आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं : आज बिहानबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी मुसलधारे पानी पर्ने बुलेटिनमा उल्लेख छ।
आज राति पनि केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट हुनसक्ने क्षतिबाट जोगिन विभागले अनुरोध गरेको छ ।