निर्वाचन प्रणालीलाई सुधार गर्न संविधान संशोधन गर्नुपर्छ : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको बताएका छन्। आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थीरता हुन नसकेको बताएका हुन्।
उनले राजनीतिक स्थिरता लागि कारण सरकारलाई टिकाइराख्नुपर्ने बताए। कोइरालाले कांग्रेस-एमाले लगायत साना दलको गठबन्धन सरकार ठीक ढंगले अगाडि बढ्ने बताए । उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सहि दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे।
कोइरालाले अब निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए। उनले भने,‘मिश्रित प्रणालीबाट चुनावमा जाँदा कुनै पनि दलको बहुमत आउँदैन। बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचित हिसाबले जानुपर्छ।’
संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ।
उनले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गरे। कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दाबी गरे।