खेल्नुअघि नै अस्पताल भर्ना
फ्रान्समा जारी पेरिस ओलम्पिकमा एथलेटिक्सका खेलहरू सुरु भइसकेको छ। एथलेटिक्सका खेल सुरु भएसँगै इटालीलाई भने नराम्रो झड्का लागेको छ।
स्वर्ण पदक जित्ने लक्ष्य बोकेर पेरिस उड्ने तरखरमा रहेका महत्वपूर्ण खेलाडी अस्पताल भर्ना भएपछि इटालीलाई नराम्रो झड्का लागेको हो। सन् २०२० को टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता जियानमार्को ताम्बेरी अकस्मात बिरामी भएर अस्पताल भएपछि इटाली दबाबमा परेको हो। ३२ वर्षीय ताम्बेरी मिर्गौैलामा समस्या आएपछि अस्पताल भर्ना भएका हुन्।
टोकियो ओलम्पिकका स्वर्णधारी ताम्बेरी यसपटक पनि स्वर्णकै लक्ष्यसहित पेरिस आउने तयारीमा थिए। उनले ओलम्पिकका लागि राम्रो तयारी पनि गरिरहेका थिए। तर, अकस्मात अस्पताल भर्ना भएपछि उनको तयारी मात्रै अस्तब्यस्त भएको छैन, ओलम्पिक खेल्ने हो कि होइन भन्ने आशंका पनि उब्जिएको छ। अस्पताल भर्ना भएपछि उनले पेरिसको निर्धारित उडान छाडिसकेका छन्।
ओलम्पिक च्याम्पियन हाईजम्प खेलाडी ताम्बेरीले यो घटनाले आफूलाई नराम्रो झड्का लागेको बताएका छन्। ‘मैले ओलम्पिकका लागि सबथोक गरेको थिएँ। यसले म आफैलाई नराम्रो झड्का दिएको छ’, उनले समाजिक सञ्जालमा लेखेका छन्। उनी अस्पताल भर्ना भएपछि पेरिस जाने समय दुई दिन पर सारिएको छ।
चिकित्सकले विस्तृत रिपोर्ट आएपछि मात्रै निर्णय लिन सकिने जनाएको छ। उनले गत जुनमा २.३७ मिटर जम्प गरेका थिए। यो सन् २०२४ को अहिलेसम्मकै सबैभन्दा उग्लो जम्प हो। कीर्तिमानी जम्प गरेलगत्तै ताम्बेरीले खुट्टाको चोट बोक्न पुगेका थिए। चोटका बाबजुद उनले ओलम्पिकको तयारी भने निरन्तर रूपमा गरेका थिए।