चारै जना चिनियाँ नागरिक रसुवा नाकाबाट नेपाल भित्रिएका थिए
काठमाडौं : एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ पर्यटक रसुवाको केरुङ नाकाबाट नेपाल भित्रिएको पाइएको छ। उनीहरू सोमबार विहान ९ बजे रसुवा नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू बहुप्रवेशी भिसामा नेपाल आएका थिए।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा तीन पुरुष र एक महिला छन्। जसमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन्। मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी हुन्।
क्याप्टेन अरुण मल्लले उडाएको एयर डाइनेस्टीको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। काठमाडौंबाट रसुवा स्याप्रुबेसी उडेको हेलिकोप्टर उडेको केही मिनेटमै दुर्घटना भएको थियो।