मेयरको घरमा भएको तोडफोडविरुद्धको जाहेरी दर्ता नगरेको गुनासो

मेयरको घरमा भएको तोडफोडविरुद्धको जाहेरी दर्ता नगरेको गुनासो
मेयर भुसालको घरमा तोडफोड गर्दै आक्रोशित समूह।   फाइल तस्बिर

पीडितका आफन्त नभई राजनीतिक पूर्वाग्रह बोकेर आएका समूहले घरमा आक्रमण गरेको सविनको दाबी छ।

परासी : जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्वी नवलपरासी)ले महिना दिन अघिदेखि दिएको जाहेरी दर्ता नगरी थन्क्याएर राखेको जाहेरीकर्ताले गुनासो गरेका छन्। गत जेठ ३१ गते कावासोती नगरपालिका–२ फलफूल चोकमा ढल निकासका लागि नाला खन्ने क्रममा तीन मजदुरको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आक्रोशित पीडितका आफन्त र स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गर्दै ढुंगामुढा गरेका थिए। सोही समूहले भोलिपल्ट मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा र आगजनीको प्रयास गरेका थिए। 

‘घरभित्र परिवारहरू बसेको समयमा ढुंगा प्रहार गरी झ्यालका सिसा तोडफोड गरे, त्यतिले मात्र नपुगेर आगजनीको समेत प्रयास गरियो। यस क्रममा हाम्रो ठूलो भौतिक क्षति भएको छ। समयमै हामीले आफ्नो सुरक्षाको उपाय नअपनाएको भए मानविय क्षतिसमेत हुन सक्थ्यो। त्यसैले यसका विरुद्ध व्यक्ति किटान गरी जाहेरी दिँदासमेत प्रहरीले अहिलेसम्म दर्ता गरेको छैन’, जाहेरी दिएका मेयर भुसालका छोरा सविनले भने। 

पहिचानसहित करिब १२ जनाका विरुद्ध गत असार २१ गते जाहेरी दिएको उनले बताए। ‘आफू निकट दल र अन्य व्यक्तिहरूसँग सल्लाह गर्न समय लाग्यो। त्यसैले घटना घटेको २० दिनपछि जाहेरी दर्ताका लागि दिएको थिएँ। पटक–पटक जाहेरी दर्ताका लागि अनुरोध गरे पनि अहिलेसम्म प्रहरीले दर्ता गर्न मानेको छैन’, सविनले भने। 

पीडितका आफन्त नभई राजनीतिक पूर्वाग्रह बोकेर आएका समूहले घरमा आक्रमण गरेको उनको दाबी छ। मेयर भुसाल एमालेबाट निर्वाचित हुन्। मेयरका छोरा सविनले जाहेरीमा किटान गरेका व्यक्ति कांग्रेस निकट भएको बताइएको छ। जिल्लाले जाहेरी दर्ता गर्न नमानेपछि गृह मन्त्रालयको गुनासो शाखा र प्रहरी प्रधान कार्यालयमा समेत पठाइएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको सविनको भनाइ छ।  

घटना घटेको केही बेरमै नगर प्रमुखको घरमा तोडफोड भएको र ढुंगा हान्ने प्रज्वल क्षत्रीलाई डीएसपीले नियन्त्रणमा लिएपनि नयाँ बजारतर्फ लगेर छाडिएको पीडितको आरोप छ।  प्रहरीले उनलाई छाडेपछि भीडलाई उक्साउँदै पुनः क्षेत्री आफैंले डीएसपीकै अगाडि ढुंगा हानेको बताइएको छ।

भोलिपल्ट नगरपालिकामा पीडित र जनप्रतिनिधिबीच सम्झौता सकिएकै बेला तोडफोड सुरु भएको उक्त समयसम्म सुरक्षाकर्मीले थप जनशक्ति नथपेको, प्रहरी जवानमाथि आक्रमण हुँदा पनि न्यूनतम बल प्रयोग नगरेको,नगरपालिका र नगर प्रमुखको घर तोडफोड सकिएपछि मात्र प्रहरी र सशस्त्र प्रहरी थपेर बल प्रयोग गरेको उनीहरुको भनाई छ।

घटनापछि मृतकका आफन्तहरूलाई नगरपालिकाले जनही ५/५ लाख रकम उपलब्ध गराएको र घरविहीन एक जनाको घर बनाउने तथा ससाना बालबालिकाको निःशुल्क शिक्षा उपलब्ध गराउने गरी सहमति भइसकेको मेयर भुसालले बताए। ‘पीडितहरूका आफन्तसँग सहमति भइसकेको छ। तर, घर तोडफोड गर्ने व्यक्तिमाथि दिइएको जाहेरी के कारणले प्रहरीले दर्ता गर्न मानेन बुझ्न सकिएन’, भुसालले भने। नगरपालिकाबाट बच्चाका लागि ५ लाखको अक्षय कोष स्थापना गर्नुका साथै अन्तिम संस्कारका लागि ५० हजार दिइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरहरि रेग्मीले घटनाको विषयमा नगरपालिकाले सहमति गरेर मिलाई सकेको अवस्थामा फेरि सोही घटनालाई जाहेरीले ब्युँताउन खोज्दा आरोप लगाएका पक्षसँग द्वन्द्व बढ्छ कि भनेर त्यसै राखिएको बताए। ‘म त्यसबेला विदेशमा थिएँ। निमित्त एसपी (डीएसपी) र सीडीओ साहेबले घटनालाई बढो मेहनतका साथ सेटलमेन्ट गरे। अहिले साम्य भएको घटनालाई फेरि नगिजलौं भन्ने हो । घटना फेरि गिजोल्दा द्वन्द्व बढ्न सक्ने संभावनालाई मध्यनजर गरेर दर्ता नगरिएको हो’, एसपी रेग्मीले भने। 

नगरपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गर्न लागेको नालाको ढिस्कोले पुरिएर कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.