उबरमा १ लाख बीवाईडी कार सामेल हुने
काठमाडौं : चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ। यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो।
उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत यी दुई कम्पनीबीच सम्झौता भएको छ। साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ। उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुत उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन्। यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन्।
बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ। मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ।