किन डुब्दै छ काठमाडौं ?
काठमाडौं उपत्यकाभित्रको अधिकांश पानी वरिपरिको पहाडी क्षेत्रबाट बगेर आएको हो। त्यो सतही बहावलाई त्यही क्षेत्रमा नियन्त्रण गर्न सकियो वा बगेर आउने समय बढाउन सकियो भने धेरै समस्या समाधान हुन्छन्।
काठमाडौं बारम्बार डुबानमा परिरहेको छ, वर्षाको मात्रा ठूलो भएर मात्र डुबान बढिरहेको होइन। केही प्राकृतिक र धेरै मानवीय कारणले गर्दा देशको राजधानी प्रत्येक वर्ष डुबानमा परिरहेको हो।
काठमाडौं उपत्यका, नामबाट नै प्रस्ट छ चारैतिर पहाडले घेरिएको बीचमा समथर भूभाग। प्राकृतिक रूपमै पानी चारैतिरको पहाडबाट काठमाडौंमै भित्रिन्छ। उपत्यकामा भित्रिएको उक्त पानीले सहज निकास पाउनु पथ्र्याे, सहरीकरण नहुने बेलासम्म उपत्यका भित्रमा खोला, खोल्सा, नदीमार्फत सहज रूपमा पानीको निकास हुन्थ्यो र डुबानको समस्या उत्पन्न हुन्थेन। जब अनियन्त्रित र बिनाडिजाइनमा सहरीकरण बढ्यो डुबानको समस्या पनि बढदै गयो। हाम्रो सहरीकरण यस्तो भइदियो कि प्रकृतिलाई बेवास्ता गरियो, दीर्घकालीन र दिगो विकासको मर्मलाई ध्यान दिइएन।
विश्व वातावरणमा आइरहेको परिवर्तनले तापमान, बर्षाको मात्रा अनी मौषम परिवर्तन जस्ता कुराहरूमा नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन। कुनै पनि भौतिक संरचना निर्माण गर्दा यी कुराहरू ध्यान राख्नु पथ्र्यो तर हाम्रो राजधानीभित्र निर्माण भएका कुनै पनि संरचना निर्माणमा यी तथ्यहरूलाई समावेश गरिएन। उदाहरणको लागि युरोपका प्रायः सबै बस्तीहरूको निर्माण गर्दा कुनै पनि नदीको एक सय वर्षमा फर्केर आउने बाढी सतहभन्दा माथिको सतहमा निर्माण गर्ने गरिन्छ, जहाँ त्यो सम्भव छैन त्यस्तो बस्ती डुबानमा पर्न सक्ने हुनाले सोही अनुरूप सुरक्षा र उद्धारको व्यवस्था पहिले नै मिलाइएको हुन्छ। हाम्रोमा सरकार वा स्थानीय निकायहरूले यो बारेमा कहिल्यै सोचेनन्। न त भौतिक संरचना निश्चित मापदण्डमै निर्माण भए न त कुनै प्रकोपको बेला उद्धार गर्ने संयन्त्र नै निर्माण गरियो।
काठमाडौं डुबान हुनुमा निम्न कारणहरू प्रमुख छन्। अनियन्त्रित निर्माणले र निर्माण चरणमा सामग्रीको अव्यवस्थित भण्डारणले गर्दा, निर्माण सामग्रीहरूका सानासाना कणहरू खोल्सा र नदीहरूको सतहमा पुगेका छन्। यसैगरी पहाडबाट बगाएर ल्याएका गेगर पनि उपत्यकाकै नदी र खोल्साको सतहमा थुप्रिएको छ जसले गर्दा बागमती, विष्णुमतीमात्र होइन सबै खोला र खोल्साहरूको सतह उचलिन पुगेको छ। न त केन्द्र सरकार न त स्थानीय निकायहरूले कुनै पनि संरचना निर्माण गर्दा बाढी सतहभन्दा माथि बनाउनुपर्छ भन्ने निश्चित मापदण्ड निर्माण गरे न त भएका नीतिनियम नै तदारुकताका साथ कार्यान्वयन गराए। यस्तो हुँदा खोला, नदी र खोल्साहरू अतिक्रमणमा परे, नदीकिनार र प्राकृतिक खोल्साहरू प्रायजसो निजी जग्ग्गामा परिणत भए, त्यही जग्गामा घर र अन्य संरचना निर्माण गरियो, निश्चित वर्षमा आउने (रिटर्न पिरियड) बर्खाको बाढीको लागि बहाव क्षेत्र घट्यो अनि बाढी सतह बढने नै भयो।
वर्षा भएपछि त्यसको केही मात्रा जमिनभित्र जान्छ जसलाई इन्फिल्ट्रेसन भनिन्छ, काठमाडौं उपत्यकाभित्रको जमिनको इन्फिल्ट्रेसन मात्रा घट्दो छ जमिन जति घर, सडक र अन्य संरचनाले ढाकियो, प्राकृतिक इन्फिल्ट्रेसन जमिनको क्षेत्र घट्यो, यस्तो हुँदा जमिनको बहाव (सार्फेस रन अफ) ह्वात्तै बढेको छ। एक अध्ययनअनुसार सन् २०१० मा जमिनभित्र छिर्ने पानीको मात्रा ६८ मिलियन घनमिटर प्रतिवर्ष थियो भने सन् २०२० मा ५९ मिलियन क्युबिक मिटर प्रतिवर्ष थियो अब सन् २०३० मा यो मात्रा घटेर ५१ मिलियन घनमिटर पुग्ने अनुमान छ। अर्थात् जमिनभित्र छिर्ने पानीको मात्रा घट्दै छ र सतही बहाव बढदै छ। जसले नदीमा पानीको सतह बढ्यो डुबान बढ्यो।
सतही बहावको निकास कि त मानव निर्मित ढल वा प्राकृतिक खोला खोल्सीबाट हुनु पर्दछ। हामीसँग भएका ढलहरू अधिकांश राम्रो इन्जिनियरिङ डिजाइन जसमा हाइड्रोलोजीको राम्रो हिसाब गरिएको हुन्छ त्यस्ता छैनन्, भएका ढलहरू पनि पूर्ण क्षमतामा काम गरिरहेका छैनन्। निर्माण सामाग्री ढलभित्र पुगेर, प्लास्ट्रिक अड्किएर ढलको क्षमता निर्माण गरिएभन्दा निकै घटेको छ। ढलमा पानी बग्ने ठाउँ नभए पछि पानी सडकबाट बग्ने नै भयो।
अब के गर्न सकिएला त भन्ने बिषयमा चर्चा गरांै। निर्माण भइसकेका संरचनालाई अब पूूरै हटाएर फ्लड प्लेन (बाढी क्षेत्र) बढाउन सकिन्न उपयुक्त पनि हुन्न। उपत्यकाभित्र रहेका सम्पूर्ण नदी र खोल्साको सर्भे अध्यावधिक गर्दै उनीहरूको क्षमता र चौडाइको डिटेल आकडा संकलन गर्नु पहिलो काम हुनुपर्छ। हामीसँग जीआईएस डाटाहरू छन् तिनैलाई प्रशोधन गर्दा आवश्यक पर्ने धेरै कुरा प्राप्त गर्न सकिन्छ। सबै नदी, खोला र खोल्साहरूको पूर्ण क्षमता गणना गरी उनीहरूलाई प्राकृतिक रूपमा फर्काउन आवश्यक कामजस्तै अनाधिकृत संरचना हटाउने, तिनीहरूमा थुप्रिएको गेगर, प्लास्टिकहरू हटाउने, झाडीहरू हटाउने उपलब्ध स्लोपलाई जोगाउनेजस्ता काम तुरुन्तै गर्नु आवश्यक छ।
यसोगर्दा साना—ठूला निकासहरूबाट प्रभावकारी रूपमा पानी निकास हुन पाउँछ। भएका ढलहरू बारम्बार सफा गर्नु आवश्यक छ। ढलभित्र थुप्रिएको बालुवा, गिटी, प्लास्टिकले ढलहरूको क्षमता घटाएका छन्। विकासित देशहरूमा सीसीटीभी क्यामरा सर्भे गरेर ढलहरू निरीक्षण गर्ने गरिन्छ। हामी पनि त्यही गर्न सक्छौं।
हाइड्रोलोजी डिजाइनमा मौसम परिवर्तनको लागि कम्तीमा २६ प्रतिशत मात्रा बढाएर सोही अनुरूपमा ढलहरू डिजाइन र निर्माण गर्नु आवश्यक छ। नदी किनारहरूमा दुवैतिर कम्तीमा २०० वर्ष रिटर्न पिरियड (दोहोर्याएर आउने )मा आउने बाढीको लागि बाढी नियन्त्रण पर्खाल (फ्लड वाल) निर्माण गर्न सकिन्छ। यसलाई दीर्घकालीन आयोजना बनाएर अघि बढाउनु पर्दछ। यो खर्चिलो उपाय हो तर हामी सामु अन्य विकल्प साँघुरिएका छन्।
भर्खरै काठमाडौं महानगरपालिकाले सबै नदीको दुवैतिर कम्तीमा २० मिटर जमिन खाली गराउने निर्णय गरेको छ। त्यो २० मिटर जस्ताको तेस्तै राख्दा डुबान र बाढी सतह घट्ने सम्भावना हँुदैन तर हिउँदको बेलाको नदी किनारदेखि बिस्तारै किनाराको सतह उँचो बनाउदै २० मिटरको बिन्दुलाई १०० वा २०० वर्षमा फर्केर आउने बाढीको सतह बराबर बनाउन सकियो भने त्यो निकै प्रभावकारी हुनेछ।
प्रत्येक भवनलाई जमिनमा पानी रिचार्ज गर्ने साना संरचना बनाउन लगाउने, छतबाट आउने पानीलाई नियन्त्रित रूपमा तिनै रिचार्ज खाल्टाहरूमा पठाउने गर्दा सतही बहावमा निकै ठूलो परिवर्तन आउछ, नयाँ भवनहरू अनिवार्य रूपमा रिचार्ज खाल्टो राख्नुपर्ने र पुराना घरहरूले निश्चित समयभित्र त्यस्तो व्यवस्था गर्नुपर्ने भनेर कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक छ। गहिरो सतह भएका वस्तीहरूमा निकासको लागि ठूला–ठूला पम्पहरू जडान गर्ने र आवश्यक पर्दा पम्पहरूबाट पानी निकास गर्ने व्यवस्था पनि गर्न सकिन्छ। निश्चित सतहमा पानी पुग्यो भने स्वचालित पम्पहरूले पानी निकास गरेर विपत्ति कम गर्न सकिन्छ। अब रह्यो वरिपरिका पहाडी क्षेत्रहरूमा के गर्ने ?
काठमाडौं उपत्यकाभित्रको अधिकांश पानी वरिपरिको पहाडी क्षेत्रबाट बगेर आएको हो। त्यो सतही बहावलाई त्यही क्षेत्रमा नियन्त्रण गर्न सकियो वा बगेर आउने समय बढाउन सकियो भने समस्या समाधान हुन्छ। जलाधार क्षेत्रमा पूर्ण इन्जिनियरिङ तरिकाले बायो–इन्जिनियारिङ प्रविधिको प्रयोग गर्दै पानीको गति घटाउन सकिन्छ यसो गर्दा जमिनभित्र छिर्ने पानीको मात्रा पनि बढछ र सतही बहाव घट्न पुग्छ।
पहाडी क्षेत्रका खोल्सीहरूमा साबो (चेक ड्याम) बाँध निर्माण गर्न सकिन्छ जसले गर्दा उपत्यकामा भित्रिने गेगरको मात्रा घटछ, उपत्यकाका नदीहरूको सतह उकासिन पाउँदैन। अझै सम्भावित ठाउँहरूमा बाँध र जलाशयहरू निर्माण गर्न सकिन्छ। किसानहरूका ठूलाठूला खेतहरूलाई केही रकम तिरेर आवश्यक पर्दा छोटो समयको लागि पानी संकलन गर्न सकिने जलाशय निर्माण गर्न सकिन्छ यस्तो प्रचलन युरोपतिर छ। बगिरहेको पानीलाई पहाडी क्षेत्रबाट नै सुरक्षित क्षेत्रतिर डाइभर्ट (तर्काएर) गरी निश्चित क्षेत्रमा आउने पानीको मात्रा घटाउन पनि सकिन्छ। उपत्यका वरिपरि बृहत् नहर बनाउँदै वरिपरिको पहाडको पानी बाहिरैबाट तर्काउन सकियो भने उत्तम हुनेछ तर यो निकै ठूलो आयोजना हुनेछ। काठमाडौंंको डुबान न्यूनीकरण गर्न सकिन्छ तर अल्पकालीन र दीर्घकालीन आयोजना बनाएर उपत्यकाभित्र र वरिपरिको पहाडी क्षेत्रमा पूर्ण इन्जिनियरिङ प्रविधिको उच्चतम प्रयोग गर्नु पर्दछ।
शर्मा, बेलायतमा कार्यरत जलविद्युत् इन्जिनियर हुन्।