तार्कालीको तन्त्र

संस्कार

तार्कालीको तन्त्र

सानै उमेरदेखि आमाले बाबुबाट तन्त्र–मन्त्र सिकिन्। मसान, भूतप्रेत, जागित्र प्रेतात्मा लघार्ने कला र शक्ति पाइन्।

मेरो आमाको नागरिकताको नाम तार्काली होइन, विष्णुमाया आङदेम्बे हो। लिम्बुनी थेगोमा टिम्मुरिएको तर्क गर्नाले अम्लाबुङ्गेहरूले तार्काली भनेका रहेछन्। मेरो मावली बाजे मुन्धुमका नामी ज्ञाता फेदाङ्मा हुनुहुन्थ्योे। सात दिन सात रातसम्म धाराप्रवाह मुन्धुम बक्ने। गाउँमा अनुष्ठान गर्न चापाचाप हुन्थ्यो उनलाई। तङसिङ् राख्न जाँदा सामग्री बोक्ने अभिभारा सधैं आमा तार्कालीको हुन्थ्यो।

सानै उमेरदेखि आमाले बाबुबाट तन्त्र–मन्त्र सिकिन्। मसान, भूतप्रेत, जागित्र प्रेतात्मा लघार्ने कला र शक्ति पाइन्। अहिले आमा चारकोरी वर्ष पुग्न लागिन्। कपाल पूरै काँसजस्तै फुलेको छ तर प्रेतआत्माहरूलाई मध्यरातमा पनि धपाउन सक्छिन्। खुर्पा, हसियाँ र अगुल्टोले परपर दोबाटोसम्म लखेट्ने गर्छिन्। अनि के–के मन्त्र जपेपछि तर्साउनेहरूले सुइँकुच्चा ठोक्छन्। आमाको यस्तो अद्भुत सामथ्र्य र तन्त्र–मन्त्र देखेपछि मलाई उदेक लागेको छ। 

हाम्रो घर पाँचथर याङ्नामको सुनसान र एकलास ठाउँमा छ। आमाले नै यहाँको बञ्जर भूमिमा आवादी थालेकी हुन्। हामी आधा दर्जन सन्तानहरू भकाभक यहीँ जन्मियौं। चारैतिर भिरै–भिरले घेरिएको छ। घना जंगलै–जंगल छ। आँगन आसपासमै असरल्ल चिहानघारी छन्। सिधै माथि–रमिते डाँडा ठिङ्ग उभिएको छ। सिधै तल मौवाबोटे भीरमुनि हेंवा खोला पकन्दी खेल्छ।

पारीपट्टि भारापमा बर्खा लाग्यो कि झर्लाले पहिरो बैंसले मात्तिन थाल्छ। घर वरिपरि अनकन्टार जंगल छ। चौबिसैघण्टा बाघ, स्याल, मलसाप्रो वनढाडे र हुचिलहरू डरलाग्दो गरी कराउँछन्। मास्तिर सिरुडाँडामा आधारातमा ‘सोघा’ कराउँछ। त्यहाँ धेरै मान्छे लडेर मरेका छन्। घरमा कोही थिएन भने बाँदरहरूले मकैका झुत्ताहरू बोकेर हिँड्छन्। घरको छेउमा ठूलो बाँसको झ्याङ छ, त्यहाँ ‘साब्राङ्बा’ले जहिले बाँस निहुराइदिन्छ र बाटो छेक्छ।

मासु नचढाई खायो भने ‘ताम्भुङ्ना’ले ढुंगामुढा हान्छ। घरछेउको उकालो बाटो टाउको नभएको ठूलाठूला आँखामात्र बल्ने ‘मुर्कुटा’ हिँड्छ। घरको उतरतिर इलाहङ खोल्सामा उल्टो पाइतालाले आफ्नो स्तन काँधमा राखेर हिँड्ने लामो न लामो जिब्रो भएको ‘लेम्लेम्ना’ हिँड्छ। यो एकलासे निर्जन ठाउँमा लरतर मान्छे आइपुग्दैनन्। यहाँबाट नजिकैको गाउँघर पुग्नलाई दुई घण्टा जत्ति हिँडेर बल्लतल्ल ‘कोक्माहिम’ भन्ने गाउँमा पुगिन्छ। 

त्यस ‘कोक्माहिम’ गाउँबाट हाम्रो घरमा थुप्रै मान्छे ‘थोक्ला’ लिएर आउँथे। अलिकति चिया ल्याएबापत दुईचार पाथी मकै, धान र कोदोहरू लिएर जान्थे। ‘कोक्माहिम’ गाउँमा एउटी बूढी मान्छे थिइन्। ती बूढी हाम्रो घरमा आएपछि खैलाबैला मच्चिन्थ्यो। किनभने उनीसँग ‘त्तुत्तुलिङ्मा’ देवता थियो। उतिबेला हाम्रो घरमा थुप्रै सुँगुर र बाख्राका पाठाहरू हुन्थे। धेरैवटा लैना गाईभैंसी थिए।

त्यस बूढी बजुले आम्मै ! कति सप्रेका राम्रा–राम्रा पाठाहरू नि ! भन्ने बितिक्कै बाख्राका पाठाहरू म्याम्या गरेर कराउन थाल्थे। सुँगुरका पाठाहरू नुकनुक गरेर पछारिन थाल्थे। पेट ढाडिएर रगत–रगत पखाला गरेर मर्थे। एकखेप हाम्रो साइँला (सागर) पनि रगत–रगत दिसा ग¥यो, बान्ता ग¥यो 
र झन्डै जिब्रो टोक्यो।

त्यस त्तुत्तुलिङमा देवताले वरिपरिका गाउँमा हत्तु हैरान पारेको थियो। यस देवताको उत्पत्तिको लोकआख्यान यस्तो छ, आदिम गाउँमा अखल्या नाम गरेको बूढो मान्छेको मुहङ्लाल र खेहङ्लाल नामका दुइभाइ छोराहरू थिए। पुर्नोती र खिर्नोती नाम गरेका दुई बहिनी छोरीहरू थिए। एकदिन छोरीहरू गोठाला जाँदा एकजना ढुंगेल जातका मान्छेसँग सम्भोग गरे।

यो कुरा थाहा पाएपछि बुबा र माइतीहरूले साह्रै हेलाँ गर्न थाले। खान लाउनसमेत नदिएर दुःखमात्र दिन थाले। बुबा र माइतीहरूको यस्तो अवहेलना सहन नसकेर ती दिदीबहिनीहरू ‘पिप्पिरी’मा ओढारमा गएर बस्न थाले। ओढारमा भोकै, तिर्खैले मरेको कारणले उनीहरूको हंस त्तुत्तुलिङमा देवता भएछ। त्यसपछि गाउँघरमा सताउन थालेका रहेछन्। यस अतृप्त आत्मालाई लघार्न सक्ने अद्भुत तन्त्र थियो आमासँग।

जब ती बूढी बोजु घरबाट बिदा भएर माथि चाँपको बोटमा पुग्थिन् तब आमा त्तुत्तुलिङमा प्रेतात्मा खेदाउन थाल्थिन्। डाढुमा कोइलासँग सुकेको अकबरे खुर्सानी डढाउनु हुन्थ्यो। खुर्पा, हसियाँ र ढुंगामुढा गर्दै मन्त्र जप्दै खेदाउन थाल्थिन्। सुँगुर र बाख्राका पाठाहरूको छेउछाउ घुमाउँदै, खुर्पाले काटुँला झैं गर्दै, हसियाँले ठुँगुँला झंै गर्दै ‘जा है जा कुन् बाटो आइस्, त्यहीँ बाटो खेदेर जा। अहिले हसियाँले ठुँगी मार्छु, खुर्पाले काटी मार्छु’ भन्दै घरको कुना–काप्चाबाट सिकुवा, आँगन हुँदै घरमाथि डाँडासम्म खेदाउनु हुन्थ्यो।

ओढारमा भोकै, तिर्खै मरेको कारणले उनीहरूको हंस त्तुत्तुलिङमा देवता भएछ। त्यसपछि गाउँघरमा सताउन थालेका रहेछन्। यस अतृप्त आत्मालाई लघार्न सक्ने अद्भुत तन्त्र थियो आमासँग।

माइला दाइ चाहिँ नाङ्गै भुत्तुङ्गै भएर उनको आमाले के के भन्छ त्यहीँ–त्यहीँ भन्दै खेदाउने सहयोगी हुन्थे। यसरी खेदाएको केही समयपछि बाख्रा र सुँगुरका पाठाहरू निको भएर दूध खान थाल्थे। दुःखबाट पूरै मुक्त हुन्थे। हामी खुसी हुन्थ्यौं।

अरू पनि धेरै तन्त्रमन्त्र छन् आमासँग। एक पटक साइँली दिदी अलैंचे जंगलमा दाउरा खोज्न जाँदा एक्कासी ढाड दुख्न थालेछ। एकैछिनमा धनुष जस्तो बाङ्गिएछ ढाड। ठाडो पर्न नसक्ने। पूरै मुटु दुखेर हेप्पेक–हेप्पेक गरेर रुँदै–रुँदै घर आइपुगिछन्। आमा नराम्रोसँग अत्तालिनु भएछ। एकान्त घरनजिकै कुनै पुरोहितहरू नभेटिने। स्वस्थ्य चौकी त कता हो कता जूनघामभन्दा पनि टाढा।

पक्कै अनिष्ट जंगली लाग्यो भन्ने अड्कल गर्नुभएछ अनि आफ्नो यौनाङ्गको रौं उखेलेर अगुल्टोमा डढाएर सुँघाइछिन् दिदीलाई। केही समयपछि बिरामी चट्टै निको। कहिलेकाहीँ साँझपख खोलाको बगरहरूमा ‘चिङ्चिङ्ना’ले पछ्यायो भने मुतले माटो मुछेर हान्छिन्। एकान्त चिहानघारीहरूमा मसानहरूले तर्सायो भने सबैभन्दा ठूलो चिहानमाथि बसेर के के जप्छिन्।

हामी सानो छँदा। बेला मौका मासुमंश खान पाइन्थ्यो। मासु पोलेर चढाउन बिस्र्यो भने राति ‘ताम्भुङ्ना’ले दुःख दिएर हत्तुहैरान पाथ्र्यो। घर वरिपरि आँगनमा, छानामा, सिकुवातिर ढुंगामुढाले हान्न थाल्थ्यो। हामी डरले सिस्नोको बोराभित्र डल्लिन पुग्थ्यौं। आमा उठेर धूपधुवाँर गरेर आज तिम्रो सन्तानहरूले मासु चढाएर खान बिस्र्यों है, माफी देऊ है, भनेर सेवा गरेपछि ‘ताम्भुङ्ना’ले पनि दुःख दिन छाड्थ्यो।

कोही मान्छे मर्नु छ भने रातभरि आँगनमा बाँस तानेको जस्तो सुनिन्थ्यो। कुनै बेला ढोका जोडले ढक्ढक्याउँथ्यो। बाहिर कोही खोकेको जस्तो सुनिन्थ्यो। आमा जुरुक्क उठेर अगुल्टोले हान्दै खुकुरी लिएर खेदाउनु हुन्थ्यो। कहिले घर माथि–माथि दारको बोटसम्म। कहिले तल–तल लाँकुरीको बोटसम्म लघार्नु हुन्थ्यो। त्यसको केही दिनपछि गाउँमा मान्छे मर्थे। एकाबिहानै कात्रोको गन्ध नाकमा ठोक्कियो, अब मान्छे मर्छ भनेपछि साँच्चै मथ्र्यो नै।

आमासँग खतरनाक चखोबा देवता छ। चखोबा देवताको नाममा एउटा भाले मन्साएर राख्नुपथ्र्यो। चखोबा देवताको नाममा मन्साएपछि भालेले उत्पात मच्चाउन थाल्थ्यो। बाटोमा हिँड्ने मान्छेहरूलाई उडी–उडी ठुँग्न थाल्थ्यो। सुँगुर, बाख्रा, गाईबस्तु र मान्छेहरू सबैलाई पूरै आक्रमण गथ्र्यो। भाले कुटेमा लात्तीले हानेमा आमा बहुलाउन थाल्थिन्।

गाउँघरमा जुठो खानेकुरा खाए पनि बहुलाउन थाल्थिन्। कुनै घरमा मान्छे मर्नु छ र त्यस घरमा चिया खाँदा पनि बहुलाउनु हुन्थ्यो। बहुलाएपछि आमा यति बलियो बन्नुहुन्थ्यो कि पाँच–पाँच जना भुसतिघ्रेहरूलाई सोतर बनाउनु हुन्थ्यो। त्यति बूढी आमासँग कहाँदेखि त्यस्तो अद्भुत शक्ति र बल आउँथ्यो कुन्नि अचम्म लाग्थ्यो। सबैले आङ्मा चखोबा देवता चढेको हो भन्थे।

आमालाई समाउँदा–समाउँदै उहाँ दौडिनुहुन्थ्यो। हामी उनको छायाँ पनि भेटाउँदैनथ्यौं। घरदेखि धेरै परको पचासे कुवामा नुहाउनु हुन्थ्यो र तीतेपाती टोक्नु हुन्थ्यो। हामी भालेलाई समातेर शिरमा तीतेपाती र पानीले सरसफाइ गरिदिन्थिन्। धूप लगाएर माफी मागिदिन्थिन् अनि बल्ल आमा निको भएर घर फर्किन्थिन्। अघि के भएको हो भनेर सोध्दा आमाले सबै बिर्सें। के भयो– भयो मलाई थाहा छैन भन्नुहुन्थ्यो।

आमासँग यस्तो तन्त्रहरू बाहेक लोकऔषधिको पनि धेरै ज्ञान छ। जुन कुराहरूलाई हामीले सिक्न सक्यौं भने धेरै लाभप्रद र ज्ञानवद्र्धक छ। तसर्थ आजकल मेरा प्रोफेसर डाक्टर गुरुहरूभन्दा बढी आमासँग सिक्दैछु। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.