धनकुटालाई मैले सम्झें पूर्वाञ्चलको. . .

देउडा गीत

धनकुटालाई मैले सम्झें पूर्वाञ्चलको. . .

धनकुटा जिल्ला विद्वान्–विदुषी जन्माउने जिल्ला हो। लेखक कलाकार र राजनीतिकर्मीको त पुरानो आँगनी नै हो, धनकुटा।

कचिडेकी प्यारी बैनी झमक कुमारीलाई

सम्झना छ भनिदिनु लोकतन्त्रका भाइ 
पूज्य गुरु छविलाल डा. रामप्रसादमा
हेमचन्द्र र अशेषको याद आउँछ मन्मा।
(लय– सेरिय रूपस्या मेरीय)

यतिखेर दुई राष्ट्रप्रेमी इमान्दार गायकको यादले सताइरहेछ। जनगायक जेबी टुहुरे, जसले जिन्दगीभर गरिब जनताका गीत गाएर लोकतन्त्रका पक्षमा आवाज दिए, कारागारमा बसे, क्रान्ति गरे। जससँगको सांगीतिक साइनो र प्रजातन्त्र प्राप्तिको भेट २०३५ सालमा काठमाडौंमा भयो।

अर्का व्यक्तित्व हुन्, एलपी जोशी। जसले प्रत्येकको जनजिव्रोमा सहजै निस्कने ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ लगायतका दर्जनांै लोकगीत गाएर देशलाई प्रशस्ती दिलाए। जसको गत साता निधन भयो। धनकुटामा जन्मेका जोशी लोकगायनमा मानार्थ विद्यावारिधि पाउने पहिलो लोककलाकार हुन्। २००० सालमा जन्मेर २०७९ भदौ १० गते काठमाडांैमा परलोक भएका जनगायक जेबी र यो पंक्तिकार २०६१ असारमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभासद भएर काम गर्दा अमूर्त संस्कृतिको अध्ययनका लागि धनकुटा र इलाम पुगेका थियौं।

सुनसरी जिल्लाको रमणीय सहर धरानबाट उकालो लाग्दा मलाई धनगढीको अत्तरियाबाट डँडेलधुराको यात्रा गरे जस्तो लागेको थियो। सार्वजनिक गाडीमा यात्रा गर्दाको रमाइलो बेग्लै हुन्छ। यात्रु सबैसँग मीठो परिचय र चिनजान हुने यात्रा आफैंमा सुखद हुन्छ। धरानदेखि भेडेटारसम्मको नागबेली आकारको सडकको यात्रा, अनि भेडेटारदेखि हिलेसम्मको यात्राले हामी दुईलाई यात्रुबीच थप परिचय दिलायो। सुदूरपश्चिममा पंक्तिकारको त्यसबेला देउडा गीतसंगीतमा एकछत्र राज रहे झैं पूर्वाञ्चलमा जेबी दाइको जागरण र जनवादी गीतले पनि एकछत्र राज गरेको रहेछ।

धनकुटा जिल्ला विद्वान्–विदुषी जन्माउने जिल्ला हो। लेखक कलाकार र राजनीतिकर्मीको त पुरानो आँगनी नै हो, धनकुटा। तमोर नदीको चिसो पानी पिएपछि पुनः उकालो लाग्नुपर्छ हामीले। पहाडी जिल्लामा भ्रमण गर्दाको धेरै फाइदामध्ये सङ्लो हावापानीसँग परिचित हुनु र यात्रुसँग आत्मीयता गाँस्नु पनि हो। यात्रुले हामी दाजुभाइको परिचय पाएपछि गाडीको पछाडिको सिटमा बसेका हामीलाई फर्की फर्की हेर्न पो थाले। चालकले अगाडिको सिटमा बस्न बोलाए। जेबी दाइको आग्रह र यात्रुको मागअनुसार मलाई देउडा गीत गाउन कर लाग्यो :
म सुदूरपश्चिमको भाइस धनकुटामा आया 
धनकुटामा आउँदा हजुर माया पनि पाया 
(लयः ओ वाज झुम्य्रौली वाज)

ताली पिट्दैछन् यात्रु, बुझे पनि नबुझे पनि बीचबीचमा मतिर हेरी फुर्काउँदैछन्। यात्रुलाई खुसी पार्ने प्रयत्न बढ्छ। छिनभरमै रमाइला घुम्ती र मोड पार गर्दै बेलैमा धनकुटा बजार पुग्यौं। टाठिला अनुहारहरू साँझपखको तरकारी किन्न बजारमा निस्किसकेका थिए। गाउँमा उत्पादित ताजा तरकारी किन्नेको ठूलै समूह ओहोरदोहोर गरिरहेको देखिन्थ्यो। एउटा समूहले जेबी दाइलाई घेरिहाल्यो। पूर्वेली लय र शैलीमा आफ्नो बासस्थान निम्तो दिए मनकारी दाजुभाइले। तर हामी होटलमा बस्यौं। मानिस त्यहीँ भेटघाट गर्न आए। जसमा धनकुटास्थित रेडियो नेपालका कर्मचारी पनि थिए। नाम भुलें। एक रातको होटलको बसाइपछि आठपहरिया राईको बासस्थान र उनीहरूको धार्मिक अनुष्ठान गर्ने पवित्र भूमिमा पुग्यौं। राईहरूका थर, चालचलन र रीतिरिवाज अनि कुलदेवता फरक हुँदा रहेछन् । थोरै संख्यामा रहेका उनीहरू अरू राई जातिले जस्तै प्रकृति पूजनमा विशेष ध्यान दिने रहेछन्।

जन्म र मृत्यु संस्कारमा विशेष आस्था राख्ने आठपहरिया राईहरू झुटो बोल्नु, अरूलाई दुःख दिनु पापकर्म हो भन्दा रहेछन्। मानव धर्मका पक्षपाती उनीहरूको धार्मिक रीतिरिवाज मनाउने तरिका वास्तवमा परोपकारी कार्यमा जोडिएको पुण्य कर्मजस्तो देखिन्थ्यो। आठपहरिया राईबारे र इलामको प्राचीन संस्कृतिबारे हामीद्वारा लेखिएका ज्ञानवद्र्धक ऐतिहासिक सामग्रीसहितको विवरण प्रज्ञा प्रतिष्ठानमा बुझाएका थियौं। तत्कालीन उपकुलपति प्राडा वासुदेव त्रिपाठी यस कार्यबाट प्रभावित हुनु भएको थियो।

भोलिपल्टदेखि केशव पहाडीको घरमा बास बस्यौं। उनी पंक्तिकारले अध्ययन गरेको विद्यालय दुर्गा भवानी निमावि (हाल मावि) बझाङ तलकोटमा अध्यापन कार्यका लागि २०३४ सालमा गएका र पंक्तिकारकै घरमा बसेकाले हाम्रो पारिवारिक नाता जोडिन पुग्यो। उनीसँगै रमेश भट्टराई पनि सोही विद्यालयमा अध्यापन कार्य गर्ने त्यसबेलाका मेधावी गुरु बन्नु भएको थियो। ती दुवै जनाको शैक्षिक सेवालाई तलकोटी जनताले भूलेका छैनन्।

बझाङ तलकोटको शैक्षिक साइनो धनकुटासम्म पुगेकाले तीन दिनसम्मको हाम्रो बसाइ सुखद रह्यो र दिलैदेखि शिक्षाप्रेमी पहाडी दम्पतीलाई धन्यवाद दियौं। धनकुटा बजारमा देउडा गीतको बिजारोपणका लागि गरेको मेरो प्रस्ताव जेबी दाई र पहाडीजीले सहर्ष स्वीकार्नु भयो। दुई घण्टाको अवधिमा माइकिङको भरमा झन्डै १० हजार दर्शकको उपस्थिति आफैंमा स्मरण योग्य रह्यो। यो उपस्थितिलाई जनगायक टुहुरेप्रतिको हार्दिकताको उपस्थिति मान्न सकिन्छ।

देउडा गीतसंगीतको नौलो स्वाद चाख्न पनि सो उपस्थिति रहन गएको हो भन्ने कार्यक्रम आयोजकले जानकारी दिए। केशव पहाडीको घरमा अघिल्लो रात जाग्राम बसेर धनकुटाबारे जानकारी लिएर गीतको रचना गरें। भोलिपल्ट तिनै शब्द देउडा गीतको लयमा उतारी गाउदा दर्शकबाट माया र ताली पाएँ–
...राजारानी ध्वजेडाँडा दिदी बैनी रैछिन् 
हिले अनि थाम्डाडा त माइतीघर गैछिन्
(लय–गलबन्दीमा रातो धागो)

असारको पहिलो हप्ता, साँझ पर्न लागेको थियो। सिमसिम पानी पर्दै थियो। युवाहरूको जोश संगीततर्फ मोडिँदै थियो। हाक पारे र मारुनीको मीठो लयमा अभ्यस्त उपस्थित दर्शकले देउडा गीतलाई हार्दिकताका साथ मन पराए। सुदूरपश्चिमको भाषामा ‘जद्दयौ’ भने।

प्रत्युत्तरमा सय वर्ष बाँचिरहनु भन्ने आशीर्वाद दिए। यसैगरी, जेबी दाइको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’ बोलको गीत गाउँदा उपस्थित सबैजना नाच्दै सँगै गाए। पूर्वाञ्चलका श्रोताको गीतसंगीतप्रति सद्भाव कति माथिल्लो कोटीको रहेछ भन्ने सहजै अनुमान लगाउन देउडा गीतको अभियन्ता पंक्तिकारलाई गाह्रो परेन।
जोरपाटी सिधुवा र चित्रे अनि हिले 
हिउ खेली रमाई बस्नु दिलचित्त मिले। 
धनकुटे बिस्कुट मीठो मूलघाटको आँप 
बाउन्न ढोका दरबारलाई डोरी समाई नाप
छिन्ताङ भन्नु हामी सबको चेतनाको ज्योति 
धनकुटालाई मैले सम्झें पूर्वाञ्चलको माती।
(लय–झ्याम्म... झ्याम्म)

यो गीतमा जनगायक जेवी दाइ र अधिकांश दर्शक सानो मञ्च र सडकमै जम्मा भएका सबैले झ्याम्मझ्याम्म भन्दै धनकुटा बजारलाई गुञ्जायमान बनाए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.