म्याग्दीको धौलागिरि गाउँपालिका— १ गुर्जा अझै सडक यातायातको सञ्जालमा जोडिएको छैन। मुलुकका अल्पसंख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास रहेको गुर्जामा २५० घरधुरीको बसोबास छ।
धौलागिरि गाउँपालिका—२ लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जंगल, भीर, खोल्साको उकालोओरालो बाटो हिँड्नुपर्छ। ढुवानीका लागि घोडा, खच्चर र भरियाको भर पर्नुपर्छ। बिरामीलाई समयमै अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ। यहाँ उत्पादन हुने जडीबुटी, आलुलगायत कृषिउपज ढुवानी अभावमा कुहिएर खेर जान्छन। गत आर्थिक वर्षमा संघीय सरकार, गण्डकी प्रदेश र धौलागिरि गाउँपालिकाले दुई÷दुई करोड बजेट विनियोजन गरेर लुलाङदेखि सुरु गरेको गुर्जा जोड््ने सडक देउरालीको धुरी पुगेको छ।
यस वर्ष पनि यो योजनाले निरन्तरता पाएको छ। तर, प्रदेश र संघीय सरकारले अनुदान घटाएकाले गुर्जावासीको सडक सपना अझै टाढिएको छ। थप १० देखि १५ किलोमिटर सडक निर्माण गर्न बजेट र योजना आवश्यक छ। लुलाङ–गुर्जा–डोल्पा जोड््ने छोटो दूरीको सडकको परिकल्पना गरेर गुर्जावासीले जिल्ला, प्रदेश र संघीय सरकारसम्म प्रस्ताव गरेका छांै। डोल्पालाई संघीय राजधानी काठमाडौंसँग जोड््ने यो सडक अहिले डोल्पा जोड्ने सडकको तुलनामा छोटो पर्छ।
काठमाडौंदेखि म्याग्दी हुँदै डोल्पा पाँच सय किलोमिटरभन्दा छोटो सडक बनाउन सकिन्छ। गुर्जादेखि डोल्पाको दुनै ७५ देखि १०० किलोमिटर नजिक छ। परापूर्वकालमा गुर्जाका बासिन्दा डोल्पाबाट नुन ल्याउन यही बाटोको प्रयोग गर्थे। गुर्जा, चुरेन र पुथा हिमालको काँखैकाँख डोल्पा र जुम्ला जोडिने यस सडक पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ। केन्द्रीय राजनीतिमा पहुँचको कमीका कारण गुर्जा हुँदै डोल्पा जोड््ने सडकको मुद्दा ओझेलमा परेको छ।
(छन्त्याल, धौलागिरि गाउँपालिका—१ गुर्जाका वडाध्यक्ष हुन्।)