बेवारिसे तीन बालिका आफन्तलाई बुझाइयो
उदयपुर : बेवारिसे अवस्थामा फेला परेका उदयपुरका तीन बालिकालाई उद्धारपछि परिवारलाई जिम्मा लगाइएको छ।
सात वर्षअघि अभिभावकको साथमा काठमाडौं पुगेका उदयपुरगढी गाउँपालिका-२ तिल्केचौरका १२ वर्षीया सरस्वती खड्का, १२ वर्षीया बालकुमारी खड्का र १३ वर्षीया गोमा मगर आमाबुबा अलग–अलग भएपछि बेवारिसे बन्न पुगेका हुन्।
पढ्ने र माया पाउने उमेरमा आमाबुबा अलग भएपछि बेपत्ता बनेका उनीहरू बेवारिसे अवस्थामा चितवन पुगेका थिए। बेवारिसे अवस्थामा फेला परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय भरतपुरले बाल हेल्पलाइनमार्फत चितवनको दियालो परिवारलाई बुझाएको थियो।
दियालो परिवारमा बस्दै आएका उनीहरूलाई कुराकानीका आधारमा उदयपुर घर भएको पहिचान खुलेपछि संस्थाले शुभारम्भ समाज नेपाल कटारी उदयपुरलाई पत्राचार गरेको अध्यक्ष फूलमाया थापा मगर (सविता)ले बताइन्।
काठमाडौं गएको केही समयपछि बुवा आमा अलग–अलग भएपछि उनीहरू बेवारिसे बन्न पुगेको उनले बताइन्। गोमालाई आमा देवीकुमार मगरलाई जिम्मा लगाएको छ भने सरस्वती र बालकुमारीका आमाबुबा सम्पर्कमा नआएपछि आफन्त काका रामजी खड्कालाई जिम्मा लगाएको उनले बताइन्।