दलको छायामा स्ववियु निर्वाचन

दलको छायामा स्ववियु निर्वाचन
राजर्षि जनक विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आफ्ना पक्षधर विद्यार्थी संगठनलाई जिताउन भोट माग्दै राजनीतिक दलका नेता।  तस्बिर : मनिका झा।

जनकपुरधाम  : प्रायःजसो सुनसान देखिने जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय बिहीबार बिहानैदेखि भरिभराउ थियो।   

मधेस प्रदेशका पूर्वमन्त्रीहरू, वर्तमान सांसदहरू, पूर्वमेयर, विभिन्न राजनीतिक दलका अगुवा नेता र कार्यकर्ताहरूको चहलपहलले कुनै ठूलो निर्वाचनको झझल्को दिएको थियो। विश्वविद्यालयमा यति धेरै राजनीतिक दलका नेता, कार्यकर्ताहरूको उपस्थिति हुनु पछाडिको कारण थियो, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन। 

‘राजनीति र दलीय प्रत्यक्ष हस्तक्षेप शिक्षा क्षेत्रमा हुनु हुँदैन’ भन्ने भाषण राजनीतिक दलकै अगुवा नेताहरूले पटकपटक सार्वजनिक मञ्चमा गर्छन्। तर, राजर्षि जनक विश्वविद्यालयको स्ववियु निर्वाचनमा प्रदेश र केन्द्रीय स्तरमा पहिचान बनाएका विभिन्न दलका नेताहरूको उपस्थितिमात्रै होइन, हस्तक्षेपकारी भूमिका पनि देखियो। त्यसले शिक्षा क्षेत्रलाई दलहरूले राजनीतिको अखडा बनाएको प्रस्ट हुन्थ्यो। 

मधेस प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनल एकाबिहानैदेखि विश्वविद्यालय अगाडि आफ्ना सहयोगी, कार्यकर्ताहरूसँग जमघट लगाएर बसेका थिए। उनको उपस्थिति विश्वविद्यालयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्बद्ध लोकतान्त्रिक विद्यार्थी संघका तर्फबाट निर्वाचनमा उम्मेदवार विद्यार्थीको प्यानललाई जिताउनु थियो। ‘हामी पनि यसैगरी विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुनाले सोही दिनहरूलाई सम्झिँदै निर्वाचन हेर्न आएको हुँ’, उनले भने, ‘हाम्रो पार्टी निकटका विद्यार्थी भाइबहिनीहरू पनि निर्वाचनमा उम्मेदवार बनेका छन्। अनि उहाँहरूको हौसला बढाउन यसो घुमफिर गर्न आएको छु। निर्वाचनमा हाम्रो खासै भूमिका भने छैन।’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामकुमार शर्मा पनि बिहीबार राजर्षि जनक विश्वविद्यालय अगाडि नै व्यस्त भेटिए। उनी विश्वविद्यालयको निर्वाचनमा उम्मेदवारी दिएको तीन विद्यार्थी संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवारलाई जिताउन लबिङ गरिरहेका थिए। 

‘चुनाव चाहे विद्यार्थीको होस्, किसानको होस् वा अन्य केहीको किन नहोस् त्यसमा राजनीतिक पार्टीको सरोकार हुन्छ नै,’ शर्माले भने, ‘विद्यार्थीसँग अभिभावकको र यो दुवैसँग राजनीतिको भविष्य जोडिएको छ। त्यसैका लागि राम्रो नेतृत्व आओस् र विश्वविद्यालयमा शैक्षिक गुणस्तरको विकास होस् भन्ने कुरालाई बढावा दिन र निर्वाचनमा उठेका विद्यार्थीको हौसला बढाउन आएको हुँ।’ आफूहरू अभिभावकको भूमिकामा मात्रै रहेको र यसमा  हस्तक्षेपकारी भूमिका भने नहुने उनले बताए। 

राजर्षि जनक विश्वविद्यालयको निर्वाचनमा आआफ्ना पार्टी सम्बद्ध विद्यार्थी समूहलाई जिताउन मधेस प्रदेशसभाका सांसदहरू दीपेन्द्र ठाकुर, सञ्जय यादव, जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख लालकिशोर साह, परमेश्वर साहलगायत अधिकांश राजनीतिक दलका चिनेजानेका नेताहरू लागि परेका देखिए। 

स्थापनाकालदेखि नै राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण शैक्षिक जगत्मा राम्रो भूमिका देखाउन नसकेको राजर्षि जनक विश्वविद्यालयको शैक्षिक अवस्था सुधार गर्नुको साटो यसलाई दलहरूले राजनीतिको अखडा बनाउन लागेको स्थानीयको ठम्याइँ छ। 

२०७४ कात्तिक १२ गते स्थापना भएको विश्वविद्यालयमा हाल ७ सय ४८ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ३२ जना अध्यापक र ५० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। 

स्थापनाकालदेखि नै करारमा कर्मचारी नियुक्ति, रजिस्ट्रारको रिक्तता, अध्यापकहरूको काम नगर्ने बानीलगायत विभिन्न समस्याहरूका कारण पटकपटक विवादमा तानिँदै आएको विश्वविद्यालयमा शैक्षिक गतिविधि सुधारका लागि न त प्रदेश सरकार न त स्थानीय सरकारका जनप्रतिनिधिहरूले कहिल्यै मतलव राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.