ने व्यक्तिहरूको मुख्य भूमिका हो। तर, पनि प्रायले गाईको दूध बेचेर भरपुर नाफा कमाएर आफूलाई फाइदा हुन छोडेपछि ती गाई र बाच्छाबाच्छीहरूलाई बेवारिसे रुपमा छोडेको पाइन्छ। चागुँनारायण नगरपालिका ४ मा गाई पालन गरिरहेका किसान विष्णुप्रसाद पाखरेलले सडकमा जथाभावी गाई छोड्नाको कारण गौहत्याको वातावरण सिर्जना भएको जनाए।
नगरपालिकाले एउटा निश्चित समयसम्म व्यवसायीलाई गाईको बाच्छा पाल्ने जिम्मा दिएर तोकिएको समयपछि नगरपालिका आफैंले व्यवस्थापन गर्दा गाई पालन गर्ने व्यवसायीलाई सहज हुने बताए। आफूले भने कहिल्यै यसरी सडकमा बाच्छाबाच्छी नछोडेको र यसको विकल्पमा पहाडमा लगेर गाई पाल्नेहरूलाई जिम्मा दिएको उनले बताए।
जनावारहरूको संरक्षणका लागि पशु सेवा कार्यालय भए पनि अझैसम्म यस क्षेत्रमा जनावरहरूको व्यवस्थापन र उद्धार हुन सकेको छैन। छाडा छोडिएका जनावर सम्बन्धी कुनै पनि नियम र व्यवस्था नभएकाले संघीय सरकारले कुनै नियम बनाएर कार्यान्वयन नगरेसम्म नगरपालिकाले केही गर्न नस्कने भक्तपुर नगरपालिकाको पशु सेवा शाखाकी प्रमुख पार्वती योञ्जनको भनाई छ। योञ्जनले स्थानिय तहले सामुदायिक पशुसम्बन्धी समस्या लिएर प्रदेश अन्र्तगतको कार्यालयमा जाँदा त्यो समस्या स्थानीय सरकारकै हो भन्दै पन्छिने जवाफ पाएको जनाइन्। यो समस्या पूरै राष्ट्रको भएकाले तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले बताइन्। यस विषयमा माथिबाट कुनै नीति नियम नबनेसम्म स्थानिय सरकारले केही गर्न नस्कने योञ्जनको भनाइ छ। यस्तो समस्या काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशैभरि भए तापनि पशु व्यवस्थापनमा भने स्थानीय र प्रदेश सरकारले खासै कदम नचालेको देखिन्छ।
पछिल्लो समयमा छाडा छोडिएको गाई र बाच्छाबाच्छीको व्यवस्थापन गर्न वीरेन्द्रनगर नगरपालिकाले दुई वर्ष अगाडि ‘सामुदायिक पशु व्यवस्थापन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको थियो। नगरपालिका र प्रदेश सरकारको लागत साझेदारीमा सञ्चालित उक्त परियोजनाले गौशाला निर्माण गरेको थियो। गौशालाबाट उत्पादन गरिएको गोबर र मलमुत्र बिक्री वितरण गरेर तथा गड्यौल मल उत्पादन तथा बिक्री गरेर आम्दानी पनि गरिरहेको छ।
हाल पशुपति क्षेत्रमा सञ्चालन भइरहेको कोटिहोमबाट संकलित रकममध्येबाट केही गौशला निर्माण खर्च गरिने आयोजकले जनाएको छ। विगत तीन वर्षदेखि धादिङमा सञ्चालित ‘गौ संरक्षण अभियान’ नामक सस्ंथाले हाल १५० वटा गाई र बाच्छा बाच्छीको संरक्षण गरिरहेको सस्थांकी अध्यक्ष स्मृति राणा मल्लले जानकारी दिइन्।
संस्थाको आग्रहपछि धादिङ नगरपालिकाले नै गाई र बाच्छा बाच्छिको संरक्षणका लागि बजेट पारित गरी आर्थिक रुपमा सहयोग गरिरहेको मल्लले बताइन्। गौ संरक्षण गर्नका लागि सरकारले नै गौनीति बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।